स्वर्गीय माता पिताको सम्झाना बिद्यालयलाई जग्गा र नगद दान


श्याम घिमिरे जेठ २९ सन्धिखर्क

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडानं.८ किमडाँडामा रहेको जनशान्ति आधारभूत बिद्यालयका संस्थापक सदस्य तथा जग्गादाता स्व. पिताम्बर राना र उहाँकी श्रीमती स्व.खुमादेवि रानाको सम्झनामा जग्गा भुमिदान तथा नगद रुपैया हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

सनपा ८ किमडाँडा निवासी शिक्षाप्रेमी तथा विद्यालयका अभिभावक एवं उहाँका छोरा दुर्गा राना, बुहारी दिपा राना साथै माईला छोराबुहारी विष्णुभक्त राना, द्रुपता राना र कान्छा छोराबुहारी तथा विद्यालयका शिक्षक जोगलाल राना र राधा रानाले आफ्नी ममतामयी माता स्व.खुमादेवि रानाको १३ औं दिनको पुण्यतिथी पारेर आज विद्यालयको लागि झण्डै आधा रोपनी जग्गा भुमिदान र बिद्यालयको अक्षयकोषमा नगद रू ३० हजार दान गर्नुभएको बिद्यालयले जनाएको छ । दाताको सहयोगले विद्यालयको शैक्षिक एवं भौतिक विकासमा सहयोग पुग्ने बिद्यालयको भनाईरहेको छ ।

मालारानीका मृतक पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ


श्याम घिमिरे
जेठ २९ अर्घाखाँची –

जिल्लाको मालारानी गाउँपालीका वडानम्वर ४ को सार्वजनिक आधारभूत विद्यालयको क्वरेन्टीनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षका पुरुषकोे पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले बताउनुभयो । बुधबार बिहान उपचार गरेर फर्किने क्रममा उहाँको बाटोमै मृत्यु भएको थियो । जेठ २३ गते स्वाब झिकेर २४ गते परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको स्वाब ल्याबबाटै हराएपछि उहाँको रिपोर्ट आउन केही ढिला भएको थियो । प्रयोगशालामा स्वाबको नमुना हराएपपछि पुनः स्वाब निकाली भैरहवा प्रयोगशालामानै पठाइएको थियो ।

भारतबाट आउनुभएका उहाँ १४ दिनदेखि क्वरेन्टीनमा बस्दै आउनुभएको थियो । घाँटीको सल्यक्रिया समेत गरेकोले उहाँलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारको लागि मंगलबार अर्घाखाँची अस्पताल सन्धिखर्कमा पु¥याईएको थियो । उहाँलाई जिल्लामा सामान्य उपचारपछि थप उपचारको लागि लुम्विनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो ।

यसअघि भारतबाट आउँदै गर्दा बाटोमै मृत्यु भएका भुमिकास्थान ९ का एक युवाको पिसीआर रिपार्ट पोजेटिभ आएको थियो । उनको कोरोना संक्रमणकै कारण ज्यान गएकोे थियो । योसंगै अर्घाखाँचीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ भने संक्रमितको संख्या ३७ पुगेको छ ।

यता अर्घाखाँचीमा ३२ सय भन्दा धेरै व्यक्तिहरु क्वरेन्टीनमा रहेका छन । जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका २ सय ४१ स्थानका क्वरेन्टीनमा बिहिबार दिउँसो ३ बजे सम्म ३२ सय २६ जना व्यक्तिहरु रहेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभएको छ । जसमध्ये सन्धिखर्क नगरपालीकामा ५ सय १२ जना, शितगंगा नगरपालीकामा ६ सय ३७ जना, भूमिकास्थान नगरपालीकामा ९ सय ४८ जना, छत्रदेव गाउँपालीकामा ३ सय ६७ जना, मालारानी गाउँपालीकामा ४ सय १८ जना र पाणिनी गाँउपालीकामा ३ सय ४४ जना रहेको खनालले जानकारी दिनुभयो । पछिल्लो दिन मात्रै ५ जना बिभिन्न पालीकाले निर्माण गरेका क्वरेन्टीनमा छपिएका छन भने बिभिन्न पालीकाको क्वरेन्टीनबाट ७ सय ९६ जना डिस्चार्ज भएका छन । यस्तै अर्घाखाँचीमा २ सय ४१ स्थानका क्वरेन्टीनमा ५ हजार ४३ वटा बेड रहेको जनाईएको छ ।

यता कोरोना पोजेटिभ देखिएका छत्रदेवका १ जना पाणीनिका ३ जना, शितगंगाका २ जना र सन्धिखर्क नगरपालीकाका २८ जना गरी ३४ जनालाई सन्धिखर्कको हटारीनेटामा रहेको आईसोलेशन कक्षमा राखीएको छ भने १ जना घरमै आईसोलेशनमा बस्नु भएको छ । उहाँहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणमा कल्याणी सेबाको सहयोग ।


श्याम घिमिरे
जेठ २९ अर्घाखाँची –
बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले कल्याणी सेवा नेपाल सन्धिखर्कले जिल्लामा रहेका ६ वटै स्थानिय सरकारलाई आर्थिक सहयोग गरेको छ । संस्थाको बिहिबार बसेको बैठकले कोरोना भाईरसका कारण विश्व नै संकटमा परेको समयमा कोरोना भाइरसको महामारी संग लड्नका लागी भन्दै जिल्लाका सबै स्थानिय सरकारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । सोही अनुसार संस्थाले बिहिबार प्रत्येक पालीकालाई ५ हजार रुपैयाको दरले जम्मा रु ३० हजार रुपैया आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष सुशीला भन्डारी बन्जाडेले जानाकारी दिनु भयो ।

सामाजीक सेबामा समर्पित भावले सन्धिखर्कका क्रियाशिल महिलाहरुको सक्रियतामा २०७५ सालमा स्थापना गरिएको संस्थाले ब्यक्तिगत रुपमा रकम जम्मा गरी बिभिन्न सामाजिक क्षेत्रमा लगानि गर्दे आईरहेको कल्याणी सेबा नेपालकी सहसचिब कमला खनाल भन्डारीले बताउनु भयो । संस्थाले जिल्लामा मृगौला पिडित, क्यानसर पिडित, आगलागी पिडित,बाढिपिडित तथा अनाथ बालबालीकाहरु लगायत आर्थिक रुपमा बिपन्नलाई सक्दो रकम संकलन गरि सहयोग गर्दे आईरहेको सचिब पबित्रा भट्टराईले बताउनु भयो । संस्थाले यस बाहेक रचनात्मक काम गर्ने महिलाहरुकालागी बिभिन्न तालिम लगायत आर्थिक उर्पाजन गर्ने गतिबिधिहरु समेत सन्चालन गर्दे आईरहेको छ । यस्तै दिपावलीमा देउसी भैलो बाट उठेको रकम समेत दुखिपिडिललाई सहयोग गरेको संस्थाले जनाएको छ ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा पत्रकारलाई खाद्यान्न वितरण

जेठ २८ अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले जिल्लाका क्रियाशिल रेडियोकर्मीलाई खाद्यान्न बितरण गरेको छ । बिपदको यस घडिमा पनि दिनरात नभनी जनतालाई सुचना दिन खटिने रेडियोकर्मीलाई राहत होस् भनेर खाद्यान्न बितरण गरिएको हो । जिल्लामा संचालित ५ वटा सामुदायिक रेडियो र ३ वटा कर्मर्सियल रेडियोमा खटेर काम गर्ने संचारकर्मीलाई प्रति रेडियो २५ किलो चामल, २ किलो दाल,१ लिटर तेल र १ किलो नुन बितरण गरिएको महासंघका जिल्ला अध्यक्ष हिम लेकालीले जानकारी दिनुभएको छ ।

बिश्व नै आक्रान्त बनिरहेको कोरोना कहरको प्रवाह नगरि अहोरात्र खट्ने संचारकर्मीप्रति कसैको नजर नपुग्नु दुःखद भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ । अध्यक्ष लेकालीले महाबिपत्तिलाई कम गर्न रेडियो र संचारकर्मीले अहम भुमिका खेलेको भन्दै आभार समेत प्रकट गर्नुभएको छ । अर्घाखाँची जिल्लामा अहिले ८ वटा रेडियोले कोरोना संग बँच्न अहोरात्र सुचना तथा समाचार सम्प्रेसण गर्दै आएका छन् ।

अर्घाखाँचीमा परीक्षणका लागि पठाएको स्वाब हरायो : दाहसंस्कारमा अन्याेल, शव खुला चौरमा

प्रेमनारायण आचार्य जेठ २९, अर्घाखाँची – मालारानी गाउँपालिकाको क्वरेन्टीनमा बसेर उपचारकोलागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ब्यक्तिको परीक्षणका लागि पठाइएको स्वाब हराएको छ ।  परीक्षणका लागि पठाइएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी ४ खनकै रातुका चौरमा राखिएको छ । 

मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा  रहेको क्वरेन्टीनमा बसेका ५७ वर्षीय पुरुषको जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाँच गर्न प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो । 

घर फर्केका ती पुरुष १४ दिन देखि क्वरेन्टीनमा रहँदै आएका थिए । घाँटीको शल्यक्रिया समेत गरेका उनलाई श्वास प्रश्वासमा समस्या आएपछि उपचारको लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । 

सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो । 
लुम्बिनी प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि घरमा गएर आराम गराउने सल्लाहसहित घर फर्काउँदै गर्दा उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो ।

शव व्यवस्थापनका लागि स्वाबको रिपोर्ट चाँडो पठाउन ताकेता गर्दा प्रादेशिक अस्पताल भैरहबामा मृतक व्यक्तिको नामको स्वाब हराएको खुल्न आएको मृतकका आफन्तले बताएका छन् । 

जिल्ला स्वास्थ्य कार्यलयले पठाएको स्वाब प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा नभेटिएपछि फेरि मृतकको स्वाब निकालेर परीक्षणका लागि पठाइएको छ । रिपोर्ट नआउँदासम्मका लागि शवको दाहसंस्कार रोकिएको छ ।