
श्याम घिमिरे
३ असार, अर्घाखाँची –
कोभिड १९ का कारण नेपाल प्रहरी अन्यत्र स्थानहरुमा खटिनु पर्ने भएपछि अर्घाखाँची कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । यसअघिसम्म नेपाल प्रहरी कारागारको सुरक्षार्थ खटिँदै आएकोमा मंगलवारदेखि नेपाली सेना खटिएको हो ।
भारतबाट स्वदेश फर्किनेहरुको संख्या र क्वरेन्टीको संख्या वृद्धि भइरहेकाले नेपाल प्रहरीलाई क्वरेन्टीन लगायत अन्य सुरक्षाको क्षेत्रमा केन्द्रित हुन सहज होस भन्ने उद्देश्यले कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताउनुभयो । कोरोना महामारीको विशेष परिस्थितिलाई मध्यनजर गर्दे कारागारमा खटिएको नेपाल प्रहरीको टीमलाई अन्य कार्य र क्वरेन्टीनको सुरक्षामा परिचालन गर्नुपर्ने भएकोले नेपाली सेनालाई खटाउने निर्णय नेपाल सरकारले गरेको प्रजिअ पौडेलले बताउनुभयो ।

मंगलबारनै सन्धिखर्कमा रहेको नेपाली सेनाको रामबाँण गुल्मको एक टुकडी कारागार सुरक्षामा खटिएको गुल्मका प्रमुख सेनानी सुमन थापाले जानकारी दिनुभयो । अर्घाखाँची कारागारमा हाल ५३ जना पुरुष र ३ जना महिलाहरु गरी ५६ जना बन्दीहरु रहेको थापाले बताउनुभयो ।
