२४ घण्टामा १५० जनामा काेराेनाकाे सङ्क्रमण, ६०९ जना डिस्चार्ज

काठमाण्डाै साउन ६ -नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या १७ हजार नौ सय ९४ जना पुगेको छ । मङ्गलबार एक सय ५० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १७ हजार नौ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ६ सय नाै जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएसँगै निको हुनेको सङ्ख्या १२ हजार चार सय ७७ पुगेको छ । यो कुल सङ्क्रमितको ६९ दशमलव ३४ प्रतिशत हो ।

नेपालमा अहिले पाँच हजार चार सय ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै २१ हजार सात सय चार जना मानिस विभिन्न ठाउँका क्वरेण्टीनमा रहेका छन् । 

बिहीबारदेखि सार्वजनिक गाडी चलाउने व्यवसायीकाे निर्णय

 साउन ६, काठमाण्डाै – यातायात व्यवसायीले आउँदाे बिहीबारदेखि सार्वजनिक गाडी चलाउने निर्णय गरेका छन् । मङ्गलबार काठमाण्डौमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुरका तीन वटा ट्रेड युनियनले बिहीबारदेखि गाडी चलाउने घोषणा हुन् । महासङ्घका महासचिव सरोज सिटौलाले जोर–बिजोर प्रणालीमा गाडी चलाउने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै यातायात व्यवसायीले लामो दुरीमा पनि गाडी चलाउने तयारी गरेका छन् । तर यस विषयमा सरकारले कुनै निर्णय गरिसकेको छैन । 

छोटो दुरीमा सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक गाडी चलाउने सरकारले निर्णय गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुरका ट्रेड युनियनले गाडी चलाउन मानेका थिएनन् । अन्य सार्वजनिक गाडी भने गएको असार २९ गतेदेखि नै चल्न थालेका थिए ।