जिल्लाभित्र सार्वजनिक गाडी चल्न दिने सरकारको निर्णय, मास्क अनिवार्य

असार २५,काठमाण्डाै – सरकारले एक जिल्लाभित्र सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरेकाे छ ।  मन्त्रिपरिषद्को बैठकले एक जिल्लाभित्र मात्रै चलाउन पाउने गरी सार्वजनिक गाडी चल्न दिने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना मन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।

बाहिरी जिल्लामा एक जिल्लाभित्रै मात्रै गाडी चल्न दिने र काठमाण्डौ उपत्यकाका तीन जिल्लालाई एक जिल्ला मानेर गाडी चलाउने पाइनेछ । दुरी कायम गरेर सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने भएकाले गाडीले ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने छन् । 

सबै यात्रुले मास्क प्रयोग गर्नैपर्ने र ढोकामा स्यानिटाइजर राख्ने र चालक तथा सहचालकले मास्क, भाइजर पञ्जा लगाउनै पर्ने सरकारले निर्णय गरेको हो । यस्तै दुई जना मात्रै बोकेर ट्याक्सी पनि चल्न पाउने भएका छन् । 

मास्क नलगाउने २१ जनालाई प्रशासन लगाइयो, १०० रुपैयाँ तिरेर छुटे

असार २५, २०७७ पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले गृह मन्त्रालयको निर्देशन उल्लङ्घन गरेको भन्दै २१ जनालाई कारबाही गरेको छ। कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित रहन हरेक व्यक्तिले घरबाट बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम जारी गरिएपनि बजारमा मास्क नलगाई हिँडेको भेटेपछि उनीहरूलाई नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए। नियन्त्रणमा लिइएकाहरूमा मास्क प्रयोग नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई न्यूनतम २ मिटरको सामाजिक दुरी कायम नगरेकाहरूसमेत रहेको हमालले जानकारी दिए।

नियन्त्रणमा लिइएकाहरूलाई संक्रामक रोग ऐन, २०२० अनुसार जिल्ला प्रशासन कार्यालयमा बुझाइएकामा कारबाही स्वरूप जनही १०० रुपैयाँका दरले जरिवाना गरेर छाडिएको छ। कोरोना सङ्क्रमणको थप जोखिम बढ्दै गएपछि सतर्कताका लागि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी इकाई मार्फत माइकिङ र सम्झाई-बुझाई गर्दै आएको, तर २१ जनाले प्रहरीलाई अटेर गरेपछि नियन्त्रणमा लिनुपरेको डिएसपी हमालको भनाई छ। कास्की प्रहरीका अनुसार जिल्लावासीलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्न, न्यूनतम सामाजिक दुरी कायम गर्न र अनावश्यक जमघट नगर्न समेत अनुरोध गरिएको छ।

प्रहरीको अनुरोध नमान्ने तथा गृहको आदेश उल्लङ्घन गर्ने जो-कोहीलाई पनि संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही प्रहरीले जानकारी दिएको छ। गृह मन्त्रालयले मङ्गलबार मात्रै प्रहरी प्रधान कार्यालयलाई मास्क नलगाई हिँडडुल गर्नेमाथि कारबाहीका लागि निर्देशन दिएको थियो ।
यसअघि मास्क नलगाइ हिँड्ने ६४ जनालाई सिरहा प्रहरीले पक्राउ गरी कारबाही गरेको थियो ।

सिन्धुपाल्चोक पहिरो अपडेट : दुईको शव फेला, १८ बेपत्ता

असार २५, २०७७ सिन्धुपाल्चोक :  सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका आएको पहिरोमा परी १८ जना बेपत्ता भएका छन्। भने दुई जनाको शव फेला परेको छ। ठूलो पहिरो गएको छ, १८ जना बेपत्ता भएको सूचना आएको भएपनि एकिन गर्न सक्ने अवस्था नरहेको बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले बताए। ‘अहिले जम्बोमा जान लागेको छु, घटनास्थल जान सक्ने अवस्था छैन, उनले भने, ‘जुरे, बाह्रबिसे लगायतको क्षेत्रमा पनि बाटो अवरुद्ध छन्, पुल बगाएको छ।’ पहिरोले कति घर पुरिए भन्ने अनुमान गर्ने अवस्था नभएकाे शेर्पाको भनाइ छ। 
source:thahakhabr

आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने भएकाले सतर्क रहन आग्रह

असार २५, काठमाण्डाै – आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालय अन्तरर्गतको  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको हो ।  प्राधिकरणका अनुसार आजदेखि आइतबारसम्म प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ । पहाडी क्षेत्रमा साना खोला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जान सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । 

भोलिदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, वग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्न सक्छ । विषेशगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई  थप सर्तक रहन सूचनामार्फत आग्रह गरिएको छ ।झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुबानको खतरा रहेको पनि प्राधिकरणले जनाएको छ ।  

ठूला नदीमा आउने बाढीबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ तथा आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ उपलब्ध हुने जनाएको छ ।  
यसैबीच अबको चार दिन अहिलेसम्मकै धेरै पानी पर्ने भन्ने कुरा गलत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष मनसुन सुरु भएदेखि नै राम्ररी पानी परिरहेको र आजदेखि मनसुन थप सक्रिय मात्रै हुने महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।

 लगातार पानी परिरहेकाले हिजो अस्तिदेखि नै बाढी, पहिरो र डुबान भइरहेको र मनसुन थप सक्रिय हुँदा अझै सतर्कता अपनाउन मात्र आग्रह गरिएको उहाँको भनाई छ ।