निजी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्ने, खर्च स्वास्थ्य मन्त्रालयको

जेठ ३२, काठमाण्डाै – अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने भएका छन् । आवश्यक प्रक्रिया पूरा गरेर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वीकृति लिएर निजी ल्याबले पीसीआर परीक्षण गर्न पाउने भएका हुन् । विभिन्न स्थानमा लिइएका नमुना निजी प्रयोगशालाले परीक्षण गर्न पाउने छन् । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ती नमुना जाँचको लागि लाग्ने खर्च स्वास्थ्य मन्त्रालयले नै बेहोर्ने छ । यस्तै विदेश जाँदा निरोगिताको प्रमाणपत्रको लागि गरिने नमुना सङ्कलनको परीक्षण वीर, शिक्षण र पाटन अस्पतालको ल्याबमा गरिने भएको छ । 

Advertisement

आइतवार थपिए ४ सय २५ जना कोरोना संक्रमित

 जेठ ३२, २०७७ आइतबार काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार सात सय ६०  पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  चार सय २५  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा मोरङका २५ तथा झापा र सुनसरीका एक/एक जनामा गरी २७ जनामा पुष्टि भएको छ ।  

कोशी अस्पतालमा भएको परीक्षणमा १० जना, नारायणी अस्पताल वीरगञ्जमा पर्साका १७, बाराका नौ जना, सर्लाहीका एक जना र रौतहटका सात जना, पोखरामा भएको परीक्षणमा नवलपरासी पूर्वका दुई जनामा कोरोना पुष्टि भएको छ । 

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा बझाङका पाँच जना, डडेल्धुराका २५, डोटीका तीन, कैलालीका १२ र कञ्चनपुरका २० जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल बाँकेमा भएको परीक्षणमा बर्दियाका तीन जना, बाँकेका तीन जना र रुकुम पश्चिमका एक गरी सात जनामा पुष्टि भएको छ । 

दाङमा भएको परीक्षणमा प्युठानका दुई र दाङका ५४ जनामा पुष्टि भएको छ । जनकपुरमा भएको परीक्षणमा रौतहटका १७ र धनुषाका एक जनामा र धुलिखेलमा भएको परीक्षणमा रामेछापका दुई जनामा पुष्टि भएको छ । रुपन्देहीमा भएको परीक्षणमा गुल्मीका आठ जना, नवलपरासी पश्चिमका दुई जना, रुपन्देहीका २० र पाल्पाका १७ जनामा पुष्टि भएको छ ।

सुर्खेतमा भएको परीक्षणमा सुर्खेतका ४० जना र दैलेखका २९ जनामा, हेटौँडामा भएको परीक्षणमा रौतहट र सिन्धुलीका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल अस्पताल काठमाण्डौमा भएको परीक्षणमा धादिङका २५ जनामा कोरोना भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा रौतहटका ५१ जना, रुपन्देहीका ६ र सर्लाहीका पाँच जनामा कोरोना पुष्टि भएको छ ।  यस्तै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या १९ पुगेको छ । 

गएराति गुल्मीका कोरोना सङ्क्रमित थप एक जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । रेसुङ्गा नगरपालिकाको आइसोलेशनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको  गएराति ज्यान गएको हो ।

सरकारले चालेका पछिल्ला कदम प्रती असन्तुष्ट जनाउदै अर्घाखाँचीका युवाद्धारा एक घण्टा धर्ना


विक्रम पाण्डे
जेष्ठ ३२ , अर्घाखाँची-

कोरोना नियन्त्रण गर्न सरकारले चालेका पछिल्ला कदम प्रती असन्तुष्ट जनाउदै अर्घाखाँचीका युवाहरुले एक घण्टा धर्ना दिएका छन् । कोरोना भाइरस(कोभिड–१९) को रोकथाममा सरकार संवेदनशिल नभएको, क्वरेन्टीन र आइसोलेशन मापदण्ड विपरित भएको र शंकास्पद बिरामीलाई पिसिआर टेस्ट गर्नुपर्ने, कोरोना नियन्त्रणमा करिब १० अर्ब खर्चको हिसाब सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै आईतबार सन्धिखर्कमा युबाहरु धर्नामा बसेका हुन् । समाजिक संजालबाट युवाहरु एकिकृत भई गरीएको धर्ना कार्यक्रम एक घण्टा सम्म चलेको थियो ।

पिसिआर विधिबाट कोरोनाको परीक्षण गर, जातीय विभेद अन्त्य गर, गुणस्तरीय क्वरेन्टीनको ब्यवस्था गर, सरकारको सरोकार पिसीआर कि बेसार लगायतका नारा लेखिएका प्लेकार्ड सहित युबाहरुले धर्ना दिएका हुन् ।

नेपालको नयाँ नक्शा सहित अर्घाखाँचीमा दिप प्रज्वलन

लक्ष्मण घिमिरे ३१ जेष्ठ २०७७-संविधान संशोधन विधेयक संसदबाट पारित भएको खुशियालीमा अर्घाखाँचीका सर्वसाधारणले थपिएको भुभाग सहितको नक्सामा दिप प्रज्वलन गरेका छन् । नेपालको जमिन नक्सामा ल्याउन नेपालका सम्पुर्ण राजनितिक दलहरु एकै ठाउमा आएर राष्ट्रियताको पक्षमा एकजुट भएको खुशीयालीमा दिप प्रज्वलन गरिएको हो ।
सन्धिखर्कका स्थानीय वासिन्दाहरु आफै शान्ती बगैचामा सामाजिक दुरी कायम गर्दै जम्मा भएर कालापानी, लिपुलेक र लिम्पीयाधुरा समेटिएको नक्शा बनाएर दिप प्रजवलन गरेका हुन् । नेपाल विद्यार्थी संघको आयोजना भएपनी कार्यक्रममा नेकपा, नेपाली कांग्रेस, साझा पार्टी लगायतका दल तथा नागरिक समाजको पनी सहभागिता रहेको थियो ।

राष्ट्रियताका सवालमा अर्घाखाँचीका सबै दल, संघसंस्था, सार्वजनिक निकाय एकै ठाउँ भएको नेकपा नेता प्रेम नारायण गैरेले बताए । ‘यो ऐतिहासिक क्षण हो, राष्ट्रियताका सवालमा अर्घाखाँचीका सबै पक्ष एकै ठाउँ छन्,उनले भने,‘अन्य विकास निर्माणका काममा पनी एक ढिक्का भएर अँगाढी बढ्नु पर्छ ।’ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी कृष्ण खनालले सरकारका अनैकौं नराम्रा पक्ष भएपनी राष्ट्र र राष्ट्रियता पक्षमा प्रतिपक्ष भन्दापनी राष्ट्रप्रेमीको रुपमा उभिएको बताए ।

पर्वत पहिरो : आठ जनाको शव भेटियो, एक जना अझै बेपत्ता

जेठ ३२,पर्वत – पर्वतको कुस्मा नगपालिका वडा नम्बर ३ दुर्लुङको ढकालबारीमा पहिरोमा पुरिएका मध्ये ८ जनाको शव भेटिएको छ । गएराति आएको पहिरोले तुलबहादुर थापाको ५ जना र कमला विकको तीन जनाको परिवारलाई घर सहित पुरेको थियो । पुरिएका ९ जनामध्ये ३ जनाको शव गएराति नै भेटिएको थियो, आज बिहान थप ५ जनाको शव भेटिएको छ ।

पहिरोमा पुरिएका दिपा थापा, कमला विक, तुलबहादुर थापा, उहाँकी श्रीमती मीनकुमारी थापा, नातिनी विविशा थापा, जेनिसा बिक, सम्राट थापा र विवेक थापाको शव भेटिएको प्रहरीले जनाएको छ ।पहिरोमा पुरिएकी प्रमिसा विकको खोजी भइरहेको केवल जंग गुल्मका गुल्मपति अर्जुन दुलालले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय खोजी तथा उद्दारमा खटिएका छ्न्। हिजो साँझ ६ बजे देखि झण्डै दुई घण्टा परेको मुसलधारे पानी पछि पहिरो गएको हो । source:ujyaaloonline