‘नेकपा एजेन्डाभन्दा सरकार परिवर्तनमा केन्द्रित भयाे-पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

असार २१, २०७७ काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्वीकार्य नहुने स्पष्ट पारेका छन्।  पार्टीभित्रको विवाद समाधान लागि शीर्ष नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नभएको उनको भनाइ छ। आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले नेकपाभित्रको विवादबारे सारा नेपाली जनता, नेकपाका नेता÷कार्यकर्ताहरुले चासो र चिन्ताका साथ हेरिरहेको पनि सुनाए। 

उनले पार्टीभित्र अहिले देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृृद्धिको एजेण्डाभन्दा शक्ति बाँडफाँटमा बढी केन्द्रित रहेको स्पष्ट पारे। उनले भने, ‘अहिले नेकपाभित्रको विवाद खासगरी पावर सेयरिङमा सम्बन्धित छ। यही विषयले उचाइ लिइरहेको छ। अहिलेको बहस एजेण्डामा भन्दा पनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित रहेको छ।’ 

रायमाझीले लामो समयपछि नेपाली जनताले दुई तिहाई बहुमत दिएर मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र विकास र समृद्धिको एजेण्डालाई अघि बढाउन नेकपालाई सरकारमा पठाएको सुनाउँदै सोहीअनुसार नेकपा र यसको नेतृत्वमा रहेको सरकार खरो रूपमा उत्रिनुपर्नेमा जोड दिए। ‘दुई तिहाईको सरकार बनेपछि जनतामा यो सरकारप्रति अपेक्षा बढ्नु स्वाभाविक हो। हामीले जनताका चाहनाबमोजिम राम्रो काम गर्न सक्ने अवसर थियो। तर, हामीले जनताका अपेक्षा पूरा गर्नेगरि काम गरेनौं,’ उनले भने। source:thahakhabar

भारतमा बन्यो सुनको मास्क

असार २१, २०७७ भारतको महाराष्ट्र राज्यमा एक जनाले सुनको मास्क बनाएका छन्। भारतको पुनेका शंकर कुराडेले ३ लाख रुपैयाँको लगानीमा सुनको मास्क बनाएका हुन्। सुनको मास्क लगाएर हिँड्ने उनलाई सहरमा उनलाई ‘गोल्डम्यान’ भन्न थालिएको छ।  मास्कमा साढे पाँच तोला सुन लागेको छ। मास्कमा श्वास फेर्नका लागि स–साना प्वाल  बनाइएको छ। सुनका सौखिन एवं दैनिक तीन तोला बरारको सुनका सामग्री चेन, अगौठी र ब्रासलेट लगाएर हिँड्ने शंकरले सुनारसँग सम्पर्क उनले सुनको पनि मास्क बनाए। उनको मास्क एक हप्ता लगाएर बनाइएको हो। शंकरले कसैलाई सुनको मास्क बनाउन परे आफूले सहयोग गर्ने पनि बताएका छन्। source:thahakhabar

काठमाडौंमा एकै दिन भेटिए २७ जना कोरोना संक्रमित ,ललितपुरमा २ जना र भक्तपुरमा एकजना भेटिए

असार २१, २०७७ काठमाडौं : संघीय राजधानी काठमाडौं विस्तारै कोरोना संक्रमणको जटिल मोडतर्फ प्रवेश गर्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं जिल्लामा मात्रै अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्।  मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमका अनुसार आइतवार काठमाडौंमा मात्रै २७ जना कोरोना संक्रमित भेटिएका हुन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जको पिसिआर ल्याबमा गरिएको परीक्षणबाट २१ जना संक्रमित भेटिएका गौतमले बताए।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप ५ जना संक्रमित भेटिएका छन्। उनका अनुसार वीर अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका अर्का एकजना संक्रमित भेटिएका छन्।  त्यसैगरी त्रिवि शिक्षण अस्पालको ल्याबमै गरिएको परीक्षणमा भक्तपुरका १ जना र ललितपुरका दुईजनामा पनि संक्रमण भेटिएको छ। काठमाडौं उपत्यका यति धेरै संख्यामा पहिलो पटक संक्रमितहरु भेटिएका हुन्। 

पछिल्लाे २४ घण्टामा २९३ जनामा काेराेना पुष्टि,सङ्क्रमितको सङ्ख्या १५ हजार सात सय ८४

असार २१, काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार पाँच सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप दुई सय ९३ जनामा सङ्क्रमण देखिएपछि नेपालमा सङ्क्रमितको सङ्ख्या १५ हजार सात सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।सङ्क्रमितमध्ये ६ हजार पाँच सय ४७ जना निको भएर घर फर्किएकाे र ३४ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयाे । त्यस्तै अहिले आइसाेलेशनमा रहेका सङ्क्रमितकाे सङ्ख्या नाै हजार दुई सय तीन छ । 

राष्ट्रपतिलाई महाभियोग लगाउने कुरा झुठो : नारायणकाजी श्रेष्ठ

असार २१, काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव झुटो प्रचार भनेका छन्।   प्रवक्ता श्रेष्ठले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटा प्रचार कसैले नगरौं। राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं।’

राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो भन्दै श्रेष्ठले यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतान्न आग्रह गरेका छन्। उनले महाअभियोग ल्याउने प्रस्तावको झुठो प्रचारमा राष्ट्रपति स्वयंको पनि ध्यान जाने विश्वास व्यक्त गरेका छन्। उनले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह पनि गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको  भनेका थिए।