
असार ३१, अर्घाखाँची-
स्थानीय जनताले सामाजिक सन्जालमै कार्यालयको सेवा प्रवाहमा गुनासो गरेपछि एउटा कार्यालय प्रमुखले के गर्ला ? सहजै जवाफ आउछ सके फोन गरेरै सातो खाइन्छ, हैन भने जेसुकै होस् भनेर बेवास्ता गरिन्छ । तर अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको सालझन्डी ढोरपाटन सडक आयोजनाका योजना प्रमुख जयलाल मरासिनीले यी दुवै विकल्प रोजेनन् । सामाजिक सन्जालबाट आएको सुझावको सहजताका साथ ग्रहण गरेका मरासिनीले सामाजिक सन्जालमै भद्र जवाफ मात्रै दिएनन तत्काल समाधानको पहल समेत गरे ।

असार ३० गते स्थानीय युवा व्यवसायी राजेन्द्र जिसीले सन्धिखर्क २ रुब्दी नजिकैको सडकको अबस्थाको बारेमा फोटो सहित फेसवुकमा स्टाटस लेखेको केही मिनेटमै कार्यालय प्रमुख मरासिनीले सामाजिक सन्जालबाटै सकारात्मक सन्देशसहित सुधारको प्रतिवद्धता जनाए । त्यसको अर्कोदिन मरासिनी आफै फिल्डमा पुगेर बाटोको सुधारको लागि सक्रियता देखाए । मरासिनीको सक्रियतामा हिलाम्मे बाटो केही सुधार भएको छ । फेसवुक मार्फत गुनासो आएको १८ घण्टाभित्रै सम्वोधन गर्ने कार्यालय प्रमुख मरासिनीलाई जिल्लावासीले धन्यवाद ब्यक्त गरेका छन् ।



source:pahiloupdate.com