साउन १ अर्घाखाँची –
एक अनुत्तरित प्रश्न
अर्घाखाँचीमा बिद्युत लाईन अनियमित हुनुको कारण, के अघोषित लोडसेडिङ नै हो ? कर्मचारीको लापरबाही हो कि ? अथवा अरु कारण केहि छ ?
हो माथिको प्रश्नमा जस्तै आम सेवाग्राहिहरु, पत्रकार बन्धुहरु, राजनीतिज्ञहरु, उद्योगी व्यबसायीहरु, बिद्युतसंग सरोकार तथा जानकार ब्यक्तिहरुको पटकपटकको गुनासो – अर्घाखाँची वितरण केन्द्रअन्तर्गतका कार्यक्षेत्रहरुमा बिद्युत लाईन प्राय: अनियमित हुन्छ, के अर्घाखाँचीमा अघोषित लोडसेडिङ हो त? पटक्कै होईन, त्यसो भए बिद्युत लाईन अनियमित हुने कारणहरु के छन् त , यो प्रस्तुतिमा बिद्युत लाईन अनियमित हुने कारणहरुलाई प्रस्ट पार्ने कोसिस गरिएको छ । आम उपभोक्ताहरुको बिद्युतप्रतिको धारणा जे जस्तो भएतापनि लाईन अनियमित हुने प्रमुख कारणहरुलाई तपशिलमा प्रस्तुत गरिएको छ ;
- प्राबिधिक दृष्टिकोणले हुनु पर्ने भन्दा अत्यधिक लामो लाईन
- निर्माणाधीन ३३/११ के.भी. सबस्टेशनहरु समयमै सम्पन्न नहुनु
- अब्यबस्थित सडकको विस्तारले पहिरो गई पोल,तार, ट्रान्सफर्मरहरुमा क्षती पुर्याउने समस्या
- अर्घाखाँची वितरण केन्द्रमा आउने बिद्युतको श्रोत धेरै ठाउँबाट भएको
- सेवा क्षेत्र अनि उपभोक्ताहरुको संख्या वृद्धि अनुपातमा कर्मचारी संख्या नहुनु
- भौगोलिक विकटताअनुसारको सवारी साधन पर्याप्त नहुनु
हाल अर्घाखाँची वितरण केन्द्रमा तल उल्लेखित स्थानहरुबाट बिद्युत लाईन आउने आउने गरेको छ ;
- झिमरुक-प्युठान-खिल्जी- सन्धिखर्क अर्घाखाँची (३३ के.भी. लाईन)
- गुल्मी विरबास- चिदिका अर्घाखाँची (३३ के.भी. लाईन)
- गुल्मी विरबास-गुल्मी तम्घास- मरेंग अर्घाखाँची (३३ के.भी. लाईन)
- दाङ लमही- शितगंगा ०८ चरिंगे (शुभश्री अग्नि सिमेन्ट) (३३ के.भी. लाईन)
- दाङ लमही- लाहापे,सातमार अर्घाखाँची (११ के.भी. लाईन)
- पाल्पा बतासे- पणेना अर्घाखाँची (११ के.भी. लाईन)
दाङ लमही- शितगंगा ०८ चरिंगे (शुभश्री अग्नि सिमेन्ट) ३३ के.भी. लाईन लाईनबाहेक खपतको हिसाबले अर्घाखाँची वितरण केन्द्र झिमरुक-प्युठान-खिल्जी- सन्धिखर्क अर्घाखाँची (३३ के.भी. लाईन) र गुल्मी विरबास- चिदिका अर्घाखाँची (३३ के.भी. लाईन) को हिस्सा बढी रहेको छ ।
प्राबिधिक नर्म्स अनुसार एउटा सबस्टेशनदेखि निस्किएको लाईन लम्बाई के कति भयो भने लाईन सहज तरिकाले चलाउन सकिन्छ त ? ११ के.भी. लाईन २० कि.मि. र ३३ के.भी. लाईन ६० कि.मि. भित्र भयो भने सहज तरिकाले चलाउन सकिन्छ । त्यसो भए अर्घाखाँची वितरण केन्द्र भित्रका लाईनको लम्बाई कति छ त? सो को विवरण यहाँ प्रस्तुत गरिएको छ र यहाँहरुले सहजै अनुमान गर्न सक्नु हुन्छ लाईन किन अनियमित हुन्छ भन्ने कुराको पहिलो उत्तर ।
क्र.सं. | फिडर | स्रोत (सबस्टेशन) | अनुमानित लाईन लम्बाई (कि.मि.) | प्राबिधिक हिसाबले हुनु पर्ने लाईन (कि.मि.) | कैफियत |
१ | ११ के.भी. बजार फिडर | अर्घा सबस्टेशन | १९.४० | २०.०० | सन्धिखर्क बजार सम्पूर्ण – सन्धिखर्क ७ (फुदबाङ, भालुखोला, डिही,डिही डाँडा) – सन्धिखर्क ६ (जगत, भुवनडाँडा) – पाणिनी ०७ घुम्ती |
२ | ११के.भी. नुवाकोट फिडर | अर्घा सबस्टेशन | ६१.८० | २०.०० | साबिक किमडाँडा, नुवाकोट, धारापानी गाबिस सम्पूर्ण |
३ | ११ के.भी. ढिकुरा फिडर | अर्घा सबस्टेशन | ५८.९० | २०.०० | साबिक ढिकुरा, धनचौर गाबिस सम्पूर्ण, सन्धिखर्क ०६ नरपानी, सन्धिखर्क ०७ खाँची मैदान |
४ | ११ के.भी. धरमपानि फिडर | अर्घा सबस्टेशन | ४८.७० | २०.०० | साबिक अर्घा,खन,खनदह गाबिस सम्पूर्ण , बाँगी बरमकोट |
५ | ११ के.भी. वांग्ला फिडर | अर्घा सबस्टेशन | ६४.४० | २०.०० | साबिक डिभर्ना, अर्घातोष चिदीपानी, वांगला, पालि, अड्गुरी(देउराली), मैदान, धातीबाङ, खिदिम (दुर्गाफाँट) |
६ | ३३ के.भी. सन्धिखर्क- ठाडा | अर्घा सबस्टेशन | ११४.९० | ६०.०० | साबिक नरपानी (सतिनेटा) अड्गुरी (दुबिचौर, झंद्रेक), सीतापुर, सुवर्णखल, ठाडा, जुकेना,जलुके, सिमलपानी सम्पूर्ण, सिद्धारा ( हर्रे,बर्रे, चौकी) |
७ | ३३ के.भी. सन्धिखर्क- हंसपुर | अर्घा सबस्टेशन | २५.२० | ६०.०० | साबिक हंसपुर सम्पूर्ण, बाँगी (आरुखोर) |
८ | ११ के.भी. पाल्पा पश्चिम फिडर | पाल्पा सबस्टेशन | ८५ (श्रीनगर-पणेना) +२४.५० | २०.०० | साबिक पणेना, पोखराथोक, पटौटी, खिदिम ( हटिया, हर्राबोट, फर्सवा) |
९ | ३३ केभी. गुल्मी-बिरबास- चिदिका -सन्धिखर्क | बिरबास सबस्टेशन | ७३.८० | ६०.०० | साबिक बलकोट, चिदिका, केरुङ्गा, छत्रगंज, ठुलापोखरा, भगवती |
१० | ३३ के.भी. गुल्मी-बिरबास- गुल्मी तम्घास -मरेंग | बिरबास सबस्टेशन | ३५ (बिरबास-तम्घास-मरेंग) +१४.३० | ६५.०० | साबिक अर्घातोष ,मरेंग |
बिद्युत लाईन लामो भयो भने किन लाईन अनियमित हुन्छ त? हो लाईन लम्बाई लामो भयो भने, कुनै ठाउँमा लाईन फल्ट हुँदा फल्ट पत्ता लागाउन समय लाग्दछ किनकि कुन ठाउँमा समस्या भएको हो त्यो यकिन गर्नको लागि कुनै स्वचालित मेशिन नभएकोले कर्मचारीलेले एक पोलदेखि अर्को पोलसम्म गएर हेर्नु पर्दछ । अनि लाईन लम्बाई कसरी घटाउन सकिन्छ त? हाल अर्घाखाँची वितरण केन्द्रको कार्यक्षेत्रभित्र ३ वटा (ठाडा,हंसपुर,दुर्गाफाँट) ३३/११ के.भी. सबस्टेशन निर्माणाधीन अबस्थामा छन् । यी सबस्टेशन आयोजनाहरु समयमै सम्पन्न भएपश्चात लाईन लम्बाई सबस्टेशनबाट कमि गर्न सकिन्छ अनि ११ के.भी. २० कि.मि भित्र अनि ३३ के.भी. ६० कि.मि भित्र पर्छ ।
अनि सबस्टेशन आयोजनाहरु सम्पन्न भएपश्चात कसरी लाईन अनियमित रोकिन्छ त? हो रोकिन्छ किनकि सबस्टेशन आयोजनाहरु सम्पन्न भएपछी फिडरहरु को लम्बाई कमि गर्न सकिन्छ अनि फल्ट जुन लाईन (फिडर)मा भएको हो त्यो लाईन सजिलै आईसोलेट (छुट्याउन) गर्न सकिन्छ र अरु भागमा लाईन सजिलै संचालन गर्न सकिन्छ ।
निर्माणाधीन सबस्टेशन आयोजनाहरु निर्माणमा किन ढिलाई भएको छ त? किनकि यी सम्पूर्ण आयोजनाहरु आयोजनाकै रुपमा रहेको र ती आयोजनाहरु यस वितरण केन्द्रअन्तर्गत नरहेको, ती आयोजाहरु सम्पन्न भएपश्चात यस वितरण केन्द्रलाई हस्तान्तरण हुन्छ । विवध कारणहरुले गर्दा ती आयोजनाहरू समयमै कार्य सम्पन्न भएका छैनन् ।
लाईन अनियमित भईसकेपछी समाधान तत्काल नहुनुको दोश्रो कारण अर्घाखाँची वितरण केन्द्रको कार्यक्षेत्र धेरै स्थाहरुमा कच्चीबाटो छ जसको कारण सहज र छिटो छरितो तरिकाले लाईन बनाउन असहज हुन्छ , यस्तो किन हुन्छ त? यस वितरण केन्द्रले करिब अर्घाखाँची सम्पूर्ण हेर्नु पर्दछ र सवारी साधन जम्मा ३ (तीन ) थान छ ; २ टाटा जेनन जसको जमिनसंगको क्लियरेन्स कम छ भएकोले सहज रुपमा कार्य सम्पादन गर्न ढिलो हुन्छ ।
लाईन अनियमित भईसकेपछी समाधान तत्काल नहुनुको तेश्रो कारण अपर्याप्त जनशक्ति हो । बि.स. २०५८/०५९ सालसम्म अर्घाखाँची वितरण केन्द्रको कार्यक्षेत्रहरु तौलिहवा वितरण केन्द्रअन्तर्गत थियो । त्यतिबेला अर्घाखाँचीमा बिद्युत ग्राहक संख्या करिब ३००० (तीन हजार) मात्र थियो र उक्त बेलाको स्वीकृत कर्मचारी दरबन्दी ६० नै थियो । हाल अर्घाखाँची वितरण केन्द्रमा करिब ३६००० (छत्तिस हजार) ग्राहक संख्या पुगेको छ र स्वीकृत कर्मचारी संख्या ६० नै भएपनि कार्यरत कर्मचारी संख्या ३४ मात्र रहेको छ । न्यून कर्मचारी ग्राहक संख्या अनुपात भएको कारणले गर्दा पनि सहज कार्यसम्पदान असहज भएको छ । फलस्वरूप: फल्ट (समस्या भएको) लाईन पत्ता लगाउन समय लाग्दछ ।
यसरी माथिको प्रस्तुतिबाट समेत तत्कालको समाधान भनेको निर्माणाधीन ३३/११ के.भी. सबस्टेशन आयोजनाहरु (ठाडा,हंसपुर, दुर्गाफाँट) समयमै सम्पन्न भई सुचारु हुनु नै हो । दीर्घकालीन रुपमा १३२ के.भी. मोतिपुर-सन्धिखर्क-तम्घास-पौदी अमराई- बुर्तिबाङ आयोजनाको १३२/३३/११ के.भी. फुदबाङ सबस्टेशन सम्पन्न भई सुचारु भएपछी अर्घाखाँची वितरण केन्द्रअन्तर्गतका स्थानहरुमा बिद्युत अनियमित हुने समस्या समाधान हुनेछ ।
स्रोत : बिरमान रासकोटी प्रमुख
नेपाल विद्युत प्राधिकरण,अर्घाखाँची वितरण केन्द्र अर्घाखाँची