नेपालमा एकैदिन १२९ जनामा कोरोना संक्रमण देखियो

जेठ १५, काठमाडौं । नेपालमा बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा  कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । कर्णाली प्रदेशको सुर्खेतका थप १५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै बुधबार एकैदिन १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 


यसअघि बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ११४ जनामा कोरोनाको संक्रमण पुष्टि गरेका थिए । केन्द्रीय स्वास्थ्य मन्त्रालयले थप १५ जना संक्रमितको बारेमा जानकारी दिन बाँकी भएपनि कर्णाली प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले पुष्टि गरिसकेका छन् । 

भारतबाट केहि दिनअघि आइ क्वारेन्टाइनमा बसेकाहरूबाट स्वाब संकलन गरेर परीक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिएको खड्काले जानकारी दिए । उनीहरुमध्ये १३ जना सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका र २ जना चौकुने गाउँपालिकाका रहेको उनले बताए । 

उनीहरू १५ जनाकै स्वाव प्रदेश अस्पताल सुर्खेतमै जाँच गरिएको खड्काले बताए । योसँगै सुर्खेतमा कूल ३० जनामा कोरोना संक्रमण देखिएको छ । 

यसअघि बुधबारको नियमित प्रेस ब्रिफिङमा देवकोटाले दिएको जानकारीअनुसार धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै सप्तरीका हुन् । 

यसैगरी कोसी प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै झापाका हुन् । 

यसैगरी हेटौडा स्थित प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ । जसमा  मकवानपुरका १ र रौतहटका ७  जना  रहेका छन् । 

यसैगरी पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका ६ जनामा संक्रमण पुष्टि भएको छ । 

यसैगरी दाङको राप्तीमा गरिएको परीक्षणमा १८ जनामा पुष्टि भएको छ । जसमा रुकुम पूर्वका ३ जना र दाङका १५ जना रहेका छन् । 

भेरी अस्पतालमा गरिएको परीक्षणमा पनि १६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै बाँकेका हुन् । 

यसैबीच आजै राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा सिरहाका १ जना, सिरहा घर भइ सप्तरी बस्दै आएका १ जना,  बाराका ७ जना, रौतहट घर भइ बारामा रहेका १ जना र  रौतहटका २८ जना रहेका छन् । source:ratopati.com

Advertisement

संविधान संशोधन हुन्छ भ्रममा नपरौं : देउवा

जेठ १५, २०७७ काठमाडौं :  संविधान संशोधनको प्रस्तावमा नेपाली कांग्रेसको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न कांग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन्। बुधबार राति ट्वीट गर्दै देउवाले नयाँ नक्शाबारे संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको पनि बताएका छन्। उनले संशोधन प्रस्तावबारे संस्थागत निर्णय भने केन्द्रीय समितिको बैठकबाट गर्ने जानकारी दिएका छन्। ट्वीट गर्दै देउवाले भनेका छन्, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग हुन्।

आउँदो आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट आज प्रस्तुत हुने

जेठ १५, काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट आज प्रस्तुत गर्दैछ ।अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दिउँसो ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजश्व र व्ययको अनुमान पेश गर्नुहुनेछ । नेपालको संविधान बमोजिम हरेक जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ बजेर ४५ मिनेट अगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गर्नुभएको छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कोरोना रोग रोकथाम तथा नियन्त्रण सहित, कृषि, रोजगारी, ऊर्जा तथा सिँचाइलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । कोरोना महामारी र यसले निम्ताएको संकटलाई सम्बोधन गर्नेगरी सरकारले बजेट ल्याउन लागेको हो । चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको थियो ।

अमेरिकामा कोरोनाका कारण मर्नेको संख्या : ४४ वर्षयता विभिन्न हिंसामा ज्यान गुमाउने सुरक्षाकर्मीको संख्या बराबर

 जेठ १५, काठमाण्डौ – कोरोनाका भाइरस सङ्क्रमणका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख नाघेपछि त्यसको तुलना ४४ वर्षमा विभिन्न युद्धमा मारिएका सैनिकको सङ्ख्यासँग तुलना गरिएको छ । अमेरिकामा अहिले कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ वर्षमा कोरिया, भियतनाम, इराक तथा अफगानिस्तानमा भएका हिंसामा ज्यान गुमाउने अमेरिकी सुरक्षाकर्मीको संख्यासँग झण्डै बराबर रहेको बीबीसीले जनाएको छ ।

अमेरिकामा आज २० हजार भन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । अहिलेसम्म १७ लाख ४५ हजार भन्दा धेरै सङ्क्रमितमध्ये १ लाख २ हजार ९५ जनाको ज्यान गएको पुष्टि भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

विश्वभर सङ्क्रमित भएका कुल मानिसमध्ये झण्डै ३० प्रतिशत अमेरिकामा छन् । अमेरिकामा गएको जनवरी २१ तारिखमा वाशिङ्टनमा पहिलो सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोनाको इपिसेन्टर बनेको न्यूयोर्कमा मात्रै २९ हजार ५ सय ४०  जनाको  ज्यान गएको छ । त्यहाँ आज एक हजार भन्दा धेरै  नयाँ सङ्क्रमित भेटिएका छन् ।

न्यूयोर्कमा ३ लाख ७४ हजार भन्दा धेरै सङ्क्रमित छन् । अमेरिकामा सङ्क्रमितमध्ये अहिलेसम्म ४ लाख ८८ हजार ४ सय ६१ जना उपचार पछि निको भएका छन् । source:ujyaaloonline

आज १३ ‌औं गणतन्त्र दिवस, गणतन्त्र दिवस : २ सय ४१ जनाको कैद तथा सजाय मिनाहा

जेठ १५, २०७७ काठमाडौं :  आज १३ औ गणतन्त्र दिवस देशभर मनाईदै छ।  संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ।

आज झन्डै २ सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिन हो। गृहमन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ।  मन्त्रालयले एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो। 

मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्तिमार्फत आग्रह गरेको हाे।   २०७४ सालसम्म गणतन्त्र दिवसमा विदा हुने गरेको थियो। तर २०७५ सालदेखि यो विदा कटौती गरिएको छ।

सरकारले लोकतन्त्र दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता दिवसलाई एकीकृत गरि ति दिवसको साटो एक दिन बिदा दिएर विशेष दिवस मनाउने निर्णय गरेको हो।  सरकारले २०७५ चैत्र १ गते प्रकाशित गरेको नेपाल राजपत्रमा पनि गणतन्त्र दिवसलाई राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने विदाको रुपमा सुचिकृत गरेको छ। कोरोना महामारीका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम भने हुने छैनन्। 

यसैबीच गणतन्त्र दिवसका अवसरमा २ सय ४१ जनाको कैद तथा सजाय मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको हो ।नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम कैदीहरुलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी सो जानकारी दिनुभएको हो । 

यसैगरी नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आठ व्यक्तिलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिबाना, बिगो, सर्वस्वलगायतको सजाय माफी भएको विज्ञप्तिमा जनाइएको छ ।