सन्धिखर्क एफएम भाद्र २८ अर्घाखाँची-
अर्घाखाँची पछिल्लो केही समयदेखि अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा भएको बिवादको बिषयलाई लिएर आफ्नो चरित्रहत्या गर्न खोजिएको भन्दै वडाध्यक्ष बाबुराम पन्थीले अपत्ति प्रकट गर्नुभएको छ । नगरसंग सम्बद्ध केही बिषयमा भएको बिवादलाई बिषयान्तर गरि विप्लव निकट नेकपा नगर कमिटिले हुँदै नभएको कपोकल्पित झुटो आरोप लगाएर आफ्नो ब्यक्तित्वमाथि आँच पुर्याएर नगरबासीलाई भ्रममा पार्न खोजेको भन्दै बिरोध गर्नुभएको हो ।
सनिबार एक प्रेस विज्ञप्ती जारि गर्दै वडाध्यक्ष पन्थीले यहि भाद्र १९ र भाद्र २२ गतेको पत्रकार सम्मेलनको बिषय उल्लेख गरेर १५ शैयाको अस्पताल र करार कर्मचारिको सम्बन्धमा भएको बिवाद खास मुद्धा नभइ भुमिकास्थान–४ का वडा अध्यक्ष बाबुराम पन्थीले ३ लाख ८२ हजारको फर्जि विल बनाई पेश गरेको र भुमिकास्थान नगर प्रमुख रेसम थापाले निकासा रोकेपछि उक्त नगरमा बिवाद उठेको भन्ने बिषय समावेश गरि यहि भाद्र २५ गते नेकपा नगर कमिटिले जारि गरेको प्रेस विज्ञप्ती भ्रमको खेती भएको संज्ञा दिनुभएको छ ।
विज्ञप्तीमा अगाडि भनिएको छ , नगर कार्यपालिकाको कुनैपनि बैठकमा वडा अध्यक्ष बाबुराम पन्थीले ३ लाख ८२ हजारको फर्जि विल बनाई पेश गरेको भन्ने बिषयमा कुनै सत्यता नभएको,प्रमाण नभएको र आफुले त्यस्तो कुनैपनि फर्जि विल पेश नगरेको कुरा स्पष्ट पार्दछु । जिम्मेवार राजनितिक दलको संज्ञा दिने पार्टी र उसको इन्चार्जले वास्तविकता भन्दा बाहिर गएर,सत्यतथ्य घटनाक्रम नबुझि,हँचुवाको भरमा,बिना प्रमाण विज्ञप्ती मार्फत मेरो चरित्रहत्या गरेकोप्रति घोर भ्रत्सना एवम् गम्भिर खेद प्रकट गर्दछु ।वडाध्यक्ष पन्थीले लेख्नुभएको छ । हाम्रो राजनितिक आदर्शले त्यस्ता नकरात्मक गतिबिधि गर्न निर्दिश्ट गर्दैन ।
राष्ट्रिय जनमोर्चाको राजनैतिक आदर्शको धरातलबाट भुमिकास्थान नगरको समृद्धिमा हाम्रो योगदानको जनताले मुल्याकंन गर्नेछन् । उहाँले जारि गरेको विज्ञप्तीमा भनिएको छ , आउने दिनमा त्यस्ता प्रवृतिको बिरुद्ध संघर्ष गर्दै भुमिकास्थान नगरपालिकाको विकासका लागि जनप्रतिनिधिको हैसियतले अझ बढि रचनात्मक काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस,बाढि–पहिरो,कृषिक्षेत्रका प्रकोप लगायतले जनजिवनलाई आक्रान्त बनाइरहेको अवस्थामा नगर तथा वडामा क्वारेन्टिन,आइशोलेसन ब्यवस्थापन,जनताको जिवन रक्षाको सवालमा दिनरात नभनि अहोरात्र खटिरहेको बखत बिभिन्न ब्यक्ति वा माध्यमबाट भ्रम र झुटको खेती गर्दै मेरो चरित्रहत्या गर्ने गतिबिधिहरु अप्रत्यासित ढङ्गले गरिरहनु राजनैतिक पूर्वाग्रहको उपज हो । वडाध्यक्ष पन्थीले विज्ञप्ती मार्फत भन्नुभएको छ । सिंगो भुमिकास्थान नगरको विकास र समृद्धिको लागि जस्तोसुकै मुल्य चुकाएर भएपनि अहोरात्र खट्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।

यो पनि पढ्नुहोस्
भ्रष्टाचारी कथित जनप्रतिनिधिविरुद्ध सङ्घर्षमा उत्रिन नेकपाको आह्वान :
नेपाल कम्युनिस्ट पार्टी भूमिका नगर समिति अर्घाखाँचीले प्रेस विज्ञप्ति जारी गर्दै भूमिकास्थान नगरपालिकामा १५ शैय्याको अस्पताल निर्माण विवादमा वडा नं. ४ का अध्यक्ष बाबुराम पन्थीले ३,८२,०००।– फर्जी बिल बनाई रकम निकासा गर्ने विषय उठान गरेपछि र सोही नपाका मेयरले निकासा गर्न रोकेपछि चुलिएको विवादप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको भन्दै भ्रष्टाचारी जनप्रतिनिधिविरुद्ध सङ्घर्षमा उत्रिन नगरबासीलाई आह्वान गरेको छ । इन्चार्ज बारुदले जारी गरेको विज्ञप्तिमा उक्त अस्पताल र करार कर्मचारी नियुक्ति दिनेसम्मका विवाद उत्पन्न भएको र यसले नगरपालिकाका अरू काला कर्तुतहरू उजागर गर्दै जाने पनि जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनता कोरोना भाइरस (कोभिड १९) र अविरल वर्षाका कारण दुःखदायी र कष्टपूर्ण जीवन बिताइरहेका छन् । बाढीपहिरोले गर्दा हजारौँ जनता घरवारविहीन भएका छन् भने सयौँको मृत्यु भइसकेको छ । यतिबेला दुःख, कष्ट र पीडा भोगिरहेका जनतालाई सहयोग र उद्धार गर्नुको सट्टा सामाजिक दलाल फासिवादी सत्ता भ्रष्टाचार, कमिसन, करछली र भागबन्डामा लुछाचुँडी गरिरहेको छ ।’
अगाडि भनिएको छ, ‘यही सन्दर्भमा भूमिकास्थान नगरपालिकामा १५ शैय्याको अस्पतालको विवादलाई लिएर २०७७ साल भदौ १९ गते उपमेयर खडानन्द बेल्बासेले गरेको पत्रकार सम्मेलन र भदौ २२ गते मेयर रेशम थापाले गरेको पत्रकार सम्मेलनमा कार्यालयभित्र होहल्ला गरी एकअर्कोलाई आरोप–प्रत्यारोप लगाउने विषयमा नेपाल कम्युनिस्ट पार्टी भूमिकास्थान नगर समिति खेद एवम् भत्र्सना गर्दछ । उक्त घटना सोही नपा को वडा नं. ४ का वडाध्यक्ष बाबुराम पन्थीले ३,८२,०००।– फर्जी बिल बनाई रकम निकासा गर्ने विषय उठान गरेपछि र सोही नपाका मेयरले निकासा गर्न रोकेपछि नगरपालिकामा विवाद सुरु भएको हो । अहिले आएर १५ शैय्याको अस्पताल र करार कर्मचारी नियुक्ति दिनेसम्मका विवाद उत्पन्न भएको र यसले अझै नगरपालिकाका अरू काला कर्तुतहरु उजागर गर्दै जानेछ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यसले दलाल संसदीय व्यवस्था असफल भएको, अबको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था नै हुने र यसका लागि सम्पूर्ण भूमिकास्थानका नगरबासीहरूलाई सङ्घर्षमा अघि बढ्न आह्वान गर्दछौँ । यस घटनाबाट पाठ सिकेर समग्र नगरपालिकामा हुने अनियमितताको भन्डाफोर र सचेत रहन हाम्रो पार्टी अपिल गर्दछ । यस्तो विषम परिस्थितिमा नगरपालिकाका करिब ३३ हजार जनतालाई भ्रममा पारेर यस्ताखाले हर्कतहरू नगर्न नेपाल कम्युनिस्ट पार्टी चेतावनी दिन चाहन्छ ।

(source:eratokhabar.com)