नेता खनालद्वारा जन्मदिनको खर्च मृगौला पीडितलाई

सन्धिखर्क एफएम भाद्र ६ अर्घाखाँची – पछिल्लो समय नेपाली समाजमा मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, अनावश्यक फजुल खर्च गरेर खानपिन गरी जन्मदिन मनाउने गर्छन् । तर जिल्लाका एक व्यक्तिले भने आफ्नो जन्मदिनको अवसरमा मृगौला पीडितलाई आर्थिक सहयोग गरेर एक उदाहरणीय काम गर्नुभएको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका जिल्ला सदस्य तथा युवा नेता कविराम खनालले आफ्नो जन्मदिनमा गर्ने फजुल खर्च कटौति गरि भुमिकास्थान–१०,धनचौरका दुवै मृगौला फेल भइ उपचार गराइरहनुभएका सन्तोष गैरेलाई ८ हजार रुपैंया सहयोग गर्नुभएको हो ।

जन्म दिनमा फजुल खर्च गर्नु भन्दा अभाव र समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्नु राम्रो ठानेर २४ बर्षिय युवा सन्तोषको उपचारको निम्ती आर्थिक सहयोग गरेको नेता खनालको भनाई छ । गत स्थानिय तहको निर्वाचनमा भुमिकास्थान नगरको मेयरमा झिनो मतले पराजित भएका नेता खनाल सहयोगी भावना र सामाजिक काममा अग्रसर भनेर जिल्लामै चर्चामा आउने ब्यक्ति मध्येका एक मानिनुहुन्छ । २४ बर्षकै कलिलो उमेरमा दुवै मृगौला फेल भएपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा डाइलोसिस गराउँदै आउनुभएका सन्तोषले उपचारमा सहयोग गरि ज्यान बचाइदिन गरेको पुकारको सुनुवाई गर्दै नेता खनालले सन्तोष बचाऔं अभियानका प्रतिनिधि गोपाल प्रसाद भट्टराई मार्फत ८ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।

२४ बर्षिय युवक सन्तोषको स्वास्थ्य बचाउन सहयोग गर्न चाहनुहुने आम महानुभावले ग्लोबल आइएमइ बैंक सन्धिखर्क,अर्घाखाँचीमा रहेको सन्तोष गैरे बचाउ अभियान नामको खाता नम्बर ४९० ७० १०० १३८ २५ मा जम्मा गर्न सक्नुहुनेछ ।