सलहको अर्को झुण्ड नेपालमा, प्युठान र अर्घाखाँचीमा क्षति गर्न सक्ने

असार २८, काठमाण्डौ – सलहको अर्को झुण्ड पनि नेपाल प्रवेश गरेको छ । बिहान साढे ९ बजेतिर दाङको गढवा गाउँपालिका हुँदै एउटा झुण्ड र दिउँसो एक बजेतिर राप्ती नगरपालिका हुँदै अर्को झुण्ड नेपाल प्रवेश गरेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । 

बिहान केहीबेर घाम लागेको बेला नेपालतर्फ प्रवेश गरेको सलहको झुण्ड दाङमा स्थानीयबासीन्दाले धपाएपछि त्यहाँ नबसी प्युठान र स्याङ्जातर्फ अघि बढेको तर अहिले कहाँ पुगेका छन् भन्ने थाहा नभएको सुवेदीले बताउनुभयो । 

दुई पटक गरी प्रवेश गरेको झुण्डमा अनुमानित १०/१२ लाखको सङ्ख्यामा सलह किरा रहेको उहाँले बताउनुभयो । सलहले प्युठान, अर्घाखाँची लगायतका अरु छिमेकी जिल्लाहरुमा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ । 

आज आएका झुण्डको साथै थप झुण्डसमेत नेपाल आउन सक्ने सम्भावना रहेकोले प्रदेश नम्बर ५, २ तथा १ का तराई र मध्य पहाडी क्षेत्रहरुमा पनि सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ । 

असारे भेल (कविता)

असारे भेल :

पिताम्बर बन्जाडे-

सफा पानी कतै बग्दैन अचेल ;

चलिरहेछ असारे दर्के झरीको भेल ।

सुरक्षित वस्तिका लागि ; हेर्नलायक पनि छ अचेल ।

निम्छरा वस्तिहरूका लागि ; कालसर्प जस्तै बग्दै छ यो भेल ।

सालवसाल आइरहन्छ असारे भेल ;

नीतिनिर्माताहरू हिउँदभरि सुतीरहन्छन्

असारका जुकाहरूसंगै जाग्छन् अचेल ।

कति वस्तिहरू उजाडिए ;

कति वस्तिहरू च्यापिए ;

कति निर्मम् ! भयो ?

असारे दर्के झरीको भेल ।

के पहाड , के खोंच , के मैदान ;

उस्तै सकस छ यो भेल ; कतै पैरो,कतै डुबान , कतै कटान् ;

सवैतिर उस्तै त्रास छ अचेल । पति पत्नीको वियोग बनाउछ यो भेल ;

आमा र सन्तानको माया चुडाउँछ यो भेल ;

उफ् ! सम्झन पनि सक्दिन म त अचेल ।

चलिरहेछ असारे दर्के झरीको भेल ।

गाउँ च्यापिएपछि , वस्ति डुवेपछि ;

आकाशमा गिध्द र वस्तिमा श्यालहरू ; रिंदैछन् अचेल ।

न बस्ने बास छ , न खाने गास छ ।

सर्प , बिच्छी ,लामखुट्टे र झिंगाको ; मात्र बिगबिगी छ अचेल ।

धमिलो पानीमा माछा मार्ने ; निशाचरहरू खेल्छन् अनेक खेल ।

चलिरहेछ असारे दर्के झरीको भेल । चलिरहेछ असारे दर्के झरीको भेल ।

अस्तु:

लेखक- बाङमय अर्घाखाँचीको अध्यक्ष एवं शिक्षा प्रेमी व्यक्तित्व हुनुहुन्छ

अहिलेकै अवस्थामा गाडी नचलाउने व्यवसायीको अडान, समस्या समाधानको लागि कार्यदल गठन

असार २८, काठमाण्डाै  – यातायात व्यवसायीले अहिलेकै अवस्थामा गाडी चलाउन नसक्ने अडान राखेका छन् । सरकारले सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरेको तीन दिन भैसक्दा पनि यातायात व्यवसायीले गाडी चलाएका छैनन् ।

यातायात व्यवसायी तथा यातायात मजदूरले यातायात क्षेत्रका श्रमिकको स्वास्थ्यलाई पनि ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले श्रमिकको आधारभूत स्वास्थ्य र सुरक्षाका विषयमा यातायात व्यवसायीका न्यूनतम मागलाई सम्बोधन नगरीकन सरकारले यातायात सञ्चालन गर्ने निर्णय गरेकाले यथास्थितिमा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नसकिने बताउनुभएको छ ।

लकडाउनपछिको अवस्थामा सार्वजनिक सवारीसाधन सञ्चालन विधि र प्रक्रियाका बारेमा छलफल चलिरहेको बेला सरकारले सार्वजनिक गाडी सञ्चालन गर्ने निर्णय गरेपछि अन्योल भएको उहाँको दावी छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात मजदूर सङ्घ, अखिल नेपाल यातायात मजदूर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले संयुक्त रुपमा सवारी सञ्चालन कार्यविधि बनाएर सार्वजनिक गाडी चलाउनुपर्ने निर्णय गरेका छन् ।

त्यस्तै सरकारसँग आवश्यक छलफल गरी समस्या समाधान गर्नका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य र तीनवटै मजदूर सङ्गठनका अध्यक्ष समेत रहेको कार्यदल गठन गरेको छ ।

सरकारले गएको बिहीबार बाहिरी जिल्लामा एक जिल्लाभित्रै र काठमाण्डौ उपत्यकाका तीन जिल्लालाई एक जिल्ला मानेर गाडी चलाउन पाइने निर्णय गरेको हो । कार्यदलले लामो तथा छोटो दूरीमा चल्ने गाडी सुरक्षित रूपमा सञ्चालन गर्न आवश्यक पहल गर्ने महासंघका महासचिव सिटौलाले बताउनुभयो ।source:ujyaaloonline

अर्घाखाँचीमा जोर विजोर प्रणालीबाट सवारी साधन चल्ने, ५० प्रतिशतसम्म बढी भाडा असुल्न पाउने

 आषाढ २८,  अर्घाखाँची – अर्घाखाँची जिल्लामा ५० प्रतिशतसम्म  भाडा असुल्न पाईने गरी जोर विजोर प्रणालीबाट सवारी साधन चल्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अबदेखि ५० प्रतिशतसम्म  भाडा असुल्न पाईने गरी जोर विजोर प्रणालीबाट सवारी साधन चल्न दिने भएको हो । ट्याक्सी बाहेक जोर विजोर प्रणालीबाट चल्ने सवारी साधनले थप ५० प्रतिशतसम्म भाडा लिन सक्नेछन् । यस्तै निजी सवारी साधनमा चालक बाहेक २ जना बस्न पाउनेछन् भने एकै परिवारका ५ जनासम्म बस्न पाउने भएका छन् । साथै जिल्लाभित्र मात्र जोर विजोर प्रणालीबाट मोटरसाइकल चल्न पाउनेछन् ।


सार्वजनिक सवारी साधनमा १ सिट छोडेर क्षमताको ५० प्रतिशत यात्रु रहने गरी मास्क अनिवार्य गरी चलाऊन सकिनेछ । 
उता जिल्ला बाहिर जान र आउन पहिला कै जस्तै पास लिनुपर्ने छ । साथै काठमाडौं जान स्थानिय निकाय वा प्रशासनको पास लिनुपर्ने छ । source:arghakhanchi.com   

छत्रदेवमा क्वारेन्टाइन र आइशोलेसनको अनुगमन

सन्धिखर्क एफएम असार २८ अर्घाखाँची- छत्रदेब गाउँपालिकामा रहेका क्वारेन्टाइन र आईशोलेसनहरुको प्रदेश सांसद तथा जिल्ला समन्वय समितिको टिमले अनुगमन गरेको छ ।
गाउँपालिका भित्र कोरोना रोग र यसले पारेको प्रभाव, कोरोना संक्रमित , संक्रमितका परिवारको अबस्था, क्वारेन्टाइनमा बसेकाहरुको अबस्था, आइशोलेस तथा कोरोनाले समग्र बिकास निर्माणमा पारेको प्रभावका बारेमा अनुगमन मार्फत जानकारी लिएको हो ।

अनुगमनमा प्रदेश सांसदहरु चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे , निर्मला क्षेत्री , जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्मा , उपप्रमुख ऋषिबहादुर पुलामी , जिल्ला समन्वय अधिकारी शंकर भुसाल , लगायतको टिमले जानकारी लिएको हो ।
पालिका भित्र रहेका क्वारेन्टाईन , आईशोलेसन, कोरोना संक्रमित र समग्र कोरोनाको अबस्थाको बारेमा छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, उपाध्यक्ष तुलसादेवी श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल लगायतले जानकारी गराउनु भएको थियोे ।