आज पनि केही ठाउँमा ठूलो वर्षा

असार २९,काठमाण्डाै – देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । स्याङ्जाको आँधीखोला, बाँधखोला लगायत साना नदीमा आकश्मि बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै नवलपरासीको डण्डा, कावासोती र आसपासका साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै ठाउँ तथा गण्डकी प्रदेशको एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका तथा प्रदेश ५ थोरै ठाउँमा भारी वर्षाको  समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 
ठूलो पानी पर्ने ठाउँमा बाढी र पहिरोको जोखिम छ 

म्याग्दी पहिरो : ज्यान गुमाउनेको सङ्ख्या २८ पुग्यो, मराङमा १९ जनाको सामूहिक अन्त्येष्टि

असार २९, २०७७ सोमबार म्याग्दी – अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर म्याग्दीमा ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ ।

रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये हिजो थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

आइतबार मराङका खिमबहादुर जुग्जालीको शव भेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो । यसअघि शनिबार २७ जनाको शव भेटिएको थियो । बाढी र पहिरोमा परेर मालिका–७, बिमकी एलिसा केसी, धवलागिरी–६, मराङ ९कल्लेनीका० जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै नभेटिएको प्रहरी नायव उपरीक्षक कुँवरले बताउनुभयो ।

पहिरोमा परेर घाइते भएका दुईजना गर्भवतीसहित १३ जनालाई प्रभु एअर र नेपाली सेनाको एनआई सेभेन्टिन हेलिकोप्टरमार्फत उद्धार गरेर बेनी, पोखरा र काठमाण्डौमा उपचारका लागि पठाइएको छ । ओमकुमारी शान्ति कोष र जीसी ग्रुपका अध्यक्ष नारायण जिसीको पहलमा प्रभु एअरको हेलिकप्टरमा घाइते र गर्भवतीको उद्धार गरिएको थियो ।

धवलागिरी–६ को मराङ, कल्लेनी, राम्चे र रिखा तथा मालिका–७ को विम, दुले र नुर्बाङमा पहिरो गएको हो । पहिरोमा परेर घाइते भएका ६ जना बेनी अस्पतालमा उपचारपछि घर फर्किएका छन् । पहिरोबाट मराङमा २०, विममा १० र ताकममा पाँचवटा घरमा भौतिक क्षति पुगेको भनिए पनि बाढी पहिरोबाट अधिकांश घर तथा गोठमा क्षति पुगेको जनाइएको छ । पहिरोबाट ध्वस्त भएका घरहरुको तथ्याङ्क सङ्कलनको काम सुरु भएकाले एकिन तथ्याङ्क भने अझै आइनसकेको प्रहरीले जनाएको छ ।

अहिले पहिरोबाट विस्थापित तथा अलपत्रको उद्धार गरेर सामुदायिक भवन तथा विद्यालय र आफन्तको घरमा व्यवस्थापन गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । म्याग्दीमा बाढी पहिरोबाट धवलागिरीका ५ सय ९० जना, मालिकाका १ सय ९६ जना, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनासहित जिल्लाभर कुल ८ सय ९६ जनालाई सुरक्षित स्थानमा राखिएको उहाँले बताउनुभयो । 

पहिरोमा ज्यान गुमाएकाको सामूहिक अन्त्येष्टि

मराङको पहिरोमा परेकामध्ये १९ जनाको शव भेटिएको छ भने २ जना अझै बेपत्ता छन् । प्राकृतिक विपत्तिले तहसनहस भएको मराङमा पहिरोमा पुरिएको अवस्थामा उद्धार गरी ल्याइएको शवलाई अन्त्येष्टि गर्ने क्रममा सबै शोकमा डुबेका थिए । 

मराङको पहिरोमा ज्यान गुमाएका १९ जनाको आइतबार अन्त्येष्टि गरिएको छ । गएको बिहीबार राति बस्ती माथिबाट खसेको पहिरोमा परेर ज्यान गुमाएका १९ जनाको मराङको विभिन्न स्थानमा दाहसंस्कार गरिएको हो । पहिरोमा परेर ज्यान गुमाएकाहरुको आवश्यक कानुनी प्रक्रिया गरी आफन्त तथा परिवारलाई बुझाइएको हुँदा उनीहरुको सामूहिक एवं एकल रुपमा दाहसंस्कार भएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो । 

सुतिरहेको अवस्थामा बस्ती माथिबाट खसेको पहिरोमा ज्यान गुमाएका दुई परिवारका ७ जनाको एउटै चिहानमा अन्त्येष्टि गरिएको थियो । 

यता मालिका–७, विम गाउँमा पनि पहिरोमा ज्यान गुमाएकाको शव फेला परेका ८ जनाको अन्त्येष्टि गर्ने तयारी गरिएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
बिहीबार राति आएको पहिरोमा पुरिएकाहरुको शव शनिबार निकालिएको थियो । source:ujyaaloonline

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

असार २९,काठमाण्डाै – आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती आज मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेको मानिन्छ ।

उहाँले नेपाली भाषामा अनुवाद गरेको रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन् । उहाँको प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीता, तथा धेरै फुटकर लगायत कृति प्रकाशित छन् । समाजमा कीर्ति राख्न घाँस काटेर कुवा खन्ने घाँसी भानुभक्त आचार्यका लागि सबैभन्दा ठूलो प्रेरणा रहेको मानिन्छ ।

जन्मजयन्तीको अवसरमा आज विभिन्न कार्यक्रम हुँदैछन् । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषाभाषी रहेको ठाउँमा पनि मनाइन्छ । भानुजयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

ए ! भानु म अब के माँनू ?

विष्णु घर्ती ‘भनभनेली’


नबुझ्ने, नजान्नेलाई हुँदो हो कामै नपाँको “आखाको आँनू”
अति चिन्ता पीर मात्रै बोकी हिड्ने सधै के नै पो छ र खानू
उजागर विकृतिहरुको गर्दै गर्दा लाग्छ, गयो कि कसैको गानू
दुई सय सात वर्ष पहिलेका आदिकवि ए ! भानु अब म के माँनू ?


ब्रगेल्ती रुपमा उम्रेका अनगिन्ति जिज्ञाशालाई कसरी म छाँनू ?
खास साहित्यलाई प्यारो गर्ने कुन मनु हो भनेर कसरी म जाँनू ?
लाग्छ कहिले त देख्दा उरण्ठेउलाहरुलाई दाल झाने झैं झाँनू
कुवा खनाउँने, घाँसीको अर्ति मान्ने ए ! भानु अब म के माँनू ?


सबै नै ज्यादै असल, सबै नै खराब, के यस्तै हो र ! भन्ने ठाँनू ?
योग्यलाई आँखा तर्दै, आफ्नालाई बोलाउँदै, भन्छन् नि ए ! नानू
हुन पाए पनि हुन्थ्यो राज हाँसले जस्तै मैले नि दुधलाई मात्र ताँनू
चुदी, रम्घा, तनहूँका ए ! भानु यो समाजमा अब म के माँनू ?


सिर्जना हेर्दा हेर्दै र साहित्य ओढ्दा ओढ्दै चुहिरह्यो खरको छानू
घरबारे, सामाजिक प्राणी, मन न हो, बहलाउने म कसरी धाँनू ?
रातारात आकाश छुने महललाई पीपल चौतारीमा कि म बाँनू ?
जगतकै प्रिय रामायणका रचयिता ए ! भानु अब म के माँनू ?


फुच्चे भए पनि कृति राख्ने गरौं मरेर छ र आखिर के लाँनू ?
“खैके होला” भन्ने होईन, शुरु गरौ आफैंले भएर के भो र सानू
देख्दा सम्मान सुकर्मको, भन्नु नपरोस् है कहिल्यै हिर्काएर हानू
विकृति, विसंगति विरुद्धका आदि रानू ए ! भानु अब म के मानू ?

२०७७ आषाढ २९

लेखक: मालारानी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत हुनुहुन्छ ।