श्याम घिमिरे असार ५ अर्घाखाँची –
अर्घाखाँची जिल्लामा सुक्रबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पाणिनी गाउँपालिकाका ४ जना र शितगंगा नगरपालीकाका २ जना गरी ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पुष्पा थापाले जानकारी दिनुभयो । ६ जना संक्रमित थपिएसंगै जिल्लामा संक्रमितको संख्या १ सय ६५ पुगेको छ । जसमा भुमिकास्थान नगरपालिकामा ६२ जना, पाणिनि गाउँपालिकामा ९ जना, छत्रदेव गाउँपालिकामा १० जना, सन्धिखर्क नगरपालिकामा २९ जना, मालारानि गाउँपालिकामा १८ जना र शितगंगा नगरपालिकामा ३७ जना गरी जम्मा १६५ जना कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै २ जनाको भने कोरोनाकै कारण ज्यान गईसकेको छ ।
यता जिल्लामा भारतबाट आएका झण्डै २ हजार व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा रहेका छन । जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका २ सय ४३ स्थानका क्वरेन्टीनमा सुक्रवार दिउँसो ३ बजे सम्म १९ सय ८० जना व्यक्तिहरु रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जसमध्ये सन्धिखर्क नगरपालीकामा २ सय ५५ जना, शितगंगा नगरपालीकामा ५ सय ७ जना, भूमिकास्थान नगरपालीकामा ५ सय १२ जना, छत्रदेव गाउँपालीकामा २ सय ७२ जना, मालारानी गाउँपालीकामा ३ सय ३७ जना र पाणिनी गाँउपालीकामा ९७ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभएको छ । पछिल्लो २४ घण्टामा बिभिन्न पालीकाको क्वरेन्टीनबाट ११९ जना डिस्चार्ज भएका छन भने ३३ जना थपिएका छन । ६ वटा स्थानिय सरकारले निर्माण गरेका २ सय ४३ स्थानका क्वरेन्टीनमा ५१ सय ३ वटा बेड संख्या रहेका छन । यता कोरोना पोजेटिभ देखिएका मध्ये १०५ जनालाई बिभिन्न आईसोलेशन स्थानमा राखीएको छ, उनिहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतमले बताउनुभएको छ ।
