लकडाउन जेठ ३२ सम्म लम्बियो, अन्तर्राष्ट्रिय उडान असार १३ सम्म बन्द,सीमा नाका असार १६ गतेसम्म बन्द, कडाइ गर्न थप प्रहरी परिचालन गरिने

जेठ १८, काठमाण्डौ – सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्बाउने निर्णय गरेको हो । सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय २० गते सकिँदैछ । यस्तै सरकारले अन्तर्रा्ष्ट्रिय सीमा नाका असार १६ गतेसम्म बन्द गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले लकडाउन ३२ गतेसम्म लम्बाउने र सीमा नाका १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । त्यस्तै हवाई उडान असार १३ गतेसम्म बन्द हुनेछन् । सरकारले सीमा नाकामा थप कडाइ गर्ने भएको छ ।

सीमाबाट जथाभाबी नागरिक आउँदा कोरोनाको जोखिम झनै बढेकाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार स्वास्थ्य जाँच गरेर मात्रै नेपाल भित्रन दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।सीमा क्षेत्रबाट अवैध रुपमा आवत जावत भइरहेकाले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सङ्ख्या थप्ने र नेपाल प्रहरीलाई पनि परिचालन गरिने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

कोरोनाको प्रभाव बढी देखिएका ठाउँमा लकडाउन थप कडाइ गर्ने र सुरक्षा निकाय परिचालनको जिम्मा गृह मन्त्रालयलाई दिइएको पनि उहाँले बताउनुभयो । तर लकडाउनको मोडालिटीको बारेमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गृहकार्य गरेर टुङ्गो लगाउने मन्त्री खतिवडाले जानकारी दिनुभयो । शनिबार नै बसेको सुरक्षा परिषद्को बैठकले पनि कोरोना रोकथामको लागि सुुरक्षाकर्मीको उपस्थिति थप बलियो बनाउने निधो गरेको उहाँले जानकारी दिनुभयो ।

Advertisement

अमेरिकामा संक्रमितको संख्या १८ लाख नाघ्यो, भारतमा ५ हजार बढीको मृत्यु

जेठ १८,काठमाडौं : विश्वमा कोरोना भाइरसका (कोभिड १९) कारण मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघेको छ । संक्रमितको संख्या ६१ लाख ५३ हजार ३ सय ७० पुगेको छ । वल्डोमिटरले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिकामा सर्वा्धिक १८ लाख १६ हजार ८ सय २० जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख ५ हजार ५ सय ५७ पुगेको छ ।

त्यस्तै, ब्राजिलमा ४ लाख ९८ हजार ४ सय ४०, रुसमा ३ लाख ९६ हजार ५ सय ७५, बेलायतमा २ लाख ७४ हजार २ सय १९, स्पेनमा २ लाख ३९ हजार २ सय २८, इटालीमा २ लाख ३२ हजार ६ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । ब्राजिलमा २८ हजार ८ सय ३४ जनाको ज्यान गइसकेको छ ।

त्यस्तै, बेलायतमा ३८ हजार ३ सय ७६, इटालीमा ३३ हजार ३ सय ४०जनाको मृत्यु भइसकेको छ । विश्वभर २७ लाख ३४ हजार ५ सय ४८ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन् । संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा ५ लाख ३५ हजार २ सय ३८, ब्राजिलमा २ लाख ३ सय ७१, रुसमा १ लाख ६७ हजार ४ सय ६९, जर्मनीमा १ लाख ६४ हजार ९ सय ८ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा मृत्यु हुनेको संख्या पाँच हजार १ सय ८५ पुगेको छ । त्यस्तै त्यहाँ एक लाख ८१ हजार ८ सय २७ जना संक्रमित रहेका छन् । भारतमा ८६ हजार ९ सय ३६ जना संक्रमित निको भइसकेका छन् । source:thahakhabar