नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९९ पुग्यो, मङ्गलबार २ सय ८८ जना थपिए

जेठ २०, काठमाण्डाै – नेपालमा मङ्गलबार थप दुई सय ८८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । पछिल्लो परीक्षणमा दुई सय ७० पुरुष र १८ जना महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका ३८ जनामा सङ्क्रमण पाइएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका पाँच र स्याङ्जाका पाँच गरी १० जनामा सङ्क्रमण भेटिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका एक जनामा सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनाको पोजेटिभ देखिएकाे छ । बाँकेका १७ जना र बर्दियाका तीन जनामा सङ्क्रमण पाइएको हो ।

त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनामा सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमितहरु सुर्खेतका २७ जना, दैलेखका नाै जना, सल्यानका १८ जना र अछामका १० जना रहेका छन् । हेटौँडामा गरिएको परीक्षणमा बाराका एक जनामा पोजेटिभ आएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका १७ जनामा सङ्क्रमण पाइएको छ । एक जना प्यूठानका पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

सेती अस्पतालमा गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण भेटिएको छ । सङक्रमितमध्ये कञ्चनपुरका आठ जना र कैलालीका १० जना छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक सय १८ जनामा सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

Advertisement

अर्घाखाँचीमा झण्डै ४३ सय व्यक्ति क्वरेन्टीनमा ,पछिल्लो २४ घण्टामा ११३ जना थपिए ।


श्याम घिमिरे जेठ २०अर्घाखाँची-
अर्घाखाँची जिल्लाका स्थानिय सरकारले निर्माण गरेका क्वरेन्टीनमा साढे ४२ सय भन्दा धेरै व्यक्तिहरु रहेका छन । जिल्लाका ६ वटा स्थानीय सरकारले १ सय ८४ स्थानमा निर्माण गरेका क्वरेन्टीनमा आज दिउँसो ३ बजे सम्म ४ हजार २ सय ८२ जना व्यक्तिहरु रहेको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभयो । जसमध्ये सन्धिखर्क नगरपालीकामा ५९३ जना, शितगंगा नगरपालीकामा ९६५ जना, भूमिकास्थान नगरपालीकामा १०८१ जना, छत्रदेव गाउँपालीकामा ३८३ जना, मालारानी गाउँपालीकामा ७६५ जना र पाणिनी गाँउपालीकामा ४९५ जना रहेको सहायक प्रजिअ खनालले बताउनुभयो । अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वरेन्टीनको संख्या बढाउदै गएको र त्यसमा बस्नेहरुको संख्या पनि बढ्दो रहेको छ । अधिकांस क्वरेन्टीनमा भारतबाट आएका मानिसहरु नै बसेको जनाईएको छ । पछिल्लो दिन मात्रै ११३ जना भारतबाट आएकाहरुलाई बिभिन्न पालीकाले निर्माण गरेका क्वरेन्टीनमा राखीएको छ । यस्तै जिल्लाभर १ सय ८४ स्थानका क्वरेन्टीनमा ४ हजार ५ सय ५९ वटा बेड रहेका छन ।