श्याम घिमिरे
असार ११ अर्घाखाँची –
अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बिहिवार सदरमुकाम सन्धिखर्कमा बिरोध सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दे राजमो अर्घाखाँची अध्यक्ष थम्मन केसीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता देखाउने दाँत मात्रै भएको र असली दाँत आइपीएस भएको बताउनुभयो । आइपीएस भारत र अमेरिकाको प्रोजेक्ट हो, हाम्रो राष्ट्रियता, सार्बभौमीकता र असंलग्न परराष्ट्र नीति पैसासित साटिन्न, हामी कहिल्यै गुलाम भएनौँ र एमसीसी मार्फत पनि गुलाम हुने छैनौँ । स्वयंम प्रधानमन्त्री केपी शर्मा ओलीकै पार्टीले पनि भनेको छ, कि एमसीसी जस्ताको त्यस्तै पास गरेर जाने हो भने नेपालको ऐन, कानुन र संबिधान भन्दा माथि जान्छ । जसले राष्ट्रियता, सार्वभौमिकता माथि हस्तक्षेप हुन्छ ।’
अध्यक्ष केसीले एमसीसी परियोजनाको सम्पुर्ण बौद्धिक सम्पत्ति अमेरिकाको हुने, परियोजना निर्माण पछिको सक्कली डकुमेण्ट अमेरिकालाई बुझाउनु पर्ने, लेखा रिपोर्ट नेपालले गर्न नपाउने, एमसीसीको प्रावधानमा अमेरिकी सुरक्षा नीति र सुरक्षा नीतिको प्रतिकुल भएमा परियोजना खारेज हुने, अमेरिकी हित विपरित भए स्वतः खारेज हुने, परियोजनाको बुँदासंग नेपालको कानुन बाँझिएमा नेपालको कानुन खारेज हुनेजस्ता प्रावधानले एमसीसी राष्ट्रहित विपरित भएको बताउनुभयो । नेपालमा पछिल्लो समय नेकपा मसाल लगायतका दलहरुले एमसीसीको परियोजना नेपालको हितमा नभएको भन्दै विरोध गर्दै आईरहेका छन ।