बलिउड अभिनेता अमिताभ र अभिषेकलाई कोरोना सङ्क्रमण

असार २८ – बलिउड अभिनेता अमिताभ बच्चनसँगै उहाँका  छोरा तथा अभिनेता अभिषेकलाई पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएपछि दुवैजनालाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिषेकले दुवैजनालाई कोरोनाको सामान्य लक्ष्यण देखिएको ट्वीटरमार्फत् जानकारी दिनुभएको छ । अहिले उहाँहरुका परिवारका अरु सदस्यकोसमेत  कोरोना परीक्षण भइरहेको छ । परिवारका सदस्यको रिपोर्ट भने आज आउने जनाइएको छ ।

अभिनेता अभिषेकले सबैलाई शान्त रहन र नआत्तिन आग्रह समेत गर्नभएको छ । अमिताभले पनि ट्वीटरमार्फत् गएको १० दिन भित्र आफ्नो सम्पर्कमा आउनेहरुलाई पनि कोरोनाको परीक्षण गराउन आग्रह गर्नुभएको छ । बलिउडका धेरै कलाकार र प्रशंसकहरूले अमिताभ र अभिषेक दुवैको शीघ्र स्वास्थ्य लाभ कामना गरेका छन् ।

मनसुन सुरु भएपछिको ३० दिनमा ८८ जनाको ज्यान गयो, ३५ जना अझै बेपत्ता

असार २८- मनसुन सुरु भएपछिको एक महिनामा विपद्का घटनामा ८८ जनाको ज्यान गएको छ । ३५ जना बेपत्ता रहेका छन् । मनसुनपछिको विपद्ले देशका १९ जिल्ला बढी प्रभावित भएका छन् ।

अहिलेसम्म म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लमजुङ, गुल्मी, झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला बढी प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

गएको जेठ ३० गते मनसुन सुरु भएपछिका ३० दिनमा ८८ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै म्याग्दीमा २७, पर्वत र जाजरकोटमा ९/९, बझाङ र कास्कीमा ७/७ जना, गुल्मीमा ५, पाल्पा र लमजुङमा ४/४ जना, सिन्धुपाल्चोकमा ३ जनाको ज्यान गएको प्राधिकरणको तथ्याङ्क छ । त्यस्तै रुकुम पश्चिम र दार्चुलामा २/२ जना, गोरखा, स्याङजा, बाग्लुङ, डोटी, सल्यान, कालिकोट, सुर्खेत, झापा र चितवनमा एक÷एक जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै भेलपहिरोले क्षति पुर्‍याएको छ ।

पर्वतको दुर्लुङमा जङ्गल माथिबाट भेलपहिरो खसेको थियो । बझाङ र गुल्मीमा पनि भेलपहिरोले क्षति गरेको प्राधिकरणले जनाएको छ । बझाङ र गुल्मी एक/एक जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै सिन्धुपाल्चोकमा २०, म्याग्दीमा ४, जाजरकोटमा ५ जना बेपत्ता रहेका प्राधिकरणले जनाएको छ । 

बझाङको कालंगा र बर्दियाको बबई नदीमा दुई/दुई गरी ४ जना बेपत्ता भएका छन् । तराईका विभिन्न जिल्लामा डुबान र कटानको समस्या रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । बेपत्ताहरूको खोजी र प्रभावितलाई राहत तथा पुनस्र्थापनको काम भैरहेको गृह मन्त्रालयले जनाएको छ ।source:ujyaaloonline