मन्त्री भट्टराईकाे ट्वीट : दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔँ, सल्लाह गरौँ

साउन १३, काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना नजिक रहेको बताउनुभएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको केही बेरमा नेता भट्टराईले ट्वीट गर्दै भन्नुभयो, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौँ ।’   

सहमतिको लागि एक महिनासम्म भएको प्रयास पनि सफल नभएपछि नेकपाको विवाद झन् जटिल बन्दै गएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसअघि भएका छलफल निष्कर्षमा पुग्न सकेको छैन । source:ujyaaloonline

मनसुन फेरि सक्रिय, भिरालो जमिन र तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

 साउन १३, काठमाण्डौ – मनसुन फेरि सक्रिय भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । रातिदेखि नै मनसुन सक्रिय भएकाले देशका धेरै ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँकाअनुसार विशेषगरी पूर्वका धेरै ठाउँमा पानी परेको छ । यस्तै सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा पनि पानी परेको छ । अरु प्रदेशका पनि विभिन्न ठाउँमा पानी परेको छ । 

तर नजिकै कतै पानी परे पनि नजिकै अर्को ठाउँमा पानी परेको छैन । राति पानी नपरेका ठाउँमा पनि अब बिस्तारै पानी पर्न थाल्ने मौसमविद् प्रधानाङ्गको भनाइ छ । मनसुनकै प्रभावले आज बेलुकी र भोलि केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको उहाँले बताउनुभयो । 

पानी धेरै पर्ने भएकाले यसअघि पहिरो गएका ठाउँ, भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दा सतर्क हुनुपर्नेछ ।  गएको २४ घण्टामा लुम्लेमा १ सय ७१ दशमलव ७ मिलीमिटर र पोखरामा १ सय ४९ दशमलव ७ मिलीमिटर तथा पानी परेको छ । 

रुकुम पश्चिममा पहिराेमा हराएका दुई जनाको शव भेटियो

साउन १३,रुकुम पश्चिम – रुकुम पश्चिममा पहिरोले घर बगाउँदा हराएका दुई जनाको शव भेटिएको छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ९ स्यालामा बिहान पहिरोले हस्तबहादुर सुनारको घर भत्काउँदा बेपत्ता भएका २२ वर्षका नविन सुनार र १६ वर्षका बलबहादुर सुनारको शव भेटिएको प्रहरीले जनाएको छ । राति एउटै घरमा सुतेका ६ जनामध्ये चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । 

उहाँकाअनुसार हस्तबहादुरकी आमा ६० वर्षकी झुपी, श्रीमती २२ वर्षकी ब्युझना, छोरीहरु ५ वर्षकी कोपिला र ३ वर्षकी ऋतुको उद्धार गरिएको हो । यसैबीच पहिरोले बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को स्यार्पु सडकखण्डमा रहेका पाँच वटा पसलमा क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमकाअनुसार बाँफिकोट गाउँपालिका वडा नम्बर ४ का डिलबहादुर परियार र बुद्धि केसीको घर उच्च जोखिममा रहेका छन् । source:ujyaaloonline

सुनको भाउ तोलाको ९८ हजार नाघ्यो

 साउन १३, काठमाण्डौ – सुनको भाउले आज पनि रेकर्ड बनाएको छ ।  कोरोना सङ्क्रमणका कारण लगातार उकालो लागेको सुनको भाउ आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ बढेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो । उहाँकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस १३ डलरले बढेको छ ।

एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज १९ सय ४४ दशमलव ७० डलर प्रति औंस रहेको पनि उहाँले जानकारी दिनुभयो ।अहिलेको अवस्था हेर्दा सुनको भाउ तोलाको एक लाख रुपैयाँ कट्ने संभावना बलियो बन्दै गएको शाक्यको भनाइ छ । यस्तै चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ४५ रुपैयाँ पुगेको छ । source:ujyaaloonline

नेकपाको स्थायी कमिटी बैठक स्थगित

साउन १३, काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित गरिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णय र निर्देशनअनुसार प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभएको छ ।

तर सहमतिको लागि एक महिनासम्म भएको प्रयास पनि सफल नभएपछि नेकपाको विवाद झन् जटिल बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यसअघि भएका छलफल निष्कर्षमा पुग्न सकेको छैन । पछिल्ला दिनहरुमा नेताहरुबीच आरोप-प्रत्यारोप बढेको छ । सहमति नभएपछि दुवै पक्ष आ-आफ्नै रणनीतिमा जुटेको छ । असार १० गतेदेखि सुरु भएको बैठक सहमतिको लागि भन्दै पटक-पटक स्थगित हुँदै आएको छ।