असार ४, २०७७ काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो। दुवै जनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। स्वास्थ्यमा समस्या आएपछि ती पुरुष कैलालीकै नजजीवन अस्पतालमा भर्ना भएका थिए। जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। उनको असार ३ गते बेलुकी निधन भएको हो। यस्तै, लम्की चुहा नगरपालिकाकी महिलाको टाउकोमा चोट लागे पनि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो। जेठ ३१ गते भर्ना भएकी महिलाको असार २ गते सर्जरी गर्नुअघि नमुना संकलन गरिएको थियो। उनको असार २ गते नै मृत्यु भएको प्रवक्ता गौतमले बताए। भेरी अस्पतालमा भएको परीक्षणमा असार ३ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।