युवराज खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त, मन्त्रीसरह सुविधा

भदौ ३०, काठमाण्डौ – सरकारले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्रीसरहको सुविधा र हैसियत दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।  खतिवडाले गएकाे भदाै १९ गते अर्थमन्त्री पदबाट राजीनामा दिनुभएकाे थियाे । खतिवडाले सांसद नभइ ६ महिनासम्म मात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाकाे कारण राजीनामा दिनुभएकाे थियाे ।  साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले खतिवडाकाे ठाउँमा वामदेव गाैतमलाई मनोनित गर्न राष्ट्रपतिसमझ सिफारिस गरेकाे छ । 

Advertisement

आन्तरिक हवाई उडान, हाेटल तथा रेस्टुरेन्ट पनि असाेज १ देखि नै खुल्ने

भदौ ३०, काठमाण्डाै – सरकारले अन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट पनि असोज १ गतेदेखि नै खुलाउने निर्णय गरेको छ । जनस्वास्थ्यका सबै मापदण्ड पालना गराएर असोज १ गतेदेखि आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट खोल्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । विमानमा यात्रुको सङ्ख्या सिट क्षमताको ५० प्रतिशत मात्रै राख्न पाइने छ । यस्तै विदेशीका लागि हिमाल आरोहण पनि सरकारले खुलाएको छ । आउँदो कात्तिक १ गतेदेखि हिमाल आरोहण खोलेको तर त्यसका लागि बढीमा ७२ घण्टाअघिकाे पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ भने स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अनिवार्य पालना गर्नु पर्नेछ । 

सीमा नाका असोज ३० गतेसम्म बन्द रहने

सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको सङ्क्रमण कम नभएपछि भदौ ३१ गतेसम्म रोक लगाइएको सीमा नाकालाई थप एक महिना बन्द गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो । यस्तै साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले थप दुई नाका खोल्ने निर्णय पनि गरेको छ । यसअघि १० वटा नाका मात्रै खुला भएकोमा अब १२ वटा नाका खुल्ने छन् ।इलामको पशुपतिनगर र दार्चुलाका दुई नाका थपेर १२ वटा खुला गरिएको छ । त्यस्तै चीनतर्फको रसुवागढी नाका पनि खुला गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयाे ।  

एसिड पीडितकाे उपचार र औषधिकाे सम्पूर्ण खर्च सरकारले बेहाेर्ने

सरकारले एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न कानुन ल्याउने भएको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले कसुर सजायसम्बन्धी कानुन संशोधन गर्ने निर्णय गरेको छ ।

एसिडको उत्पादन, आयात र बिक्री वितरणको नियमन तत्काल गर्न र १५ दिन एसिड आक्रमणविरुद्धको मस्यौदा तयार पार्ने निर्णय भएको छ । यस्तै एसिड आक्रमणमा परेका पीडितलाई तत्काल उपचारको व्यवस्था गरिने भएको छ । नजिकैको अस्पताल वा स्वास्थ्य संस्थामा प्राथमिकतामा साथ तत्काल उपचारको व्यवस्था गरिने र त्यसपछि अन्य अस्पतालमा रेफर गरिने छ ।

पीडितको उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर बर्न अस्पताललाई डेडिकेटेड अस्पतालका रुपमा राखिएको छ भने पीडितको निःशुल्क उपचार हुने छ । यस्तै उपचारका क्रममा लाग्ने औषधि र आजीवन प्रयोग गर्ने औषधिको सम्पूर्ण खर्च पनि सरकारले नै बेहाेर्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । यसको संयोजन स्वास्थ्य मन्त्रालयले गर्ने छ ।

यस्तै पीडितलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गरिएको छ र यसका लागि शिक्षा मन्त्रालयले व्यवस्था मिलाउने छ । त्यसैगरी क्षमता विकाससम्बन्धी तालिम र सीपको व्यवस्था उद्योग मन्त्रालयले मिलाउने छ भने उद्योग मन्त्रालयले योग्यताअनुसारको रोजगारीका लागि निजी क्षेत्रसँग समन्वय गर्नेछ । त्यसैगरी व्यावसायिक कृषि खेती गर्न चाहे सहुलियत कर्जामा कृषि मन्त्रालयको समन्वयमा अर्थ मन्त्रालयले कर्जा उपलब्ध गराउने छ ।

यस्तै एसिडले जलेको शरीरकाे अङ्गमा सफा पानी खन्याउँदै अस्पताल लैजानुपर्छ भनेर जागरण फैलाउन सञ्चार मन्त्रालयले समन्वय गर्नेछ । सरकारले भदौ २५ गतेलाई एसिड आक्रमणविरुद्धको जागरण दिवसका रुपमा मनाउने निर्णय पनि गरेको छ ।   

लामाे दुरीका यातायात असाेज १ गतेदेखि नै सञ्चालन गर्न पाइने, भाडा ५० प्रतिशत बढी

भदौ ३०, काठमाण्डौ – सरकारले असोज १ गतेदेखि लामो दुरीका सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गतेदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउने निर्णय गरेको हो । तर गाडी चलाउँदा सरकारले तोेकेको स्वास्थ्य मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने मन्त्रिपरिषद्को निर्णय सुनाउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

लामो दुरीका सार्वजनिक गाडी चलाउँदा चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यस्तै भौतिक दुरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । यसो गर्दा सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाउने उहाँले बताउनुभयो । 

अर्घाखाँचीमा थप ३ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ३७४ पुग्यो ।


श्याम घिमिरे
भदौ,३० अर्घाखाँची–

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३७४ पुगेको छ । पछिल्लो २४ घण्टामा भुमिकास्थान नगरपालीकाका ३ जनालाई कोरोना संक्रमण पुष्टी भएसंगै जिल्लामा संक्रमितको संख्या ३७४ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । हालसम्म सन्धिखर्क नगरपालीकामा ७० जना, ,शितगंगा नगरपालीकामा ७२ जना ,भुमिकास्थान नगरपालीकामा १२० जना, मालारानी गाउँपालीकामा ७० जना, पाणिनि गाउँपालीकाबाट १४ जना र छत्रदेब गाउँपालीकाबाट २८ जना गरी जम्मा ३७४ जना संक्रमित भएका छन ।

यस्तै हालसम्म सन्धिखर्क नगरपालीकाबाट ५६ जना, ,शितगंगा नगरपालीकाबाट ६६ जना ,भुमिकास्थान नगरपालीकाबाट ११६ जना, मालारानी गाउँपालीकाबाट ६९ जना, पाणिनि गाउँपालीकाबाट १४ जना र छत्रदेब गाउँपालीकाबाट २८ जना गरी जम्मा ३४९ जना डिस्चार्ज भएका छन ।

अहिले जिल्लाका बिभिन्न आईसोलेशनमा २१ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा १४ जना, शितगंगा नगरपालीकामा ४ जना र भुमिाकस्थान नगरपालीकामा ३ जना गरी जम्मा २१ जना संक्रमितहरु बिभिन्न आईसोलेशनमा रहेका छन । कुल संक्रमित मध्ये ४ जनाको यसअघि ज्यान गईसकेको छ ।

यसैबिच मंगलवार दिउँसोसम्म जिल्लामा २१९ जना संस्थागत क्वरेन्टीन र ११५ जना होम क्वरेन्टीनमा गरी जम्मा ३३४ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा २ जना,शितगंगा नगरपालीकामा ४१ र भुमिकास्थान नगरपालीकामा २ जना गरी जम्मा ४५ जना बिभिन्न क्वरेन्टीनमा थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।

बिजुलीको पोलबाट खस्दा प्राधिकरणका कर्मचारीको मृत्यु

भदौ ३०, २०७७ पर्वत : पोलबाट खस्दा नेपाल विद्युत प्राधिकरण, पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। सोमबार साँझ कुश्मा नगरपालिका–७ खरेहामा विद्युत मर्मतका लागि काम गरिरहेका बेला ३५ वर्षीय भोलाराम शर्मा पोलबाट खसेर ढुंगामा बज्रिएका थिए। उपचारका लागि पर्वत अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिएका छन्‌।

बागलुङ नगरपालिका–१ रामरेखा घर भएका शर्मा नेपाल विद्युत प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए। आइतबार रातीको अविरल वर्षापछि सदरमुकाम कुश्माका विभिन्न ठाउँमा विद्युतका पोल तथा तारमा क्षति पुगेको थियो। दिनभर जसो सदरमुकाम कुश्माको केही भागमा विद्युत सेवा अवरुद्ध भएको थियो। सबै ठाउँको विद्युत मर्मत गरेपनि खरेहामा बत्ती नबलेपछि साँझ साढे ७ बजे उनी प्रसारण लाइन मर्मत गर्न पोलमा चढेका थिए। source:thahakhabar