अर्घाखाँचीमा अब २ जना मात्रै कोरोना संक्रमीत आईसोलेशनमा, ३२४ जना संक्रमित डिस्चार्ज


श्याम घिमिरे
साउन २९ अर्घाखाँची-

अर्घाखाँची जिल्लामा २ जना मात्रै कोरोना संक्रमित आइसोलेशनमा रहेका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाको आईसोलेशनबाट एकजना डिस्चार्ज भएसंगै जिल्लामा अब २ जनामात्रै संक्रमितहरु आईसोलेशनमा रहेका छन । बुधवार मात्रै कोरोना पोजेटिभ देखीएका भुमिकास्थान नगरपालीका ९ का २ जना संक्रमितहरु आईसोलेशनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । हालसम्म ३२९ जना संक्रमित भएको जिल्लामा अहिले भने २ जना मात्रै संक्रमितहरु आईसोलेशनमा उपचाररत रहेका छन । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । ३२९ जना संक्रमितमध्ये ३२४ जना कोरोनामुक्त भएर घर फर्केको प्रशासनले जनाएको छ । कोरोना संक्रमणका कारण यसअघि शितगंगा, भुमिकास्थान र मालारानीका १÷१ जना गरी ३ जनाको मृत्यु भैसकेको छ ।

यसैबिच बिहिवार दिउँसो सम्म जिल्लाका बिभिन्न क्वरेन्टीनमा १६३ जना व्यक्तिहरु रहेका छन् । पछिल्लो २४ घण्टामा शितगंगा नगरपालीकामा ५ जना र भुमिकास्थान नगरपालीकामा ७ जना गरी जम्मा १२ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।

७७ वटै जिल्लाबाट सवारी पास वितरण बन्द

साउन २९,काठमाण्डौ – गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।

‘हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि वितरण नगर्न/नगराउनुहुन आदेशानुसार अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तर जिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समय काठमाण्डौ उपत्यकासहित देशभर कोभिड-१९ को सङ्क्रमण बढ्दो छ ।