कोदोदेखि मुलाको चानासम्म खरिद गर्दै धुर्कोट गाउँपालिका

भदौ २६, गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका स्थानीय खाद्यवस्तु खरिद गरेर बेच्ने भएको छ । गाउँका उत्पादन बेच्नको लागि गाउँपालिकाले बुटवलको ग्रामीण कृषि उद्यमशीलतासँग सम्झौता गरेको छ ।

गाउँपालिकाले तितौरा, गुन्द्रुक, मुलाको चाना, बेसार, कोदो, बोडी, मकै, भटमास र गहतको दाल खरिद गर्नेछ । यसको लागि गाउँपालिकाले आफ्ना उत्पादनहरु सङ्कलन केन्द्रसम्म पुर्‍याउन सूचना जारी गरेको छ ।

गाउँपालिकाले तितौरा तीन सय ८० रुपैयाँ किलो, गुन्द्रुक चार सय रुपैयाँ किलो, मुलाको चाना ६० रुपैयाँ, बेसार दुई सय ८५ रुपैयाँ, कोदो ३७ रुपैयाँ किलो, बोडीको दाल एक सय ५० रुपैयाँ किलोमा खरिद गर्ने भएको छ । यस्तै मकै ४०, भटमास ७० र गहत ९० रुपैयाँमा किन्ने गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो ।

गाउँमा बारी बाँझो रहने र युवाहरु बेरोजगार हुने समस्याको समाधानको लागि यस्तो निर्णय गरिएको पोखरेलको भनाइ  छ । बारीको मकै भित्र्याइसकेकाे र मुला लगाउने बेला भएकाले किसानलाई प्रोत्साहन गर्न यस्तो घोषणा भएको उहाँले बताउनुभयो । किसानका उत्पादन खरिद गरेर बिक्री गर्न गाउँपालिकाले पिक–अप जीप पनि खरिद गरिसकेको छ । source:ujyaaloonline

नेपालमा एकैदिन अहिलेसम्मकै धेरै १ हजार ४५४ जनामा काेराेना सङ्क्रमण

भदौ २६,काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५१ हजार नाै सय १९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार चार सय ५४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एकैदिन काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुने याे सङ्ख्या अहिलेसम्मकै धेरै हाे ।

पछिल्लाे २४ घण्टामा १० हजार सात सय एक जनाकाे पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो ।  गएको २४ घण्टामा नाै सय ७२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।  

अब नेपालमा १४ हजार नाै सय २५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । तीमध्ये एक सय ७० जना आईसीयू र २५ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे छ । 

यस्तै ६ हजार ७८ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा  पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय २२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

नेकपाको निर्णय : एमसीसी परिमार्जनसहित अनुमोदन, महाधिवेशन चैत २५ गतेदेखि

भदौ २६,काठमाण्डाै – नेकपाको महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म काठमाण्डौमा हुने भएको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले एकतापछिको पहिलो महाधिवेशन चैत २५ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको हो । आन्तरिक किचलो समाधानको लागि सचिवालयले बनाएको कार्यदलले तयार पारेको प्रतिवेदन पनि स्थायी कमिटीले पारित गरेको छ । बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीमा भएका केही प्रावधान परिर्वतन गरेर संसदबाट अनुमोदन गर्ने पनि निर्णय गरेको छ ।

यसको जिम्मा सचिवालयलाई दिइएको छ । शुक्रबारकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही अराष्ट्रिय र प्रतिक्रियावादीहरुले नेकपाको एकता भाँड्न प्रयास गरे पनि असफल भएको बताउनुभएको थियो । केहीबेर बैठकमा बसेर ओली बाहिरिनुभएको थियो । याे बैठकको अध्यक्षता प्रचण्डले गर्नुभएको थियो । source:ujyaaloonline