तिज घरमै बसेर मनाउन जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आग्रह


श्याम घिमिरे भाद्र ४ अर्घाखाँची-
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले नेपाली महिलाको महान पर्व हरितालिका तीज घरमा नै मनाउन आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बढिरहेका बेला संक्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि घरैमा तीज मनाउन प्रशासनले आग्रह गरेको हो । सार्वजनिक स्थलमा सामूहिक रुपमा मानिस जमघट भेला हुने गरी मनाउने कार्य पूर्णरुपमा निषेध गर्नुपर्ने भएकाले हरितालिका तीज लगायतका चाडपर्व आ–आफ्नो घरैमा बसी मनाउन प्रशासनले आग्रह गरेको छ । तीज लगायतका अन्य चाडपर्व सार्वजनिक स्थलमा भीडभाड गरि मनाएको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिनुभयो ।

कोरोनाका कारण पत्रकारमा गम्भीर मनोवैज्ञानिक तथा आर्थिक असर

भदौ ३, २०७७ -काठमाडौं : कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक तथा आर्थिक रुपमा गम्भीर असर परेको एक अध्ययनले देखाएको छ। नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्य स्थित बर्नमोथ विश्वविद्यालयले संयुक्तरुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणमा पत्रकारलाई मानसिक असर पर्दा सञ्चार माध्यमका सामग्री उत्पादनमा ह्रास आएको देखाएको छ।

बुधबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार सो अवस्था देखिन आएको हो।  नेपाल प्रेस इन्स्टिच्युटले २०७७ असार २६ देखि साउन ९ गतेसम्म देशका सातै प्रदेशबाट सबै खालका मिडियाको प्रतिनिधित्व हुनेगरी १,१३४ जना क्रियाशील पत्रकारबीच गरेको सो सर्वेक्षणले अधिकांश पत्रकारको मानसिक स्वास्थ्यमा असर पुगेको उल्लेख गरेको छ।

उक्त सर्वेक्षणमा सहभागी पत्रकार मध्ये ८३ प्रतिशतले जोखिमको अनुभूति बढेकाे, ७५ प्रतिशतले चिन्ता बढेको र ६२ प्रतिशतले आफूहरु दुःखमा परेको अनुभुति भएको प्रतिक्रिया दिएको बताइएको छ। ‘२५ प्रतिशत पत्रकारले आफूहरु चरम निराशाबाट ग्रसित रहेको समेत उल्लेख गरेका छन्’, इन्स्टिच्युटले जारी गरेको  विज्ञप्तिमा भनिएको छ। महाव्याधिले छापा माध्यममा काम गर्ने ५५ प्रतिशत पत्रकारले छापाले पृष्ठ घटाएको बताएका छन्। रेडियोमा कार्यरत ५१.८ प्रतिशत र टेलिभिजनमा काम गर्ने ४२.५ प्रतिशत उत्तरदाताले सामग्री उत्पादनमा कमी आएको बताएका छन्। प्रतिवेदन आजै मन्त्री युवराज खतिवडाले सार्वजनिक गरेका हुन् ।
source:thahakhabar.com