अर्घाखाँचीमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय २९ पुग्यो, ३२३ जना संक्रमित डिस्चार्ज

श्याम घिमिरे साउन २८ अर्घाखाँची –अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्लाको भुमिकास्थान नगरपालीका वडानं.९ का २४ र २० बर्षका पुरुषमा बुधवार कोरोना संक्रमण देखिएकोे हो । केहि समय अगाडी भारतबाट आई भगवति माबिको क्वरेन्टीमा बसेका २ जनामा कोरोना संक्रमण देखिएको वडाअध्यक्ष नारायण खनालले जानकारी दिनुभयो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३२९ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । हालसम्म सन्धिखर्क नगरपालीकामा ४४ जना, शितगंगा नगरपालीकामा ६६ जना, भुमिकास्थान नगरपालिकामा १०९ जना ,मालारानी गाउँपालीकामा ६८ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २८ जना गरी ३२९ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अर्घाखाँचीका संक्रमितमध्ये हालसम्म ३२३ जना निको भएर घर फर्किएका छन् । जसमा सन्धिखर्क नगरपालिकाका ४३ जना, शितगंगा नगरपालिकाका ६५ जना , भुमिकास्थान नगरपालीकाका १०६ जना,मालारानी गाउँपालीकाका ६७ जना, पाणिनी गाउँपालिकाका १४ जना र छत्रदेव गाउँपालिकाका २८ जना गरि ३२३ जना डिस्चार्ज भएको प्रशासनले जनाएको छ । हाल सन्धिखर्क नगरपालीकामा १ जना र भुमिकास्थान नगरपालीकामा २ जना गरी जम्मा ३ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् । कोरोना संक्रमणका कारण शितगंगा नगरपालीका, भुमिकास्थान नगरपालीका र मालारानी गाउँपालीकाका १/१ जना गरी जम्मा ३ जनाको मृत्यु भैसकेको छ ।

यसैबिच बुधवार दिउँसोसम्म १५१ जना व्यक्तिहरु जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका छन् । गत जेठ महिनासम्म क्वरेन्टीनमा बस्नेको संख्या ६ हजार भन्दा माथी पुगेको भएपनि पछिल्लो समय भारत लगायत अन्य मुलुकबाट आउनेको संख्या कमी भएको र दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि भएकोले क्वरेन्टीनमा बस्नेको संख्या घट्दै गएको हो ।

पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाको क्वरेन्टीनमा १ जना, शितगंगा नगरपालीमा २ जना र भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनमा ९ जनागरी जम्मा १२ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा भित्रिएका छन यस्तै भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनबाट ५ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५१ सय ३ वटा बेड सहितको क्वरेन्टीन स्थापना गरि भारत लगायत अन्य मुलकबाट आएका व्यक्तिहरुलाई क्वरेन्टीनमा राख्ने गरेका छन ।

पानी पर्ने क्रम नरोकिने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै

साउन २८,काठमाण्डाै – पानी पर्ने क्रम नरोकिने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको मौसमविद्ले बताएका छन् । आज बाग्मती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

उहाँका अनुसार नेपालमा पानी पार्ने मनसुनी न्युन चापीय रेखा नेपाल नजिकै रहेकाले आज दिउँसो प्रदेश ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै अरु धेरै ठाउँमा मेघ गर्जनसहित हल्का देखि मध्यम खालको पानी पर्ने उहाँले बताउनुभयो ।

यस्तै राति बाग्मती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई ठाउँमा ठूलो र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यसैबीच बाँकेको डुबान भैरहने होचा ठाउँका बासिन्दालाई बिहान १० बजेसम्म नै सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

गएराति बाँकेको कुशुम, नेपालगञ्ज, खजुरा आसपास ठूलो पानी परेकाले मानखोला र डुडुवाखोलामा एक्कासि बाढी आउने र राप्तीमा पानीको सतह बढ्ने भएकाले डुबान भैरहने होचा ठाउँका बासिन्दालाई बिहान १० बजेसम्म नै सतर्क हुन महाशाखाले अनुरोध गरेको हो ।

डोटीमा बस दुर्घटना : चार जनाको ज्यान गयो, ३२ जना घाइते

साउन २८, डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ । ३२ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले दिनुभएको जानकारी अनुसार कैलालीबाट अछामका लागि छुटेको ना ६ ख २५२९ नम्बरको बस सडकबाट झण्डै ३० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान जानेको नाम नखुलेको र नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

वर्षाका कारण सडक चिप्लो भएकाले बस पल्टिएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेले बताउनुभयो । source:ujyaaloonline

अहिलेसम्म १८३ स्वास्थ्यकर्मीमा काेराेना सङ्क्रमण

साउन २८काठमाण्डौ –  नेपालमा अहिलेसम्म एक सय ८३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश १ मा आठ जना, प्रदेश २ मा ७८ जना, वाग्मती प्रदेशमा १६ जना, गण्डकी प्रदेशमा २० जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा २२ जना र सुदूरपश्चिम प्रदेशमा २७ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरुमा ६० जना महिला र एक सय २३ जना पुरुष रहेकाे स्वास्थ्य था जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मनसुन सुरु भएयता बाढी, पहिरो र चट्याङबाट २०५ जनाको ज्यान गयो

साउन २८,काठमाण्डाै – गएकाे २४ घण्टामा देशका विभिन्न ठाउँमा विपदका १५ वटा घटना भएका छन् । ती घटनामा परि चार जनाको ज्यान गएको र सात जना घाइते भएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रले जनाएको छ । यी घटनामा नौ वटा चौपायासहित ५० लाखभन्दा धेरैको क्षति भएको छ । 

डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाझ ककनीमा रहेको एक घर वर्षाका कारण भत्किँदा एकै परिवारका आमा र छोराछोरीसहित चार जनाको घटनास्थलमै ज्यान गएको र अरु पाँच जना घाइते भएकाे केन्द्रले जनाएको छ । 

यस वर्ष मनसुन सुरु भएयता अर्थात् गएको जेठ ३० गतेपछि बाढी, पहिरो तथा चट्याङबाट मात्रै दुई सय पाँच जनाको ज्यान गइसकेको छ । विपदमा परेर ५४ जना हराइरहेका छन् भने एक सय ९४ जना घाइते भएका छन् । यस अवधिमा पहिरोबाट एक सय ८० जना, बाढीबाट पाँच जना र चट्याङबाट २० जनाको ज्यान गएको हो । पहिरोमा ४३ र बाढीमा ११ जना हराइरहेका केन्द्रले जनाएको छ । source:ujyaaloonlone