जेठ ३१, काठमाण्डौ – संविधान संशोधन विधेयेक सर्वसम्मतिले पारित भएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा प्रस्तुत गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ लाई पारित गरियोस् भनेर प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
प्रतिनिधि सभामा दुई सय ७५ सांसद रहेकामा आज दुई सय ५८ जना उपस्थित थिए । उपस्थित सबैले संशोधनको पक्षमा मतदान गरेका छन् ।
विधेयेक पारित भएसँगै संविधानको अनुसूचीमा रहेको नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेकसहितका भूमि अटाएका छन् ।
यद्यपि यो विधेयेक राष्ट्रिय सभाबाट पनि पारित हुनुपर्नेछ । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउनुहुनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नयाँ नक्साले पूर्ण वैधानिकता पाउनेछ ।
सरकारले यसअघि नै नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरिसकेको छ । लिपुलेक र लिम्पियाधुरा क्षेत्र हुँदै भारतले कैलास मानसरोवर जाने बाटो निर्माण गरेर उद्घाटन गरेपछि नेपाल सररकाले भारतसँग गम्भीर असहमति जनाउँदै त्यो क्षेत्र नेपालको भूमि भएको भन्दै नयाँ नक्सा जारी गरेको छ ।
गएको नोभेम्बरमा भारतले लिम्पियाधुरा र लिपुलेक समावेश गरेर नयाँ प्रशासनिक नक्सा जारी गर्दा पनि नेपालले विरोध जनाएको थियो ।
सीमा विवादको बारेमा नेपालले वार्ताको लागि पटक पटक भारतसँग आग्रह गरेे पनि भारत वार्तामा बस्न मानेको छैन । सीमा विवादको लागि दुवै देशले गठन गरेको प्रबुद्ध समूहको प्रतिवेदन पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न अस्वीकार गर्दै आएका छन् । source:ujyaaloonline
साथमा नेताहरुको प्रतिक्रिया पनि पढनुहोस
भारतले हडपेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कोर्स पूरा भएको प्रतिक्रिया दिएका छन्। नयाँ नक्सालाई निशानछापमा समावेश गर्न गरिएको नेपालको संविधानको दोस्रो संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएपछि प्रधानमन्त्रीओलीले एउटा कोर्स पूरा भएको बताएका हुन्। ’नयाँ नक्सा संसदबाट पारित भएसँगै हामीले एउटा कोर्स पूरा गरेका छौं’, संसद भवनबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ’अब भारतसँग वार्ता हुन्छ ।’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता ल्याउन लागिएको बताउनुभएको छ । तर यो व्यक्ति विशेषको मुद्धा नभई सामूहिक विषय भएको पनि प्रचण्डले बताउनुभयो । लिम्पियाधुरा सहितका क्षेत्र समेटिएको नयाँ नक्सा अनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै प्रचण्डले संविधान संशोधन गरेर आफूहरु भारतसँग दुरी बढाउन नचाहेको बताउँदै आफूहरुले अहिले पनि राजनीतिक र कूटनीतिक सम्वादबाटै नेपाल भारत सीमा विवाद समाधान गर्न चाहेको धारणा राख्नुभयो । पछिल्लो समय हरेक सरकारले सीमा विवादलाई वार्ता मार्फत समाधान गर्न चाहेको पनि प्रचण्डको भनाइ थियो । नयाँ नक्सा ल्याएर तथा लिपुलेकमा बाटो उद्घाटन गरेर भारतले नेपाललाई एकतावद्ध हुन र गुमेको भूमि फिर्ता ल्याउन नकारात्मक चुनौती दिएको प्रचण्डको भनाइ थियो । अध्यक्ष प्रचण्डले ऐतिहासिक दिनमा साथ दिने सबैलाइ धन्यवाद दिनुभएको थियो ।
प्रमुख विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको बताउनुभएको छ । सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण काँग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठकबाट नै समर्थन गरेको सभापति देउवाले बताउनुभयो । लिम्पियाधुरा सहितका क्षेत्र समेटिएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै देउवाले मुलुकको अखण्डताको पक्षमा देखिएको राष्ट्रिय एकतालाई कायम गर्नुपर्ने धारणा राख्नुभयो । सभापति देउवाले राष्ट्रिय अखण्डताको विषयमा सरकारलाई सधैं समर्थन रहने पनि प्रष्ट पार्नुभयो । सुगौली सन्धिदेखि नै काली (महाकाली) नदी पूर्वको भूभाग नेपालको भन्ने प्रष्ट रहेको सभापति देउवाको भनाइ थियो ।
राष्ट्रिय जनता पार्टी राजपाका सांसद राजेन्द्र महतोले संविधानमा आफूहरुको असहमति भएपनि नयाँ नक्सा अनुसार निसान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन प्रस्तावको समर्थन गर्ने बताउनुभएको छ । संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै महतोले संविधानप्रति भने आफूहरुको असहमति रहेको बताउनुभयो । तर अहिले राष्ट्रियता र भूमिको सवाल उठेको भन्दै उहाँलेसबै असन्तुष्टिलाई थाती राख्दै नयाँ नक्सा सम्बन्धी प्रस्तावलाई सहर्ष समर्थन गर्ने निर्णय पार्टीले गरेको बताउनुभयाु । ५८ वर्ष पहिलेसम्म लिम्पियाधुरा, कालापानी लगायतका भूमि नेपालको नक्सामा रहेको स्मरण गर्दै उहाँले कुन देश बेचुवाले देश बेच्यो ? स्वेतपत्र जारी गर्नु पर्दैन ? भन्दै प्रश्न गर्नुभएको थियो । महाकाली सन्धि संसदबाट पास भएको स्मरण गर्दै उहाँले राष्ट्रघातीहरुको पहिचान गर्न माग गर्नुभयो । राजपा नेता महतोले नयाँ नक्सासँगै जमिन फिर्ता ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।