अर्घाखाँचीमा साढे ३३ सय भन्दा धेरै क्वरेण्टीनमा


श्याम घिमिरे
जेठ १६ अर्घाखाँची-
रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । भारत लगायत अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत पालिकाले निर्माण गरेको क्वरेन्टीनमा राखिएकोे छ । जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका बिभिन्न १ सय ६१ स्थानका क्वरेन्टीनमा सुक्रबार दिउँसो ३ बजेसम्म ३३ सय ५४ जना व्यक्तिहरु रहेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभएको छ ।

जसमध्ये सन्धिखर्क नगरपालीकामा ४६३ जना, शितगंगा नगरपालीकामा ८०२ जना, भूमिकास्थान नगरपालीकामा ८५३ जना, छत्रदेव गाउँपालीकामा २३२ जना, मालारानी गाउँपालीकामा ६३१ जना र पाणिनी गाँउपालीकामा ३७३ जना रहेको सहायक प्रजिअ खनालले जानकारी दिनुभयो । अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वरेन्टीनको संख्या बढाउदै गएको र त्यसमा बस्नेहरुको संख्या पनि बढ्दो रहेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको भनाई रहेको छ । अधिकांस क्वरेन्टीनमा भारतबाट आएका मानिसहरु नै बसेको जनाईएको छ ।

हाल सम्म सन्धिखर्क नगरपालीकामा १५, शितगंगा नगरपालीकामा ५३, भूमिकास्थान नगरपालीकामा ३३, छत्रदेव गाउँपालीकामा १६, मालारानी गाउँपालीकामा २१ र पाणिनी गाँउपालीकामा २३ गरी कुल १ सय ६१ स्थानमा क्वरेन्टीनको निर्माण गरीएको छ । पछिल्लो दिन मात्रै ३७० जना भारतबाट आएकाहरुलाई बिभिन्न पालीकाले निर्माण गरेका क्वरेन्टीनमा राखीएको छ । जिल्लाभर १ सय ६१ स्थानका क्वरेन्टीनमा ३५ सय २४वटा बेड रहेको जनाईएको छ । यता बुधबार मात्रै पाणिनी गाउँपालिका ८ को क्वरेन्टीनमा रहेका दुई जना कोरोना संक्रमितलाई सन्धिखर्क नगरपालीका १ को हटारीनेटामा निर्माण गरीएको आइसोलेशन कक्षमा राखिएको छ । उनिहरु दुबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

आज एकैदिन १७० जनामा काेराेना पुष्टि, सङ्क्रमित पुगे १ हजार २१२

जेठ १६, २०७७ शुक्रबार – नेपालमा आज एकै दिन १ सय ७० जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यससंगै नेपालमा १ हजार २ सय १२ जना सङ्क्रमित पुगेका छन् । आज सम्ममा ५२ जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । प्रदेश नम्बर २ र ५ मा सबैभन्दा धेरै सङ्क्रमित रहेका छन् ।

स्वास्थ्यमन्त्रालयले आयोजना गर्दै आएको नियमित जानकारीका क्रममा प्रवक्ता डा.विकास देवकोटाले संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको जानकारी दिनुभयो । संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।

संक्रमितमध्ये हालसम्म २०६ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् । आज सम्म क्वारेन्टाइनमा ९९ हजार ३ सय ३६ जना रहेका छन् । हालसम्म आइसोलेसनमा देशभरी १ हजार जना रहेका छन् । अब भारतबाट आउनेहरुलाइ थप व्यवस्थित बनाइने र उनीहरुलाई हेल्थ किट उपलब्ध गराउने डा. देबकोटाले जानकारी दिनुयो । क्वारेन्टाइनमा बस्नेहरुको सङ्ख्या बढिररहेको र अझै बढ्न सक्ने भन्दै डा. देबकोटाले क्वारेन्टाइनहरु थप व्यवस्थापन गर्ने पनि बताउनुभयो ।

अब कोरोना थप फैलन सक्ने भएकाले सर्तक रहन आवश्यक रहेको पनि मन्त्रालयले आग्रह गरेको छ । समुदायमा दीर्घ रोगी, जेष्ठ नागरिकह र कमजोर स्वास्थ्य भएकालाइ यसको जोखिम बढि भएकाले सर्तक रहन पनि डा. देबकोटाले आग्रह गर्नुभयो । अब भने सङ्क्रमितको अवस्था हेरिकन, सामान्य, जटिल, अति जटिल अवस्था छुट्याएर उपचार गर्ने हुन पनि सक्ने डा. देबकोटाले बताउनुभयो ।

क्वरेन्टीनको क्षमता सकिएको भन्दै जो जहाँ छौं १५ दिन त्यही बस्न भुमिकास्थानको आग्रह

श्याम घिमिरे अर्घाखाँची, १६ जेठ –

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले स्वदेश वा विदेशमा रहेका नगरवासीहरुलाई सनिबार देखी १५ दिन सम्मका लागि जो जहाँ छ त्यही बस्नका लागी आग्रह गरेको छ । नगरपालिका भित्रका वडाहरुमा निर्माण गरीएका क्वरेन्टीनमा स्वदेश तथा भारतबाट आएका व्यक्तिहरु बसीरहेको र क्वरेन्टीनको पुर्ण क्षमता प्रयोग भएको र राख्नलाई समस्या भएको भन्दै सुक्रबार बसेको नगरपालिकाको प्रकोप व्यवस्थापन समितिकोे बैठकले यस्तो आग्रह गरेको बताईएको छ ।

१५ नगरपालीकाले निर्माण गरेका बिभिन्न क्वरेटीनहरुमा सुक्रबार सम्म झण्डै ११ सय व्यक्तिहरु रहेका छन । १५ दिन पछी अहिले क्वरेटीनहरुमा बसेकाहरु क्वरेन्टीटन मुक्त हुने र क्वरेन्टीन स्थल खाली हुने हुदा १५ दिन पछी मात्र नवआगन्तुकलाई क्वरेन्टीनमा व्यवस्थापन गर्न सहज हुने भन्दै नगरपालीकाले यस्तो आग्रह गरेको हो ।

नगरपालिकाको प्रकोप व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं.९ का वडाअध्यक्ष तथा नगरकार्यपालिका सदस्य नारायण प्रसाद खनालको अध्यक्षतामा बसेको बैठकमा नगर प्रमुख रेशम थापा, नगर उपप्रमुख खडानन्द बेल्बासे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी, दश वटै वडाका वडाअध्यक्षहरु नगरपालिकाका विभिन्न कर्मचारीहरुको उपस्थिति रहेको कम्प्युटर अप्रेटर शेषकान्त घिमिरेले जानकारी दिनुभयो ।

सरकारले अर्को सातादेखि तेस्रो मुलुकका नागरिकलाई ल्याउने- गर्भवती, बिरामी र आफन्त गुमाएकालाई प्राथमिकता

जेठ १६, २०७७ काठमाडौं : सरकारले तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकिकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको छ। शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो। 

आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्‍न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजकिरिया गर्न आउनुपर्ने अवस्थाका व्यक्तिलाई फर्काउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले बताएका छन्। 

यस्तै श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई स्वदेश फर्काइने उनले बताएका छन्। 

स्वदेश फर्किनका लागि सरकारी सेवामा रही तालिम वा अध्ययनका लागि विदेशमा रहेका नागरिकले सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाउनुपर्ने छ।  सरकरले सम्पूर्ण देशबाट विवरण प्राप्त भएपछि नेपाल वायु सेवा निगम वा नेपालका अन्य वायु सेवा निगमबाट उनीहरुको उद्धार गर्नेछ। 

सचिव विडारीका अनुसार प्राप्त विवरण परिचान गरी परराष्ट्रमन्त्रालयले त्यसको सूची संस्कृति, पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालयलाई दिनेछ। पर्यटन मन्त्रालययले हवाई उडानको व्यवस्था गरेर उनीहरुलाई नेपाल ल्याउने छ।
source:thahakhabar.com

भारतबाट फर्कने क्रममा मृत्यु भएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ

सागर महतजेठ १६, – गत  जेठ १० गते भारत बाट नेपाल फर्कंदै गर्दा भारतकै लखनाउ भन्ने ठाउँमा यात्राको क्रममा बसमा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका कृष्ण बहादुर गैरेको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा गरिएको परिक्षणमा गैरेको कोरोना पोजेटिभ पुष्टी भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिए ।

३४ वर्षिय गैरेको साथमा भुमिकास्थान नगरपालिका का मात्र २७ जना यात्रु रहेको बताएको छ । उनीहरु नगरपालिकाको क्वारेन्टाइनमा छन ।

अन्य पालिका का कति थिए ।भने पहिँचान हुन बाकी छ । उनको शव जिल्ला सम्म लिएर आएका ३ जना पनि क्वारेन्टाइनमा रहेको अर्घाखाँची अस्पतालका प्रमुख कपिल गौतमले जानकारी दिए ।उनको शव गृह जिल्ला लिएर गाडिएको हो ।