बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी, पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

भदौ १८, काठमाण्डौ – बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी, पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । २५ जना अझै हराइरहेका छन् । 

बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले हराएका र ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने बताउनुभयो । बाढीमा परेकामध्ये १३ जनाको शव भेटिएको र कम्तीमा २५ जना हराइरहेका बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले उज्यालोलाई जानकारी दिनुभयो । 

बाढी पहिरोमा ३१ घर पूर्ण क्षति भएका छन् । बुधबार राति एक्कासी ठूलो बाढी आएकाले बस्तीका कोही पनि भाग्न नपाएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । 

घटनास्थलमा रहनुभएका प्रजिअ न्यौपानेले भन्नुभयो, ‘राति एक्कासी ठूलो बाढी आएर गाउँ नै सोहोरेछ, हेर्दा ठूलै प्रलय जस्तो देखिन्छ, कसैले पनि ऐया भन्ने मौका पाएन छन्, यहाँको अवस्था हेर्दा बिजोग देखिन्छ ।’

यस्तै गृह मन्त्री रामबहादुर थापालाई लिएर बाग्लुङको ढोरपाटन बाढी पहिरो प्रभावित क्षेत्रमा गएको हेलिकप्टर मौसम खराब भएपछि पोखराबाट फर्किएको छ । 

पीडितका लागि राहतसमेत लिएर जाँदै गरेको हेलिकप्टरमा गृह मन्त्रीसहित बाग्लुङका प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल पनि हुनुहुन्थ्यो । 

घटनास्थल सदरमुकामबाट एक सय १५ किलोमिटरभन्दा टाढा रहेकाले उद्धार र राहतमा ढिलाइ भइरहेको छ । ठूलो पानी परिरहेको बेला माथितिर कतै ताल फुटेर वा बाँध बनेर एक्कासी बाढी आएको हुन सक्ने उपमेयर करमती पुन मगरले बताउनुभयो । 

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्लुङ‚ कालीकोट र सिन्धुपाल्चोकमा गएको बाढी पहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले ट्वीट गरी मौसमी विपद्को जोखिम हरेक वर्ष भयावह हुने गरेको भन्दै प्रकृति र वातावरणमैत्री दिगो, सुरक्षित र एकीकृत बस्ती विकास गरी मानव जीवन रक्षामा राष्ट्रको ध्यान लगाउन आह्वान गर्नुभएको छ । source:ujyaaloonline

Advertisement

वामदेवको ‘इन्ट्री’सँगै सरकारबाट विदा हुँदै युवराज खतिवडा ,नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चा

भदौ १८, २०७७ काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट विदा हुने भएका छन्। राष्ट्रपतिले मनोनित गर्ने राष्टियसभाको एक सदस्यमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि अर्थमन्त्री खतिवडा सरकारबाट बाहिरिने भएका हुन्। 

मनोनित एक सदस्यमा मन्त्रिपरिषद्‍‍बाट उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ‘मनोनित सदस्यमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय सचिवालयबाट भएको छ’, उनले भने, ‘अब राष्ट्रियसभाका अर्का सदस्यलाई राजीनामा गराएर अर्थमन्त्री खतिवडालाई निरन्तरता दिने विषयमा पार्टीभित्र कुनै छलफल भएको छैन।’

अर्थमन्त्री खतिवडाको कार्यअवधि यही २० गते कार्यावधि सकिँदैछ। राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभामा आएका खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमै सकिएको हो। उनले कार्यकाल टुंगो गर्ने गोलाप्रथाका क्रममा दुई वर्षे कार्यकाल छानेका थिए। 

संवैधानिक व्यवस्था अनुसार संसद सदस्य नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री बन्‍न पाउँछ। त्यही व्यवस्थाअनुसार अनुसार उनी भदौ २० पछि मनोनित नभए स्वतः विदा हुने छन्। अहिले उनले अर्थ र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। उनले सरकारमा आएदेखि तीनवटा बजेट पनि ल्याएका छन्। 

राष्ट्रियसभामा निरन्तरता प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री खतिवडालाई नै कायमै राख्‍ने पक्षमा थिए। तर, उपाध्यक्ष गौतमले आफ्नो अडान छाडेनन्। सचिवालयमा अध्यक्ष दाहालसहित बहुमत सदस्य गौतमको पक्षमा थिए। 

खतिवडाको बहिर्गमनसँगै अर्थमन्त्रीमा पार्टीको विवाद मिलाउन संयोजकको भूमिका निर्वाह गरेका महासचिव विष्णु पौडेलको चर्चा भइरहेको छ। कार्यदलको प्रतिवेदनले दुवै अध्यक्ष खुसी भएसँगै अर्थमा उनको चर्चा सुरु भएको हो। त्यसो त सुरेन्द्र पाण्डेको पनि नाम चर्चामा छ तर उनी वरिष्ठ नेता माधवकुमार नेपाल समूहका हुन्। यस्तोमा प्रधानमन्त्री आफ्ना विश्‍वासपात्रमध्ये एक पौडेललाई नै देशको ढुकुटीको चाबी सुम्पने मनस्थितिमा रहेको स्रोतको दाबी छ। 
source:thahakhabar.com

वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

भदौ १८, २०७७  काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिययसभामा लैजाने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यसअघि फागुन १४ गते पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो। बिहीबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेको जानकारी दिएका हुन्।  ‘प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रिय सभाको एक रिक्त पदमा मन्त्रिपरिषद्ले मनोनयन गर्ने सरकार पुगेको जानकारी गराउनु भयो’, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बालुवाटारमा भने। 

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्णय प्रती आपत्ती जनाउदै, अर्घाखाँची टेक्निकल ट्रेनिङ्ग स्कुलद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र


श्याम घिमिरे
भदौ १८ अर्घाखाँची-

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्णय प्रती घोर आपत्ती जनाउदै बिहिवार देशभरका निजि प्राविधिक शिक्षालय महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन । मिति २०७७ साल साउन ३० मा बसेको बैठकको प्रस्ताव नं ७ को निर्णय नं २ र ३ अनुसार डिप्लोमा तह भन्दा मुनिका स्वास्थ शिक्षा कार्यक्रमहरु यसै शैक्षिक सत्र बाट भर्ना नगर्ने नगराउने निर्णय प्रती घोर आपत्ती जनाउदै आज देशभरका निजि प्राविधिक शिक्षालय महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन ।

सोही क्रममा अर्घाखाँचीमा रहेको अर्घाखाँची टेक्निकल ट्रेनिङ्ग स्कुल सन्धिखर्कले पनि आज जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । अर्घाखाँची टेक्निकल ट्रेनिङ्ग स्कुलका संस्थापक दोर्ण प्रसाद भुसालको नेतृत्वमा गएको टोलिले अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पौडेल मार्फत सम्माननिय प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

ज्ञापन पत्रमा हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ को संकटको चपेटामा गत २०७६ साल चैत्र महिनादेखि हालसम्म आफ्ना संस्थाहरु निरन्तर बन्दभई जर्जर अवस्थामा पुगीसकेको भन्दै यस्तो जटिल परीस्थीतिमा सरकारबाट राहतको अपेक्षा गरिरहेको बेला चिकित्सा शिक्षा आयोगको यस्तो निर्णयले देशभरका संस्था र संस्थापकहरु मर्माहत र मर्कामा परेको भन्दै यस प्रकारको निर्णयले शिक्षालय र संस्थापकहरुमाथी अन्याय भएकोले उक्त निर्णय माथी पुनर्बिचार गर्न माग गरीएको छ ।

यस्तै ज्ञापनपत्रमा डिप्लोमा तह मुनिका स्वास्थ्य शिक्षा कार्यक्रमहरु सिएमए, अनमि, ल्याव असिस्टेन्ट र आर्युबेद सहायक जस्ता कार्यक्रमहरुको चालु शैक्षिक सत्र ०७७/७८ को नवीकरण तथा भर्ना प्रकृयालाई अगाडी बढाईदिन र संगसंगै स्तरोन्नतीको प्रकृया प्रारम्भ गराईदिन आग्रह समेत गरीएको छ ।