श्याम घिमिरे असार १३, २०७७ – अर्घाखाँचीमा सुक्रबार थप ३ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको पाणिनि गाउँपालिकामा आज ३ जना कोरोना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २ सय ५४ पुगेको छ । पाणिनीको पालीमा २ र पोखराथोकमा १ जना गरि ३ जनाको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । २ सय ५४ जना संक्रमित मध्ये भुमिकास्थान र शितगंगा नगर तथा मालारानी गाउँपालिकामा एक–एक जना गरि ३ जनाको ज्यान गएको छन् ।
यस्तै सन्धिखर्क नगरपालिकामा २९, शितगंगा नगरपालिकामा १५,पाणिनी गाउँपालिकामा ३ र छत्रदेव गाउँपालिकामा १ जना गरि अर्घाखाँचीमा हाल सम्म ४८ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । आज थपिएका ३ जना संगै जिल्लामा सबैभन्दा बढि ७३ जना संक्रमित भुमिकास्थान नगरपालिकामा मात्रै भेटिएका छन् । यस्तै दोस्रो मालारानी गाउँपालिकामा संक्रमितको संख्या ६७ पुग्दा शितगंगा नगरपालिकामा ४५,सन्धिखर्क नगरपालिकामा ३९,छत्रदेव गाउँपालिकामा १८ र पाणिनी गाउँपालिकामा १२ जना गरि जिल्लाभर कुल संक्रमितको संख्या २ सय ५४ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जारि गरेको प्रेस नोटमा उल्लेख छ । यसैविच अर्घाखाँचीमा आज सम्म १ हजार १ सय १२ जना क्वारेन्टाईनमा बस्दैआएका छन् ।
गत जेठ महिनासम्म क्वारेन्टाइनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारतबाट आउनेमा कमी तथा डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १ हजार १ सय १२ मा झरेको हो । गएको २४ घन्टामा जिल्लाका ५ वटा पालिकाबाट ४ सय जना क्वारेन्टाईनबाट डिस्चार्ज भएका छन् । यस्तै आज दिउँसो ३ बजेसम्ममा भुमिकास्थानमा २५ र सन्धिखर्क नगरमा ४ गरि २९ जना भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टाइन स्थापना गरि जिल्ला बाहरिबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गर्दै आएका छन् ।