रुकुम घटनामा मृत्यु भएकालाई सरकारले प्रतिपरिवार १० लाख दिने

साउन २७, २०७७ काठमाडाैं : सरकारले पश्चिम रुकुम सोती घटनाका मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने भएको छ। सोमबारको मन्त्रिपरिषद बैठकले पश्चिम रुकुमको सोतीमा भएको घटनामा हत्या गरिएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको हो।  गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र संजीव विकको हत्या भएको थियो।  यस्तै भेरी ११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुमको चौरजहारी १ का टिकाराम नेपालीको हत्या भएको थियो। घटनामा भेरी ४ का लालबहादुर खड्का, मदन शाह, सरोज भडेल, आशीष विक, सुदीप खड्का घाइते भएका छन्। यस्तै भेरी ३ का विभाग पुन, इन्द्रगंज शाही, भेरी १३ का भोला विसी, भेरी ११ का गोविन्द सुनार, भेरी ३ का महेश कार्की, सल्यान कुमाख ४ का डिल्ली विक र  बाँकेको राप्ती सोनारी ४ का सुनिल सुनार घाइते भएका छन्। 

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको अवस्था चिन्ताजनक

साउन २७, २०७७ कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएका भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी चिन्ताजनक अवस्थामा पुगेका छन्। सास लिन नै अप्ठ्यारो भएपछि उनलाई भेन्टिलेटरमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।  मुखर्जीले सोमबार ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए। संक्रमण पुष्टि भएलगत्तै उनलाई दिल्लीस्थित आर्मी आर आर अस्पतालमा भर्ना गरिएको थियो।  अवस्था चिन्ताजनक भएपछि बचाउनका लागि मुखर्जीको मस्तिष्क शल्यक्रिया गर्नुपरेको अस्पतालले जनाएको छ। शल्यक्रिया पश्चात उनको अवस्था थप चिन्ताजनक बनेको हो। 
source:thahakhabar.com

सुशील भट्टलाई सीईओको रुपमा काम नगर्न उच्च अदालतको आदेश

साउन २७,काठमाण्डाै – उच्च अदालत पाटनले सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा काम गर्न रोक लगाएको छ । न्यायाधीश नकुल सुवेदीको इजलासले भट्टलाई लगानी बोर्डको सीईओकाे रुपमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगराउन आदेश दिएको पाटन उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले उज्यालोलाई जानकारी दिनुभयो । अदालतले ३२ गतेसम्मको लागि यो आदेश दिएको हो ।

नियुक्तिको कारणबारे बुझ्न अदालतले ३२ गते सरकारी प्रतिनिधिलाई बोलाएको छ । त्यसपछि यो रिटको अन्तिम निर्णय हुनेछ । लगानी बोर्डको सीईओमा नियुक्तिको लागि योग्यता नपुगेको भन्दै अधिवक्ता जयबहादुर भुजेलले पाटन उच्च अदालतमा रिट निवेदन दिनुभएको थियो । साउन १९ गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका सुशील भट्टलाई लगानी बोर्डको सीइओ नियुक्त गरेको थियो । कैयौँ आयोजना अलपत्र पारेको र कालोसूचीमा परेका ठेक्कामा भट्टको संलग्नता रहेको भन्दै चौतर्फी आलोचना भएको थियो ।  

होटल रेस्टुरेन्ट बन्द गर्ने सरकारको निर्णय, प्याकिङ गरेर बेच्न मात्रै पाइने

साउन २७, काठमाण्डाै – सरकारले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने तर प्याकिङ गरेर खाना/खाजा भने डेलिभरी गर्न दिने निर्णय गरेको हो ।यसअघि गएको साउन ५ गतेको बैठकले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको थियो । तर सामाजिक दुरी पालना नगरेको, भिडभाड गरेको र कोरोनाबाट बच्नको लागि अपनाउने उपाय नअपनाएकाले होटल तथा रेस्टुरेन्ट बन्द गर्ने निर्णय भएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।  पछिल्लाे समय नेपालमा काेराेना सङ्क्रमणकाे जाेखिम बढिरहेकाे छ । 

२४ घण्टामा ६३८ जनामा कोरोना सङ्क्रमण, ४ जनाको मृत्यु

साउन २७, काठमाण्डौ – नेपालमा पछिल्लाे २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार सङ्क्रमण पुष्टि भएका सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २३ हजार नौ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ३८ जनामा कोरोना पुष्टि भएको हो । साथै पछिल्लाे २४ घण्टामा एक सय ७१ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार ६ सय ६४ पुगेको छ ।

अहिले सात हजार दुई सय एक जना देशका विभिन्न ठाउँको आइसोलेशनमा छन् । यस्तै ११ हजार ५८ जना क्वरेण्टीनमा रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या ८३ पुगेको छ ।