भदौ ३, बझाङ-बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ५ मा पहिरोले घर बगाउँदा हराएका दुई जना बालकको शव भेटिएको छ । गएराति खोल्लेख लुएती सडकखण्डबाट खसेको पहिरोले पिपला ताम्राकारको घर बगाउँदा हराइरहेका उहाँका १२ वर्षीय छोरा सचिन र दाइको छोरा ५ वर्षीय सुदिप ओखेडाको शव भेटिएको प्रहरीले जनाएको छ । पहिरोमा परेर घाइते भएकी पिपलासहित उहाँको १६ वर्षीय छोरा अनिल र १० वर्षीया छोरी सन्तोषीको खिरापढी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । अर्की छोरी १८ वर्षीया सुनिताले भने भागेर ज्यान जोगाएकाे प्रहरीले जानकारी दिएको छ ।पहिरोमा परेर २ वटा गाई र तीन वटा बाख्रा पनि मरेका छन् । एक हप्ताअघि नै पहिरोको जोखिममा रहेकाले सुरक्षित ठाउँ मिलाइदिन आग्रह गर्दै नगर र वडा कार्यालयमा जानकारी पनि गराएको स्थानीयले बताएका छन् । पिपलाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।
Day: August 19, 2020
नेपालको झण्डा जलाएर भिडिओ बनाउने ग्याल्जोम तामाङसहित नौ जना पक्राउ
भदौ ३,काठमाण्डाै – नेपालको झण्डा जलाउने र विभिन्न समुदायमाथि गालीगलौज गर्दै म्युजिक बनाउने ग्याल्जोम दोर्जे तामाङसहित नौ जना पक्राउ परेका छ्न् । विभिन्न जाति र समूहलाई गाली गरेर गीत बनाउने/गाउने, झण्डा जलाउने र भिडिओमा मुख्य अभिनय गर्ने ग्याल्जोमसहित उनका समूहका नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध कानुनी कारवाहीको प्रक्रिया सुरु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । मंगोल हप नामको यूट्युब च्यानलमार्फत भदौ एक गते एक म्युजिक भिडिओ अपलोड भएको थियो । भिडिओमा नेपालको झण्डा जलाउनुका साथै विभिन्न जाति तथा समुदायलाई तथानाम गाली गरिएको छ । यसको सर्वत्र विरोध भइरहेको छ ।source:ujyaaloonline
पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ राष्ट्रकविको अन्त्येष्टि
भदौ ३, २०७७ काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। मंगलबार काठमाडौंको लैनचौरस्थित निवासमै निधन भएका घिमिरेलाई बुधबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको हो। राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । स्वर्गीय राष्ट्रकवि घिमिरेलाई शुभेच्छुक, शुभचिन्तक, आफन्त र साहित्यकार लगायतका व्यक्तिहरु बुधबार बिहान उनको निवास लैनचौर पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।

राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो। वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा सय वर्षमा प्रवेश गरेका थिए। छोरा राजीव घिमिरेका अनुसार उनको १०१ वर्षमा निधन भएको हो। घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार थिए। उनले बाल्यकालदेखि नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा निरन्तर कलम चलाउँदै आएका थिए। उनको निधनले नेपाली एक युग सकिएको छ।
