श्याम घिमिरे जेठ २६ अर्घाखाँची –
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक किशोर सहित सोमबार ३१ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना सङ्क्रमण हुनेमा दुई जना महिला र २९ जना पुरुष रहेका छन् । उनीहरुमध्ये २८ जना भारतबाट आएका नगरपालिकाले जनाएको छ । भारतबाट गृह जिल्ला आएर पालिकाले बनाएको क्वरेण्टीनमा बसेका उनीहरुहरुको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनुभयो ।
कोरोना देखिएका ३१ जनामध्ये अधिकांश गएको जेठ १० गते भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय कृष्णबहादुर गैरेको सम्पर्कमा आएका व्यक्ति हुन् । गैरेको भारतबाट नेपाल फर्किने क्रममा गएको जेठ १८ गते बाटोमा ज्यान गएको थियो । उनको सम्पर्कमा आएका र उनीहरुसँगै आएकाहरुको स्वाब परीक्षणका लागि पठाइएको थियो । योसंगै अर्घाखाँचीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ र संक्रमितको संख्या ३५ पुगेको छ । सक्रमित मध्ये सन्धिखर्क नगरपालिकाका २९ जना शीतगंगा नगरपालिकाका १ जना र पाणिनी गाउँपालिकाका १ जना रहेका छन् ।
यसैबीच उपप्रमुख विकले घरमै आराम गर्दै तातोपानी र जडिबुटी खाएर कोरोनालाई परास्त पार्ने बताउनु भएको छ । उहाँले हाल आफ्नो स्वास्थ अवस्था सामान्य रहेकोपनि बताउनुभयो । बिकले भन्नुभयो जनताको सेवामा लाग्दा कोरोना लाग्यो,आत्मबल बलियो बनाएर बसेको छु छिट्टै निको भएर जनताको सेवामा फेरी लाग्छु । बिक नेकपा अर्घाखाँचीका जिल्ला सचिव समेत रहनुभएको छ । अर्घाखाँचीमा जनप्रतिनिधिलाई कोरोना पुष्टि भएको यो पहिलो पटक हो । नगरपालिकाका प्रमुखको पनि स्वाब पठाइएको थियो उहाँ पिसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

यता नगरपालिका उपप्रमुख ठाकुर कुमार विकलाई कोरोना संक्रमण पुष्टिभएपछि सन्धिखर्क नगरपालिले कार्यालयमा कार्यरत कर्मचारी मध्ये पछिल्लो १० दिन भित्र कार्यालयको नियमित कामकाजका रहेका कर्मचारीहरु उच्च जोखिममा रहेका हुन सक्ने अबस्था सृजना भएको भन्दै त्यस्ता कर्मचारीहरुको २७ गते बिहान कार्यालयमा पिसीआर परीक्षणको लागी स्वाब संकलन गरीने जनाएको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले सोमबार एक सुचना जारी गर्दे यस्तो बताउनु भएको हो । सोही मिति देखी पिसीआर परीक्षणको नतिजा नआन्जेल सम्म कार्यालय भित्र कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई आआफ्नो घरमा होम क्वरेन्टीनमा बस्न पनि सुचना मार्फत अनुरोध गरीएको छ । साथै यस अबधिमा कार्यालयको नियमित कामकाज तथा सेबा बन्दहुने समेत सुचनामा उल्लेख गरीएको छ ।
यसैबिच अर्घाखाँची जिल्लाका स्थानिय सरकारले निर्माण गरेका क्वरेन्टीनमा साढे ४२ सय भन्दा धेरै व्यक्तिहरु रहेका छन । जिल्लाका ६ वटा स्थानीय सरकारले २ सय ३८ स्थानमा निर्माण गरेका क्वरेन्टीनमा सोमबार दिउँसो ३ बजे सम्म ४ हजार २ सय ६१ जना व्यक्तिहरु रहेको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभयो । जसमध्ये सन्धिखर्क नगरपालीकामा ५०७ जना, शितगंगा नगरपालीकामा ११ सय २० जना, भूमिकास्थान नगरपालीकामा ११४०जना, छत्रदेव गाउँपालीकामा ४६६ जना, मालारानी गाउँपालीकामा ५९९ जना र पाणिनी गाँउपालीकामा ४२९ जना रहेको सहायक प्रजिअ खनालले बताउनुभयो । पछिल्लो दिन मात्रै २८२ जना बिभिन्न पालीकाले निर्माण गरेका क्वरेन्टीनमा छपिएका छन भने बिभिन्न पालीकाको ब्वरेन्टीनबाट ३९९ जना डिस्चार्ज भएका छन । यस्तै जिल्लाभर २ सय ३८ स्थानका क्वरेन्टीनमा ५ हजार २ वटा बेड रहेका छन ।
यस्तै कोरोना पोजेटिभ देखिएका छत्रदेवका एक जना पाणीनिका दुई जना र शितगंगाका एक गरी जम्मा ४ जनालाई सन्धिखर्कको हटारीनेटामा रहेको आईसोलेशन कक्षमा राखेर उपचार भैरहेको छ भने सोमबार मात्रै थप भएका ३१ जनालाई सोही आईसोलेशनमा ल्याउने तयारी भएको प्रशासनले जनाएको छ । उनिहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको बताईएको छ ।
