पाल्पामा दुईवटा गाडी पहिरोमा पुरिए, दुईजनाको मृत्यु, एकको उद्धार,घटनास्थलमा उद्धारका लागि पुगे सुरक्षाकर्मी

असार ८, २०७७ पाल्पा :  पाल्पामा सोमबार बेलुकी पहिरोले दुईवटा गाडी बगाएको छ। पाल्पा-गुल्मी सडकखण्डको तानसेन ११ बन्दीपोखरास्थित सम्मोबारीमा पहिरोले एउटा ट्रक र एउटा ट्यांकर पुर्दा दुईजनाको मृत्यु भएको छ भने एकजनाको उद्धार गरिएको छ। कम्तीमा दुईवटा गाडी पहिरोमा परेको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। 

अविरल वर्षासँगै आएको पहिरोले गाडी बगाएको हो। उनका अनुसार एउटा ती गाडी क्षतविक्षत अवस्थामा छन्। एउटा गाडी भीरमा अड्किएको अवस्थामा छ। गाडी भएको ठाउँमा समेत पुग्‍न कठिन भइरहेको छ। घटनास्थलबाट दुईजनाको शव भेटिएको छ भने एकजनालाई घाइते अवस्थामा उद्वार गरिएको छ। अहिले नेपाली सेना, नेपाल प्रहरी र स्थानीय उद्वारमा जुटिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। गाडी भएको ठाउँमा पुग्‍न नसकिएको उनले बताए। माथिबाट ढुंगासहितको पहिरो खस्ने क्रम नरोकिएकोले उद्वार कार्यमा कठिनाई भएको उनले बताए। घटनाबारे थप विवरण आउन बाँकी छ। source:thahakhabar.com


गोरूसिङ्गे–सन्धिखर्क सडक तीन दिनदेखि अवरुद्ध


श्याम घिमिरे
असार ८ अर्घाखाँची-

लगातार परेको अविरल वर्षाका कारण पहिरोले अवरुद्ध गोरूसिङ्गे–सन्धिखर्क सडकखण्ड तीन दिनदेखि सञ्चालनमा आउन सकेको छैन । लगातार परेको अविरल वर्षाका कारण सडक खण्डको बिभिन्न स्थानमा पहिरो जाँदा सडक अबरुद्ध भएको हो । सडकखण्ड अन्तरगतका धेरै ठाउँका पहिरो हटाए पनि सुपादेउराली नजिकै खाँचीखोलाको उकालोमा करिब डेढ सय मिटर माथिबाट चट्टान सहित झरेको पहिरो हटाउन दुईवटा स्काभेटर प्रयोग गरिएको भए पनि सञ्चालनमा ल्याउन कठिन भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख माधबप्रसाद बुढाथोकीले बताउनुभयो । बर्षाका कारण आज बिहान पनि पहिरो थपिएकाले हटाउन केही समय लाग्ने बुढाथोकीको भनाई रहेको छ । अर्घाखाँची प्रवेश गर्ने मुख्य सडकनै बर्षाका कारण अवरुद्ध हँुदा जिल्लाबाट उपचार गर्न बाहीर जान ,सामान ढुवानी गर्न र मानिस समेत आवतजावत गर्न ठप्प भएको छ ।

मालारानी, सन्धिखर्क र छत्रदेवमा गरी थप ६५ जनामा कोरोना संक्रमण


श्याम घिमिरे
असार ७ अर्घाखाँची-

अर्घाखाँचीमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । आईतबार धुलीखेल अस्पतालमा गरीएको परीक्षणमा ४९ जना र प्रादेशिक प्रयोगशाला भैरहवमा गरीएको परीक्षणमा १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले जानकारी दिए ।

संक्रमित मध्ये मालारानी गाउँपालीकाका ४९ जना सन्धिखर्क नगरपालिकाका १० जना र छत्रदेव गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २३९ पुगेको छ । जसमध्ये दुई जनाको मृत्यु भईसकेको छ । यसैबिच संक्रमित २३९ जना मध्ये २३८ जना भारतको बिभिन्न ठाउँबाट जिल्लामा आई बिभिन्न क्वरेन्टीनमा बसेका व्यक्तिहरु रहेको सुचना अधिकारी बिकले बताएका छन ।