नेपालमा २४ घण्टामा ३८१ जनामा काेराेनाकाे सङ्क्रमण, १३० जना डिस्चार्ज

 साउन २१, २०७७ बुधबार काठमाण्डाै – पछिल्लाे २४ घण्टामा नेपालमा थप तीन सय ८१ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल सङ्ख्या २१ हजार तीन सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा थप एक सय ३० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १५ हजार एक सय ५६ पुगेको छ । 

साथै पछिल्लाे २४ घण्टामा थप दुई जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुगेको मन्त्रालयले जनाएको छ । 

अहिले ६ हजार एक सय ७४ जना आइसोलेसनमा छन् भने नौ हजार नौ सय २५ जना क्वरेण्टीनमा छन् । अहिलेसम्म चार लाख १२ हजार नौ सय ५३ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण भएको छ ।

Advertisement

कोरोना महामारी नियन्त्रणका लागि १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा

काठमाण्डाै – नेपालमा फैलिँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले नेपालमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर लकडाउन गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र पालिकालाई दिएसँगै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । 

गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा गरिएको छ ।

यस्तै सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञा जारी गरिएकोे छ । 

दार्चुलाको मार्मा गाउँपालिका, झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८, महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका, नुवाकोटको सदरमुकाम क्षेत्र, बझाङको थलारा गाउँपालिका ५ र केदारस्यू गाउँपालिका ६ र ७ मा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । source:ujyaaloonline