श्याम घिमिरे
जेठ १५ अर्घाखाँची-
रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । भारत लगायत अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत पालिकाले निर्माण गरेको क्वरेन्टीनमा राखिएकोे छ । जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका बिभिन्न १ सय ५९ स्थानका क्वरेन्टीनमा बिहिबार अपह्रान्न सम्म २९ सय ८४ जना व्यक्तिहरु रहेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभएको छ ।
जसमध्ये सन्धिखर्क नगरपालीकामा ४०४ जना, शितगंगा नगरपालीकामा ७०१ जना, भूमिकास्थान नगरपालीकामा ७८८ जना, छत्रदेव गाउँपालीकामा २३२ जना, मालारानी गाउँपालीकामा ५९८ जना र पाणिनी गाँउपालीकामा २६१ जना रहेको सहायक प्रजिअ खनालले जानकारी दिनुभयो । अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वरेन्टीनको संख्या बढाउदै गएको र त्यसमा बस्नेहरुको संख्या पनि बढ्दो रहेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको भनाई रहेको छ । अधिकांस क्वरेन्टीनमा भारतबाट आएका मानिसहरु नै बसेको जनाईएको छ ।
हाल सम्म सन्धिखर्क नगरपालीकामा १३, शितगंगा नगरपालीकामा ५३, भूमिकास्थान नगरपालीकामा ३३, छत्रदेव गाउँपालीकामा १६, मालारानी गाउँपालीकामा २१ र पाणिनी गाँउपालीकामा २३ गरी कुल १ सय ५९ स्थानमा क्वरेन्टीनको निर्माण गरीएको छ । पछिल्लो दिन मात्रै २८६ जना भारतबाट आएकाहरुलाई बिभिन्न पालीकाले निर्माण गरेका क्वरेन्टीनमा राखीएको छ । जिल्लाभर १ सय ५९ स्थानका क्वरेन्टीनमा ३ हजार १ सय ९६ वटा बेड रहेको जनाईएको छ ।
बुधबार मात्रै पाणिनी गाउँपालिका ८ को क्वरेन्टीनमा रहेका दुई जना कोरोना संक्रमितलाई सन्धिखर्क नगरपालीका १ को हटारीमा निर्माण गरीएको आइसोलेशन कक्षमा राखिएको छ । उनिहरु दुबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ । पछिल्लो समय स्थानिय सरकार र प्रशासन भारतबाट आउने व्यक्तिहरुको व्यवस्थापनमा जुटीरहेका छन ।
