भोली देखि सन्धिखर्क –घुम्ति सडक खण्ड आंशिक रुपमा बन्द हुने

श्याम घिमिरे
अर्घाखाँची,असार २३-

सन्धिखर्क गोरूसिङ्गे सडक खण्ड असार २४ गते देखि आंशिक रुपमा बन्द हुने भएको छ । सो सडकखण्ड अन्तर्गत सन्धिखर्क देखि घुम्तिसम्मको मोड सुधार र सडक विस्तार गर्नको लागि भोली देखी अर्को सुचना जारी नहुँदा सम्मकोलागी बिहान ८ बजे देखि १२ बजे सम्म र दिउँसो २ बजे देखि साँझ ६ बजे सम्म सवारीसाधन आवागवन बन्द हुने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सडक डिभिजन कार्यालय शिवपुरको अनुरोधमा मंगलबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वपक्षिय बैठकले सवारीसाधन आवगवनमा रोक लगाइएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो ।

यस्तै बैठकले एम्बुलेन्स, अति सिकिस्त बिरामि बोकेका सभारी साधन,सुरक्षाकर्मी रहेका सभारी साधन, दमकल,शवबहान गाडी र शुभविवाहको गाडीमा ५ जना सम्मकोलागि भने सडक सुचारु गर्ने निर्णय गरेको छ ।

नेकपा नेता खनालसँग चिनियाँ राजदूतको भेट

 असार २३, काठमाण्डाै – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेट गर्नुभएको छ ।उहाँहरुबीच खनाल निवास डल्लुमा बिहान भेटवार्ता भएको हो । सत्तारुढ नेकपाभित्र विवाद बढिरहेको बेला चिनियाँ राजदूतले केही दिनदेखि नेताहरुसँगको भेटलाई तिव्रता दिनुभएको छ । यसअघि आइतबार उहाँले नेकपाका वरिष्ठ नेता माधकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो ।

सरिता गिरी समाजवादी पार्टीबाट निष्काशित, सांसद पद पनि गयो

असार २३, २०७७ काठमाडौं : समाजवादी पार्टीकी सांसद सरिता गिरिलाई सांसद र पार्टी दुवै पदबाट निस्कासन गरिएको छ। आज बसेको समाजवादी पार्टीको बैठकले सरिता गिरिलाई पार्टीको ह्वीप नमानेको भन्दै यस्तो कारबाही गरेको हो। 

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेपछि समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। त्यही कार्यदलले गिरिलाई कारबाही गर्नका लागि पार्टीमा सिफारिस गरेको थियो।  

समाजवादी पार्टीका विश्‍वदीप पाण्डेले संसद पदबाट र पार्टीको साधारण सदस्य पनि नरहने गरी निस्कासन गरिएको पुष्ट गरे।  ‘पार्टीको ह्वीप उल्लंघन गरेको कारणले पार्टीले उहाँलाई कारबाही गरेको छ,’ पाण्डेले थाहाखबरसँग भने, ‘सांसद पदबाट पनि र पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गर्ने निर्णय भएको छ।’  जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो।

संसदमा बोल्न सभामुख अग्नि सापकोटाले नदिएपछि उनी बैठक चलिरहँदा बाहिरिएर नेपाल विरोधी अभिव्यक्तिहरु दिँदै आएकी छन्। गिरिलाई कारबाही गरिएको बारे अब निर्वाचन आयोगलाई जानकारी गराउने तयारी समाजवादी पार्टीको छ।  source:thahakhabar

ओली–प्रचण्डकाे छलफल सकियाे, भाेलि फेरि वार्ता हुने

असार २३, काठमाण्डाै – पछिल्लाे समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवादमा अल्झिएकाे छ । यही विवादमा सहमति खोज्न प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबारकाे छलफल सम्पन्न भएको छ । 

नेकपामा आन्तरिक विवाद बढेपछि यही असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि केही दिन बैठक स्थगन गरी असार २१ गतेका लागि तोकेकामा पुनः स्थगन भइ यही असार २४ गतेका लागि तोकिएको छ । अध्यक्षद्वयबीच असार १९ गते अन्य केही नेतासहित भएको छलफल सकारात्मक भएपछि दैनिकजसो भेटवार्ता चलिरहेको  छ ।

झण्डै तीन घण्टा लामो चलेको वार्ता सकारात्मक भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो । दुई अध्यक्षबीच बुधबार बिहान फेरि वार्ता हुने उहाँले जानकारी दिनुभयो । भोलि बिहान ११ बजे नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दैछ ।

यही असार १० गतेदेखि सुरु भएकाे स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेता भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो । यी नयाँ विषयले पूर्वानिर्धारित कार्यसूची प्रभावित हुँदै आएका छन् ।

साथै यही असार १८ गते सरकारले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएको विषय पनि नेकपामा विवादित बनेको छ । संसद् नभएको स्थितिमा राजनीतिक दलसम्बन्धी खारेज भएको अध्यादेश पुनः ब्यूँतने संशय पैदा हुँदा अहिले त्यस्तो योजना नरहेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको छ । अध्यक्ष दाहालले पनि राष्ट्रपतिसँगको भेटमा परामर्शविना कुनै अध्यादेश जारी नगर्न आग्रह गर्दै आउनुभएको छ । 

यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेबापत सरकार हटाउन भारतीय पक्ष र देशभित्रैबाट पहल भए पनि नक्सा छापेबापत सरकार परिवर्तन हुने नेपालको राष्ट्रियता त्यति कमजोर नभएको अभिव्यक्ति दिनुभएको थियो । स्थायी कमिटीमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसीसीलगायत कार्यसूची छन् । source:ujyaaloonline

कोरोना संक्रमित १६ हजार नाघे, मंगलबार थपिए २ सय ४ जना

असार २३, २०७७ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर  २ सय ४ जना  कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा ६ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए। आज मात्र कोरोना संक्रमितबाट निको भएर डिस्चार्ज हुने ६ सय ८८ जना रहेका छन्। हालसम्म कोरोना जित्नेको  संख्या ७ हजार ४ सय ९९ रहेका छन्।