अर्घाखाँचीको शितगगांमा सर्पको टोकाईबाट एक जनाको मृत्यु

भदौ १४  अर्घाखाँची – उपचारमा ढिलाई हुँदा अर्घाखाँचीको शितगगांमा सर्पको टोकाईबाट एक जनाको ज्यान गएको छ । शितगंगा नगरपालिका वडा नम्बर–५ जुकेनामा सर्पले डस्दा ३५ वर्षिय यम बहादुर बेल्बासेको मृत्यु भएको वडा अध्यक्ष कमल पौडेलले जानकारी दिए ।

शनिवार राति सर्पले डसेका बेल्बासेलाई भौगोलिक विकटता र सवारीको पहुँच नहुँदा आईतवार बिहान मात्रै उपचारका लागि गोरुसिंगेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । बिरामीको अवस्था गम्भिर भएपछी सर्पदंश उपचार केन्द्र गोरुसिंगेले प्रादेशिक अस्पताल बुटबल रिफर गरेको थियो । थप उपचारका लागि बुटबल लैजाँदै गर्दा बेल्बासेको बाटोमै मृत्यु भएको हो । एक्लो बस्ती भएका कारण शनिवार कुनै चाँसो नलिएपछी बिस्तारै विषले असर देखाउन सुरु गरेको थियो ।

विषको असर शरीरमा देखिएपछि मात्र बेल्बासेलाई अस्पताल लैजाने सुर गरिएको थियो । पहाडको सर्पले टोकेर खासै बिष नलाग्ने सोंचाई र लकडाउनका कारण सवारी साधनको सरल पहुँच नभएपछी सर्पले टोकेको झन्डै १६ घन्टापछी मात्र उनलाई गोरुसिङ्गे पुर्‍याइएको थियो।

source:lumbinipost.com

कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको १० दिनपछि फेरि परीक्षण हुने

भदौ १४, काठमाण्डाै – सरकारले कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भइसकेका व्यक्तिलाई फेरि एक पटकमात्र पीसीआर परीक्षण गर्ने भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएको १० दिनपछि पीसीआर परीक्षण गर्ने र त्यो परीक्षणमा कोरोना नेगेटिभ देखिएमा घर पठाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यदि १० औँ दिनको परीक्षणमा पोजेटिभ देखिएर पनि कुनै लक्षण नदेखिएमा त्यसको चार दिनपछि परीक्षण नगरिकन नै घर पठाइने उहाँले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै यस्तो प्रक्रियाबाट बिरामी डिस्चार्ज गर्न लागिएको पनि उहाँले बताउनुभयो ।

२४ घण्टामा १२२१ जनामा काेराेना सङ्क्रमण, १४ जनाकाे ज्यान गएकाे पुष्टि

भदौ १४, काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३८ हजार पाँच सय ६१ पुगेकाे छ । गएको २४ घण्टामा १२ सय २१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा १२ हजार सात सय १७ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा १२ सय २१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा दुई सय ६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २० हजार आठ सय २२ पुगेको छ ।

अब नेपालमा १७ हजार पाँच सय १८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार सात सय ९७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १४ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय २१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यस्तै पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा चार सय २९ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

भक्तपुरमा होम आइसोलेशनमै संक्रमितको मृत्यु

भदौ १४, काठमाडौं । उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै गए राति मृत्यु भएको छ ।  भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको होम आइसोलेशनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो ।

श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते उनको पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेशनमै राख्ने बताएपछि सङ्क्रमित घरमै बसेका थिए ।  

वडाध्यक्ष श्यामकृष्ण खत्रीले  स्वास्थ्यकर्मीले सङ्क्रमितलाई अस्पताल लैजान अनुरोध गर्दा परिवारले उनले एक्लै खान नसक्ने भएकाले घरमै राख्ने जनाएको थियो  ।  नेपाली सेनाको टोलीले शव आज व्यवस्थापन गर्ने नेपाली सेना वीरदल गणका गणपति शिव पौडेलले जानकारी दिनुभयो । यसअघि पाटन अस्पतालमा शनिबार बिहान मध्यपुरथिमि नगरपालिका नगदेशकी ६२ वर्षीया एक सङ्क्रमितको मृत्यु भएको थियो । भक्तपुरमा हालसम्म चार महिला र तीन पुरुष गरी सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

बाग्लुङमा भोज आयोजना गर्ने नै सङ्क्रमित, ७० जनाको स्वाब सङ्कलन

भदौ १४, बाग्लुङ – बाग्लुङमा छोरी जन्मिएको खुसीयालीमा भोज आयोजना गर्ने व्यक्ति नै कोरोना सङ्क्रमित भएपछि भोजमा संलग्न ७० जनाको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । 

लमजुङबाट आएका न्वारन गर्ने छोरीका बुबालाई नै सङ्क्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बाग्लुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

सङ्क्रमितले भदौ १ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाएर भोज खुवाएका थिए । भोजमा पाहुना, आफन्तलगायतबाट ७० जना क्लोज कन्ट्याक्टका रुपमा सहभागी भएको पाइएको छ । 

स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्नेजस्ता समस्या देखिन थालेको छ । नगरपालिकाभरि भोलिसम्म निषेधाज्ञा लागू गरिएको छ । 

शहरमा प्रहरीले निषेधाज्ञामा केही कडाइ गरे पनि गाउँघरमा भने निषेधाज्ञा उल्लङ्घन धेरै मात्रामा हुने गरेको छ  ।