पछिल्लो २४ घण्टामा ३६० जनामा कोरोना सङ्क्रमण, अहिलेसम्म ६५ जनाको मृत्यु

साउन २२, २०७७ बिहिबार काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २१ हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाे नियमित प्रेस बिफ्रिङमा कोरोनाका कारण नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएकाे जनाइएको छ । मन्त्रालयका अनुसार पछिल्लाे पटक मोरङमा दुई जना, सर्लाही, धनुषा र सप्तरीमा एक/एक जना गरी पाँच जना सङ्क्रमितको मृत्यु भएको हो ।

मोरङको रङ्गेली नगरपालिका ८ का ४५ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उपचारकाे लागि कोशी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । यस्तै मोरङको विराटनगर महानगरपालिकाका ४५ वर्षीय  पुरुषको पनि कोशी अस्पतालमै साउन २१ गते उपचारकाे क्रममा मृत्यु भएको हो ।

सर्लाहीको मलङ्गवा ८ का ६५ वर्षीया वृद्धाको साउन २१ गते सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचारकाे क्रममा निधन भएको मन्त्रालयले जनाएकाे छ । यस्तै धनुषाकाे मिथिला नगरपालिका १० की ७२ वर्षीया वृद्धाको साउन १७ गते उपचारकाे क्रममा ओम अस्पताल काठमाण्डाैमा मृत्यु भएको हो । दम उच्च रक्तचापकी बिरामी उहाँमा निमोनियाको पनि समस्या थियो ।

सप्तरीका ४२ वर्षीय पुरुषको साउन २१ गते निधन भएको प्रवक्ता डाक्टर गाैतमले बताउनुभयो । 

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३३ जनाले कोरोनालाई जितेका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५ हजार तीन सय ८९ पुगेको छ ।

नेपालमा अहिले कोरोनाका ६ हजार दुई सय ९६  जना सक्रिय सङ्क्रमित छन् । गएको २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गरिएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे । 

अहिलेसम्म चार लाख १९ हजार पाँच सय ७५ जनाको पीसीआर विधिमार्फत स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै ६ जिल्ला कोरोनामुक्त छन् । खोटाङ, धनकुटा, सङ्खुवासभा, मुस्ताङ, मनाङ र रुकुम पश्चिममा पछिल्लो समय कोरोनाका सक्रिय सङ्क्रमित नरहेकाे मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।  

देशव्यापी लकडाउन गरिहाल्ने योजना छैन : मन्त्री खतिवडा

साउन २२, काठमाण्डौ – सरकारले अहिले नै देशव्यापी रुपमा लकडाउन गर्ने कुनै योजना नबनाएको जनाएको छ ।  मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सङ्क्रमण कम देखिएको ठाउँमा क्रमशः खुकुलो पार्दै लैजाने र सङ्क्रमण बढी देखिएको ठाउँमा केही प्रतिबन्ध रहने बताउनुभयो । 

मन्त्री खतिवडाले भन्नुभयो, ‘अहिलेलाई सरकारले जे निर्णय गरेको छ, त्यति नै बुझौँ । चैत १० गते रातिदेखि लकडाउन भनेर जसरी गएका थियौँ, त्यो विधिबाट जानेतर्फ अहिले सरकारले सोचेको छैन । आवश्यक परे पालिका र स्थानीय प्रशासनले पनि यो कदम चाल्न सक्छ । यहीअनुसार दुई दर्जनभन्दा बढी ठाउँमा कुनै न कुनै रुपको लकडाउन त गरिएकै छ । 

लकडाउन भइहाल्ने हाे कि भनेर नआत्तिन तर संयममता भने अपनाउन मन्त्री खतिवडाले बताउनुभयाे । उहाँले पूर्ण लकडाउन हुन्छ कि भनेर नआत्तिन आग्रह गर्नुभयो । साथै उहाँले आफू सङ्क्रमित हुन्छु कि, मबाट अरु सङ्क्रमित हुन्छन् कि भनेर ध्यान पुर्‍याउन अपिल गर्नुभयो ।  

लेबननको विस्फोटमा परी मृत्यु हुनेको संख्या ११५ पुग्यो

साउन २२, लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको संख्या १३५ पुगेको छ। अन्य चार हजारभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका  छन्। एउटा गोदाममा ६ वर्षअघि देखि भण्डारण गरी राखिएको विस्फोटक पदार्थ (अमोनियम नाइट्रेट) का कारण उक्त घटना भएको अधिकारीहरुले बताएका छन्।

लेबनानका प्रधानमन्त्री हसन दियाबले यसलाई एक खतरनाक गोदाम बताउँदै त्यो सन् २०१४ मा बनाइएको बताएका छन्। साथै उनले यसलाई प्रलयकारी घटना बताउँदै दोषीहरु जिम्मेवार हुनुपर्ने बताएका छन्। यस्तै, लेबनानका राष्ट्रपति मिशेल आउनले दुई हजार सात सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रुपमा राख्नु ‘स्वीकार्य’ नहुने बताएको छ। यो विस्फोटको आवाज दुई सय ४० किलोमिटर टाढा साइप्रससम्म पनि सुनिएको बीबीसीले जनाएको गरेको छ। अमोनियम नाइट्रेट एक गन्धहीन तथा अत्यन्तै शक्तिशाली विस्फोटक रसायन हो। उक्त रसायनलाई खेतीका लागि उर्बर माटो बनाउन र निर्माणको लागि विस्फोटक पदार्थको रुपमा प्रयोग गरिन्छ।


कोरोनाबाट एकै दिन ६ जनाको मृत्यु, मृतकको संख्या ६४ पुग्यो

साउन २२, २०७७ काठमाडौं :  कोरोना संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ। पर्सा र मोरङमा दुई दुई जना, काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ। कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु भएको हो । वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ४६ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए। यस्तै १९ गते मृत्यु भएकी पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ। झाडावान्ता भएपछि उनलाई गत सोमबार नेशनल मेडिकल कलेज लगिएको थियो । तर इमर्जेन्सीमा पुग्नासाथ चिकित्सकले  उनलाई मृत घोषणा गरे। स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिए।

यसै गरी  मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासका अनुसार बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो। 

यसै गरी बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो। मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको १९ गते पुष्टि भएको थियो। उनलाई उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत भएको सशस्त्रका प्रवक्ता राजु अर्यालले जनाकारी दिए।  यस्तै सप्तरीमा  मृत्यु भएका तीन जनामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।​ 

रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए। करिब डेढ महिनाअघि मलेसियाबाट फर्किएका उनी होम क्वारेन्टिनमा थिए । मंगलबार साँझ ज्वरो आउनुका साथै श्वासप्रश्वासमा कठिनाई भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो। थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो। तर उनको बाटोमै मृत्यु भएको थियो। मृत्युपछि स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए।
source:thahakhabar.com

कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६३ पुग्यो

साउन २२, काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६३ पुगेको छ । बुधबार मोरङ्गमा दुई जना, पर्सामा दुई जना र काठमाण्डौमा एक जना गरी पाँच जनाको काेराेनाबाट ज्यान गएकाे पुष्टि भएसँगै मृतककाे कुल सङ्ख्या ६३ पुगेको हो । विराटनगरको कोशी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका विराटनगर ९ का ४५ वर्षीय पुरुष र रङ्गेली ८ का ४५ वर्षीय पुरुषको ज्यान गएको कोशी अस्पतालले जनाएको छ । पर्साको वीरगञ्ज–१५ भिश्वाका ४६ वर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ वर्षीया युवतीको काेराेना सङ्क्रमणबाट ज्यान गएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै गएको १६ गते अस्पताल भर्ना गरिएकी सर्लाही मलङ्गवाकी ६५ वर्षिया महिलाको ज्यान गएकाे सशस्त्र प्रहरी अस्पताल बलम्बु काठमाण्डौले जनाएको छ ।

यसैबीच सप्तरीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका तीन जनाको ज्यान गएकाे छ । छिन्नमस्ता अस्पताल राजविराजमा उपचारकाे क्रममा दुई जनाको र एक जनाको उपचारका लागि धरान लाँदै गर्दा बाटोमै ज्यान गएकाे जिल्ला प्रशासन कार्यलय सप्तरीका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले बताउनुभयो । उनीहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षणका लागि पठाइएको प्रशासकीय अधिकृत ठाकुरले बताउनुभयो । source:ujyaaloonline