सरकारले ल्यायाे १४ खर्ब ७४ अर्ब ६४ करोडकाे बजेट , ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

जेठ १५, २०७७ काठमाडाैं : सरकारले आगामी वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको ल्याएको छ। कुल बजेटमध्ये ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालु खर्च हुनेछ। ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ। सरकारले ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनबाट उठाउनेछ। साथै वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाउने छ।

साथै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने छ भने २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाइने भएको छ।   आर्थिक वर्ष २०७६/७७ मा कुल बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। यसवर्ष विगतको तुलनामा कुल बजेटको आकार केही घटेको छ। 

अर्थमन्त्री खतिवडाले प्रशासनिक खर्चमा व्यापक कटौती गरिएको बताएका छन्। आगामी वर्ष आन्तरिक ऋणको रकम विकास खर्चमा मात्रै विनियोजन गरिएको पनि खतिवडाले बताए। सरकारले आगामी वर्ष ७ प्रतिशत आर्थिक बृद्धि हुने लक्ष्य लिएको छ।

चालु वर्ष साढे ८ प्रतिशतको लक्ष्य राखिएको थियो। तर कोरोना भाइरसको संकटका कारण उक्त लक्ष्य २.३ प्रतिशत मात्रै सीमित हुने भएको छ। अर्थमन्त्री खतिवडाले मूल्य वृद्धिको लक्ष्य चालुभन्दा एक प्रतिशत बिन्दुले बढाएर ७ प्रतिशत प्रक्षेपण गरेका छन्।


अर्घाखाँचीमा २९ सय ८४ जना क्वरेण्टीनमा,२ जना आइसोलेशनमा ।


श्याम घिमिरे
जेठ १५ अर्घाखाँची-
रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । भारत लगायत अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत पालिकाले निर्माण गरेको क्वरेन्टीनमा राखिएकोे छ । जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका बिभिन्न १ सय ५९ स्थानका क्वरेन्टीनमा बिहिबार अपह्रान्न सम्म २९ सय ८४ जना व्यक्तिहरु रहेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभएको छ ।

जसमध्ये सन्धिखर्क नगरपालीकामा ४०४ जना, शितगंगा नगरपालीकामा ७०१ जना, भूमिकास्थान नगरपालीकामा ७८८ जना, छत्रदेव गाउँपालीकामा २३२ जना, मालारानी गाउँपालीकामा ५९८ जना र पाणिनी गाँउपालीकामा २६१ जना रहेको सहायक प्रजिअ खनालले जानकारी दिनुभयो । अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वरेन्टीनको संख्या बढाउदै गएको र त्यसमा बस्नेहरुको संख्या पनि बढ्दो रहेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको भनाई रहेको छ । अधिकांस क्वरेन्टीनमा भारतबाट आएका मानिसहरु नै बसेको जनाईएको छ ।

हाल सम्म सन्धिखर्क नगरपालीकामा १३, शितगंगा नगरपालीकामा ५३, भूमिकास्थान नगरपालीकामा ३३, छत्रदेव गाउँपालीकामा १६, मालारानी गाउँपालीकामा २१ र पाणिनी गाँउपालीकामा २३ गरी कुल १ सय ५९ स्थानमा क्वरेन्टीनको निर्माण गरीएको छ । पछिल्लो दिन मात्रै २८६ जना भारतबाट आएकाहरुलाई बिभिन्न पालीकाले निर्माण गरेका क्वरेन्टीनमा राखीएको छ । जिल्लाभर १ सय ५९ स्थानका क्वरेन्टीनमा ३ हजार १ सय ९६ वटा बेड रहेको जनाईएको छ ।

बुधबार मात्रै पाणिनी गाउँपालिका ८ को क्वरेन्टीनमा रहेका दुई जना कोरोना संक्रमितलाई सन्धिखर्क नगरपालीका १ को हटारीमा निर्माण गरीएको आइसोलेशन कक्षमा राखिएको छ । उनिहरु दुबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ । पछिल्लो समय स्थानिय सरकार र प्रशासन भारतबाट आउने व्यक्तिहरुको व्यवस्थापनमा जुटीरहेका छन ।

रुकुम घटना : अर्का युवकको शव भेटियो, मारिनेको संख्या पाँच पुग्यो

जेठ १५, २०७७ काठमाडौं : रुकुम पश्‍चिमस्थित चौरजहारी नगरपालिका-८ का गाउँलेबाट गरिएको आक्रमणमा परेर मारिने युवकको संख्या पाँच पुगेको छ। बेपत्तामध्ये तेस्रो युकको शव भेटिएसँगै मारिनेको संख्या पाँच पुगेको हो। सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले प्रहरीका अनुसार जाजरकोट छेडागाड नगरपालिका-५ काले भीरमा बिहीबार दिउँसो ती युवकको शव भेट्टाएको हो। ती युवक भेरी नगरपालिका-४ बस्‍ने १९ वर्षीय सन्जु बिक रहेका छन्।

बेपत्ता युवकको खोजीमा सशस्त्र प्रहरीबल आश्रित गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक योग्य बस्‍नेतको कमान्डमा ४ जना गोताखोर खटिएका छन्। गोताखोरसँगै अन्य १३ जना र सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म पश्‍चिम रुकुमका १८ जना पनि खटिएका छन्। गत जेठ १० गते रुकुम पश्‍चिमको चौरजाहारी नगरपालिका-८ स्थित मल्ल थरकी युवतीसँग बिहे गर्न गएका भेरी नगरपालिका-४ का २१ का नवराज विकसहितको समूहमाथि आक्रमण भएको थियो। उक्त क्रममा दुईजनाको तत्लकालै हत्या भएको थियो भने चारजना बेपत्ता थिए। source:thahakhabar.com

नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुग्यो ,आज एकै दिन भेटिए १५६ जना संक्रमित

जेठ १५, २०७७ काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ह्‍वात्तै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबारसम्म कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ। बुधबार मात्रै ११४ जना कोरोना संक्रमित थपिएका थिए। मंगलबार ९० जना कोरोना संक्रमित थपिएका थिए।

भारतले रेल सेवा खुलाएर परीक्षण नै नगरी नेपालीलाई सीमा क्षेत्रमा ल्याइ छाडिदिन थालेपछि नेपालमा तीन दिनयता संक्रमितको संख्या तीव्र गतिमा बढेको हो।  देवकोटका अनुसार थपिएका ११४ जना नयाँ संक्रमितमा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा गरिएको परीक्षणमा २ जना नयाँ संक्रमित रहेका छन्। उनीहरु सप्तरी जिल्लाका रहेका छन्। 

कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा २५ जना संक्रमित भेटिएका छन्। उनीहरु सबै झापाका रहेका छन्। उनीहरु झापाको कचनाकवल गाउँपालिकाका बासिन्दा हुन्। योसँगै झापामा संक्रमितको संख्या ७९ पुगेको छ। भरतपुर अस्पतालमा गरिएको परीक्षणमा एकजना संक्रमित भेटिएका छन्। उनी नवलपुरका बासिन्दा हुन्। काठमाडौंस्थित जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा धनुषमा २९ जना, महोत्तरीका १७ जनासहित ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहीँ गरिएको परीक्षणमा रौतहटका तीनजनामा पनि कोरोना पुष्टि भएको छ। त्यस्तै सप्तरीका १२ जनमा पनि कोरोना देखिएको छ।

त्यसैगरि सर्लाहीका ७ जना र सिरहाका ६ जनामा पनि कोरोना देखिएको छ। दोलखाका दुईजनामा पनि कोरोना देखिएको छ। सोलुखुम्बुका एकजना पुरुषमा पनि कोरोना देखिएको छ।  प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा कोरोना देखिएको छ। जसमा १३ जना संक्रमित सुर्खेतका रहेका छन्। त्यसैगरी दैलेखमा ८ जनामा कोरोना देखिएको छ। बझाङका एकजनामा पनि कोरोना पुष्टि भएको छ। प्रादेशिक अस्पतालमा कास्कीमा गरिएको परीक्षणमा स्याङजाका तीनजनामा कोरोना देखिएको छ। सेती अस्पतालमा धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका एकजना र कैलालीका दुईजनामा कोरोना देखिएको छ। 

त्यस्तै हेटौँडाको कीटजन्य प्रयोगशलामा गरिएको परीक्षणमा १ जना संक्रमित भेटिएका छन्। भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका तीनजना र बाँकेका एकजनामा कोरोना देखिएको छ। धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै संक्रमितको संख्या १०४२ पुगेको छ। जसमा पुरुष ९४० जना र महिला १०२ जना रहेका छन्।  कोरोना संक्रमितको संख्या बढेसँगै मृतकको संख्या पनि ५ पुगेको छ। बुधबारसम्म १८७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।

पछिल्लो पटक पर्साका चारजना संक्रमित निको भएर घर फर्किएका छन्। बुधबार साँझ ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको थियो। 
source:thahakhabar

अर्घाखाँचीका कोरोना संक्रमितलाई हटारीको आइसोलेशनमा राखीयो


श्याम घिमिरे,जेठ १५ अर्घाखाँची –
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ८ पालिको कमला माबि क्वरेन्टीनमा रहेका दुई जना कोरोना संक्रमितलाई बुधबार सन्धिखर्क ल्याईएको छ । सन्धिखर्क नगरपालीका १ को रविचित्र जनता युबाबर्ष माबि हटारीमा निर्माण गरीएको आइसोलेशनमा ल्याईएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो । यस अघि उपचारका लागि कोरोना विशेष अस्पताल दाङ पठाउने तयारी भएको थियो । पछि जिल्लामै आइसोलेशन कक्ष निर्माण गरी उपचार गर्ने सहमति पछि हटारीमा ल्याई राखीएको सहायक प्रजिअ थापाले बताउनुभयो ।

संक्रमित संक्रमित १९ र ४३ वर्षीय दुबैजना भारतको उत्तर प्रदेश राज्यको रायवरेलीबाट कृष्णनगर नाका हुँदै जिल्लाको ठाडा सम्म पैदल हिडेरै आएको र ठाडादेखि घुम्तिसम्म एम्बुलेन्समा यात्रागरी पुनः घुम्तीबाट पैदल हिडेर जेठ २ गते पाली गएको बताईएको छ । उहाँहरु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिनु भयो । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पहिलोपटक कोराना संक्रमण देखिएको हो ।