करेन्ट लागेर वडा अध्यक्षको ज्यान गयो

असोज ६,सोलुखुम्बु – सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ज्यान गएको छ ।आज बिहान आफ्नै घरको छतमा जाने क्रममा बोकेको रडले विद्युतको तारमा छुँदा करेन्ट लागेर घाइते भएका तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । source:ujyaaloonline

शिक्षण अस्पताल जान लागेका डाक्टर केसीलाई ट्रमा सेन्टर पुर्‍याइयाे

 असोज ६,काठमाण्डाै – अनसनकै क्रममा काठमाण्डाै आउनुभएका डाक्टर गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । नेपालगञ्जबाट काठमाण्डाै आउनुभएका उहाँलाई त्रिभुवन विमानस्थलमा ओर्लने बित्तिकै ट्रमा सेन्टर लगिएको केसीका सहयोगी प्रितम सुवेदीले बताउनुभयो ।

शिक्षण अस्पताल महाराजगञ्ज जान लाग्नुभएका केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको सुवेदीले बताउनुभयो । शिक्षण अस्पताल र वीर अस्पताललाई कोडिभ अस्पताल बनाइएकाले डाक्टर केसीलाई ट्रमा सेन्टर लगिएको प्रहरीको प्रतिक्रिया छ ।

गएको भदौ २९ गते जुम्लामा अनसन सुरु गर्नुभएका केसी साेमबार नेपालगञ्ज आउनुभएको थियो । जहाज नपाएपछि साेमबार उतै रोकिनुभएका उहाँ मङ्गलबार काठमाण्डौ आउनुभएको हो । उहाँले अनसनलाई निरन्तरता दिने बताउनुभएको छ ।

२४ घण्टामा १३५६ जनामा काेराेना सङ्क्रमण, अहिलेसम्म ४८ हजारभन्दा धेरै डिस्चार्ज

असोज ६ – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६६ हजार ६ सय ३२ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार तीन सय ५६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा ११ हजार एक सय ५४ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५६ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा आठ सय २३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४८ हजार ६१ पुगेको छ ।  अब नेपालमा १८ हजार एक सय ४२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार एक सय ७१ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा दुई जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय २९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।