श्याम घिमिरे जेठ ८ अर्घाखाँची –
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ मा रहेको छाँया पोलिक्लिनिकमा कार्यरत १० जना स्वास्थ्यकर्मीको पिसीआर परीक्षण नेगेटिभ आएको छ । गुल्मी मदाने गाउँपालीकाका कोरोना संक्रमित व्यक्तिको उपचार गराएको खुलेपछि सिल गरिएको छाँया पोलिक्लिनिकका १० जना स्वास्थ्यकर्मीको स्वाब जाँचको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो । १० जना स्वास्थ्यकर्मीकै पिसीआर रिपोर्ट नेगेटिभ आएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो ।
गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोट घर भएका उनी गत वैशाख ३१ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि सन्धिखर्कको छाँया पोलिक्लिनिक गएका थिए । क्लिनिकमा उपचार सम्भव नभएपछि उनि जेठ १ गते बुटवलको क्रिमसन अस्पतालमा गएर भर्ना भएका थिए । जेठ ३१ गते साँझदेखि ५ गते सम्म उपचारको लागि आएका सबै बिरामी तथा तिनका आफन्त कोरोना सरेको छ कि भनेर चिन्तित बनेका थिए । अहिले भने सबैको पिसीआर रिपोर्ट नेगेटिभ आएपछि सबै जिल्लावासी खुसी भएका छन् ।
यसैबिच छाँया पोलिक्लिनिक प्रा.लि.ले एक बिज्ञप्ती निकाली आफुहरुको छबिमा आँच आउनेगरी अनरंगल प्रचार नगरीदिन सबैलाई आग्रह गरेको छ । क्लिनिकले बिहिबार बिज्ञप्ती जारी गर्दे बिषम परीस्थीतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहानुभुति तथा सहयोग गर्ने सबै शुभचिन्तकप्रति बिशेष धन्यबाद समेत प्रकट गरेको छ ।
