अब आउने सलहले धेरै नोक्सानी गर्नसक्ने भएकाले सावधानी अपनाउन विज्ञको आग्रह

साउन ४, काठमाण्डाै – अब नेपालमा आउने सलहको झुण्डले धेरै नोक्सानी गर्नसक्ने भएकाले सावधानी अपनाउन विज्ञले आग्रह गरेका छन् ।भारतीय सिमावर्ती क्षेत्रमा १५,२० करोडको संख्यामा सलहको झुण्ड रहेको र त्यसमध्ये आधा मात्रै नेपाल आए भने पनि धेरै क्षति गर्न सक्ने प्लान्ट क्वरेण्टीन तथा विषादी ब्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । तर त्यसमध्ये कति नेपाल आउँछन् र कत्रो झुण्डमा आउँछन् भन्नेमा भर पर्ने उहाँको भनाई छ ।

भारतको राजस्थानमा रहेको यी सलहको झुण्ड मौसम अनुकूल भएमा भोलितिर नेपाल प्रवेश गर्ने सम्भावना भएको उहाँले बताउनुभयो । भोलिदेखि हावाको दिशा दक्षिणबाट उत्तरतिर बहने र तीब्र बेगमा बहने हुनाले नेपाल आउनसम्भावना भएको उहाँको भनाई छ ।

तर नेपालमा मनसुन थप सक्रिय भैरह्यो भने भोलि नआएर अर्को २, ३ भित्र पनि आउन सक्ने सुवेदी बताउनुहुन्छ । यी झुण्ड नेपाल आउँदा पश्चिम तराईबाट आउने भएकाले पश्चिम तराईका किसानले सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।

सलहको झुण्ड आउने सम्भावना भदौसम्म नै भएको उहाँको भनाई छ । यस्तै केही दिनअघि नेपालमा आएका सलहका झुण्ड भने सुर्खेतको छिन्चुमा रहेका छन् । सुर्खेतका केही ठाउँमा तरकारी र आँपमा नोक्सानी गरेको पनि उहाँले बताउनुभयो ।

तर नोक्सानी कति भयो भन्ने विवरण भने नआएको उहाँको भनाई छ । छिन्चुमा विज्ञकै सहायतामा विषादी छर्कने लगायतको काम पनि भइरहेको छ ।

नेकपा विवाद तत्काललाई मत्थर हुने संकेत : मंसिरमा महाधिवेशन गर्न ओली र प्रचण्ड सहमत

 साउन ४, काठमाण्डाै – प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागपछि नेकपाभित्र उत्कर्षमा पुगेको विवाद तत्काल समाधान हुने संकेत देखिएको छ । हिजोको सचिवालय बैठकमा ओलीले मंसिरमा महाधिवेशनको प्रस्ताव गर्नुभएको र त्यसमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत समर्थन जनाउनुभएपछि पार्टीभित्र नयाँ मोड आएको हो । तर अहिलेको विवाद महाधिवेशनसम्म लम्ब्याउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने असहमति जनाउनुभएको छ ।

यसअघि चैतमा तय भएको महाधिवेशन मंसिरमा गर्न नभ्याइने उनीहरुको तर्क छ । कोरोना कहर र चाडपर्व पर्ने भएकाले मंसिरमा महाधिवेशन सम्भव नहुने भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । उनीहरुले केन्द्रीय कमिटी बैठक बोलाएर थप छलफल गर्न सुझाव दिएका छन् ।

तर सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलले भने महाधिवेशनको प्रस्तावमा समर्थन जनाउनुभएको छ । यस्तै अरु सदस्यहरुले लिखित प्रस्ताव ल्याउन सुझाव दिएका छन् । ओली र प्रचण्ड दुवै नरम शनिबारको बैठकमा अध्यक्षद्व ओली र प्रचण्ड दुवै नरम रुपमा प्रस्तुत हुनुभएको थियो ।

यसअघिका बैठकमा जस्तो प्रचण्डले राजीनामाको माग गर्नुभएन भने ओलीले पनि अडान लिनुभएन । ओलीले आफूले पनि आत्मालोचना गर्ने बताउँदै अरूलाई पनि आ–आफ्ना कमजोरी सच्याउन आग्रह गर्नुभएको थियो ।

सिंगो देश र पार्टी अहिले संकटमा रहेको र अहिलेको महत्वपूर्ण काम भनेको पार्टी एकता नै भएको उहाँको जोड थियो । एकता बचाउन सबैले आ–आफ्ना कमजोरी स्वीकार गर्न तयार हुनुपर्ने भन्दै उहाँले आफ्नो मेरो कमजोरी स्वीकार र आत्मालोचना गर्ने बताउनुभएको थियो ।

त्यसपछि उहाँले चैतको महाधिवेशन सारेर मंसिरमा ल्याउन प्रस्ताव गर्नुभएको थियो । महाधिवेशनबाटै सबै समस्या हल हुने उहाँको भनाइमा प्रचण्डले पनि समर्थन जनाउनुभएको थियो । सचिवालय बैठक सकेर ओली र दाहाल राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको थियो ।

मंसिरमा महाधिवेशन गर्न चुनौती

दुई अध्यक्षबीच मंसिरमा महाधिवेशन गर्ने सहमति भए पनि चुनौती धेरै छ । महाधिवेशनअघि पार्टीभित्र सहमति, एकताका बाँकी काम, सदस्यता नवीकरण, तल्ला कमिटी र जनसंगठनको अधिवेशन, कार्यदिशाको बहस, नेतृत्वको संरचना र आकार लगायतका विषय टुंग्याउन बाँकी छ ।

कोरोना कहर र चाडपर्वका कारण यी काम तोकिएकै समयमा हुनेमा नेताहरुले आशंका व्यक्त गरेका छन् । नेकपाको गएको माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकले २०७७ चैत अन्त्यतिर पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

स्थायी कमिटी बैठक आज पटकपटक स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो ३ बजेको लागि बैठक बोलाइएको छ । गएको असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवादका कारण पटक–पटक स्थगन हुँदै आएको छ । source:ujyaaloonline

आज र भोलि बाढी पहिरोको जोखिम

साउन ४,काठमाण्डाै – आज र भोलि बाढी पहिरोको जोखिम धेरै भएकाले तटीय क्षेत्र तथा भिरालो जमिन आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउने क्रममा रहेकाले आज र भोलि धेरै पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यसकै प्रभावले अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

विशेषगरी प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा रातिदेखि नै पानी परिरहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १ र प्रदेश २ का एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच झरी परेसँगै विभिन्न नदी तथा खोलामा बाढी आउने भएकाले थप सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ । नवलपरासीको अरुणखोला, गिरुवारी खोला र साना नदी तटीय क्षेत्रका बाढी आउन सक्ने भएकाले आसपासका बासिन्दालाई बिहान १० बजेसम्म सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै ठाउँमा ठूलो पानी परेको र अझै पानी परिरहने भएकाले अरुणखोला, गिरुवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै महाशाखाले सचेत गराएको हो ।