भारतलाई प्रेस काउन्सिलको पत्र : भ्रामक र उत्तेजित सामग्री दिने मिडियालाई कारबाही गर्न आग्रह

 असार २६, काठमाण्डाै – नेपाल प्रेस काउन्सिलले प्रेस काउन्सिल अफ् इण्डियालाई पत्र लेखेर नेपाल सरकार र प्रधानमन्त्रीमाथि लगाइएका आपत्तिजनक आरोप र सामग्रीप्रति आपत्ति जनाएको छ । भारतीय सञ्चारमाध्यमहरुले नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओली विषयमा चरित्रहत्या गरिरहेको भन्दै उनीहरुलाई कारबाही र आचारसंहिताको दायरामा ल्याउन पत्रमार्फत आग्रह गरिएको छ ।

काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले प्रेस काउन्सिल अफ् इण्डियाका प्रमुख चन्द्रमौली कुमार प्रसादलाई पत्र लेखेर नेपालको सार्वभौमसत्ता र अखण्डता तथा प्रधानमन्त्रीको व्यक्तित्वमाथि गम्भीर आक्रमण भइरहेको भन्दै त्यहाँका सञ्चारमाध्यमलाई आचारसंहिता पालना गराउन आग्रह गर्नुभएको छ । भारतीय सञ्चारमाध्यमको रवैयाका कारण नै नेपालमा भारतीय समाचार च्यानलको प्रसारण बन्द भएको पनि काउन्सिलले जनाएको छ ।  भारतीय च्यानल जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालकाे लागि चिनियाँ राजदूत होउ यान्छीबीचको सम्बन्धबारे भ्रामक र आपत्तिजनक सामग्री प्रसारण गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ ।  

सङ्क्रमणको दर घट्यो, एक हप्तायता दैनिक औसत १ सय ९८ जनामा कोरोना पुष्टि

 असार २६,काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय १८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । थप एक सय १८ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार ६ सय ४९ पुगेको छ । अहिलेसम्म आठ हजार ११ जना निको भएर घर फर्किएकाेले आइसाेलेशनमा रहेका सक्रिय सङ्क्रमितकाे सङ्ख्या आठ हजार ६ सय तीन ३ रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक सय २० जना डिस्चार्ज भएका हुन् । 

पछिल्लो सात दिनमा सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । १९ गते सात सय २० जनामा कोरोना देखिएको थियो ।  २० गते दुई सय ३२ जनामा, २१ गते दुई सय ९३ जनामा, २२ गते एक सय ८० जनामा, २३ गते दुई सय चार जनामा, २४ गते दुई सय ५५ जनामा, २५ गते हिजो एक सय आठ जनामा  र आज एक सय १८ जनामा मात्रै कोरोना पुष्टि भएको छ ।

यस्तै ६ जिल्ला कोरोनामुक्त भएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभएकाे छ । धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा सक्रिय सङ्क्रमित नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार पीसीआर विधिबाट चार हजार आठ सय ६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म दुई लाख ७५ हजार नाै सय ५१ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. गाैतमले बताउनुभयो । 

अहिलेकै अवस्थामा सार्वजनिक गाडी चलाउन सक्दैनौ-नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ

 असार २६,काठमाण्डौ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अहिलेकै अवस्थामा सार्वजनकि गाडी चलाउन नसकिने बताएको छ । सरकारले आवश्यक सुरक्षा अपनाएर छोटो दुरीका यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै महासङ्घले अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न नसकिने बताएको हो । महासङ्घको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लकडाउनपछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुनर्विचार गर्नुपर्ने लगायतका माग पूरा नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय गरेको छ । 

लकडाउनको एक सय १० दिनसम्म पार्किङमा रहेका गाडी निकाल्दा सर्भिसिङमा मात्रै ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुने अवस्था भएकाेले पुनर्कर्जाकाे व्यवस्था गर्नुपर्ने महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताउनुभयो । चालक र सहचालकका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कोरोना बीमा गर्नुपर्ने उहाँले बताउनुभयो । भाडा बढाएर गाडी सञ्चालन गर्नु अहिलेको समस्यामा समाधान नभएकाेले दैनिक सञ्चालन खर्च उठ्ने र बैंक किस्ता तिर्न पुग्ने गरी उपदानको व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो ।

सरकारले जिल्लाभित्र मात्रै सञ्चालन गर्ने गरी सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तो अवस्थामा प्रचलित भाडादरमा ५० प्रतिशत बढी रकम लिन पाउने व्यवस्था पनि सरकारले गरेको थियो ।source:ujyaaloonline 

आत्महत्याका भिडियो फेसबुकमा सेयर गर्नु’भो? कारवाहीमा परिएला ,आत्महत्या दुरूत्साह मुद्दा चलाउने प्रहरीको चेतावनी

असार २६, २०७७ काठमाडौं : आत्महत्या गरिएको भिडियो फेसबुकसहितका सामाजिक सञ्जालमा सेयर गर्नेलाई प्रहरीले कारवाही गर्ने भएको छ। आत्महत्याका भिडियोहरू फेसबुकसहितका सामाजिक सञ्‍जालमा अपलोड गर्ने क्रम बढेपछि प्रहरी प्रधान कार्यालय कारवाही थाल्ने जनाएको हो।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गरी सार्वजनिक नैतिकता एवम् शिष्टाचारविरुद्ध, समाजमा घृणा फैलाउने तथा मानसिक पीडामा रहेका व्यक्तिलाई आत्महत्या दुरुत्साहन गर्ने भएकोले त्यस्तो गतिविधि गर्नेमाथि कारवाही अघि बढाउने जनाएको हो। समयमै सूचना प्राप्त भएको अवस्थामा यस्ता प्रकृतिका घटना कतिपय घटनामा सम्बन्धित सामाजिक सञ्जाल लगायत अन्य व्यक्ति एवम निकायसँग सहयोगमा त्यस्ता व्यक्तिहरुको उद्बार गर्न सकिने पनि साइबर ब्यूरोले जनाएको छ।

‘यदि त्यस्तो गर्न खोजेको अवस्थामा नागरिकसँगको समेत समन्वयमा उनीहरुको जीवन रक्षा गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ,’ विश्व्यापी कोरोना भाइरसका कारण नेपालसमेत आक्रान्त भइरहेका बेला मानसिक तनावसहित कारणबाट आत्महत्याका घटना बढ्दै गइरहेको सन्दर्भमा आत्महत्या गर्ने व्यक्तिले फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत मृत्युकालीन अवस्थाको लाइभ गर्दै आत्महत्या गरेको सार्वजनिक भइरहेका छन्। यस्ता गतिविधिका भिडियो कसैले पनि सेयर गर्ने, प्रतिक्रिया जनाउने र अपलोड गर्ने गरेको पाइएमा कानुन अनुसार कारवाही हुनेछ।’
source:thahakhabar.com

भारतीय पत्रकार सुधीर चाैधरीले नेपालीसँग माफी माग्दै ट्वीट हटाए

असार २६,काठमाण्डौ – भारतीय न्युज च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालबारे गरेको विवादास्पद ट्वीट हटाउँदै माफी मागेका छन् । 

पछिल्लो केही हप्तायता भारतीय सञ्चारमाध्यममा नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सामग्रीहरु प्रसारण भइरहेको छ । नेपाल र प्रधानमन्त्री ओलीलाई जोडेर भारतीय सञ्चारमाध्यमले भ्रामक प्रचार गरेको भन्दै नेपालका लागि विदेशी च्यानल वितरकले भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय गरेका थिए । 

त्यो निर्णयको केही बेरपछि जी न्युजका प्रधान सम्पादक चौधरीले विवादास्पद ट्वीट गरेका थिए । उनले ट्वीट गर्दै नेपाल भारतका समाचार प्रस्तोतासँग डराएको र सेनाको त आवश्यकता नै नरहेको जनाएका थिए । यस्ताे थियाे उनकाे ट्वीट–

आफ्नो ट्वीटले नेपाली दर्शकमाथि चोट पुगेको भन्दै चौधरीले ट्वीट हटाउँदै माफी मागेका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘मेरो यसअघिको ट्वीटले नेपालका हाम्रा दर्शक दुःखी भएका छन् । भारतमा पनि मलाई धेरै जनाको यो विचार सही नभएको बताएका छन् । मैले आवेगमा आएर अनावश्यक प्रतिक्रिया दिएको हुन सक्छु । यसकारण म खेद प्रकट गर्दै ट्वीट हटाउँदैछु ।’

source:ujyaaloonline