कोरोनाभाइरस खोप: पहिलो सङ्केत सकारात्मक भएको अमेरिकी कम्पनीको दाबी : पुसमा खाेप ल्याउने कम्पनीकाे प्रयास

 जेठ ६, २०७७ काठमाण्डौ – विश्वव्यापी रुपमा भैरहेको कोरोना भाइरसको उपचार खोज्ने प्रयासमा अमेरिकी कम्पनी मोडर्नाले ठूलो सफलता हात पारेको दाबी गरेको छ ।

अबका दुई चरणमा गरिन लागेका परीक्षणहरु सफल भए भने मोडर्नाले कोरोना संक्रमण रोक्ने खोप आगामी पुस (सन् २०२१ को जनवरी) देखि बजारमा ल्याउने जानकारी बिभिन्न समाचार एजेन्सीहरुले दिएका छन् । विश्व स्वास्थ संगठनको स्वीकृतिमा खोपको अनुसन्धान गरिरहेका विश्वका ८ कम्पनीमा मोडर्ना पनि एक हो । 

अमेरिकाको जैविक प्राविधिक कम्पनी मोडर्नाले यो खोप विकसित गरेको हो । न्युयोर्क टाइम्समा छापिएको खबर अनुसार मोडर्ना नामक कम्पनीले मानिसमा परीक्षण गरिने पहिलो कोरोना भाइरसको खोप सुरक्षित प्रतित भइरहेको जनाएको छ । खोपको सुरुवाती परीक्षण आशाजनक छ । 

खोपको परीक्षणको परिणाम आठ जना स्वस्थ स्वयंसेवीहरुमा गरिएको परीक्षणमा आधारित भएको कम्पनीले जनाएको छ । यस क्रममा हरेक स्वयंसेवीलाई यो खोपको दुई दुई मात्रा दिइएको थियो । कम्पनीले यो परीक्षण मार्च महिनाबाट सुरु गरेको थियो । 

खोपको मात्रा दिइएकाको शरीरमा एन्टिबडी बनेको कम्पनीले जनाएको छ । त्यो एन्टिबडीलाई प्रयोगशालामा परीक्षण गर्दा त्यसले भाइरसको प्रतिरुप बन्नबाट रोक्न सक्षम देखिएको थियो । त्यसपछि कोरोना भाइरसको सङ्क्रमणबाट निको भएकाको एन्टिबडीसँग यो एन्टिबडी मिलाइएको थियो । 

मोडर्ना कम्पनीले आफ्नो खोप परीक्षणको दोस्रो चरणमा ६ सय जनालाई सहभागी गराउने जनाएको छ, जुन प्रक्रिया चाँडै नै सुरु हुने जनाइएको छ । त्यसपछि खोप परीक्षणको तेस्रो चरण जुलाईमा सुरु हुने छ, जसमा हजारौँ जनालाई समावेश गराइनेछ । 

अमेरिकामा औषधिलाई अनुमति दिने संस्था फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन एफडीएले मोडर्ना कम्पनीलाई खोप परीक्षणको दोस्रो चरण अघि बढाउन अनुमति दिएको छ । source:ujyaaloonline

टोल प्रवेश निषेध र बाटो बन्द गर्नेलाई हदैसम्म कारवाही गरिने : गृह मन्त्रालय

 जेठ ६,- कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै टोल-टोलमा नयाँ मान्छेलाई प्रवेश निषेध गर्न थालिएको छ । टोल–टोलमा बाटो बन्द गर्ने, प्रवेश निषेध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘स्थानीय केही ब्यक्तिबाट सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने तथा आवागमनमा बाधा पुर्याउने अमानवीय कामप्रति मन्त्रालयको गम्भीर ध्यनाकर्षण भएको छ ।’

कतिपय बस्तीमा स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, दवाब दिने र आवागमनमा दुरब्यवहार गरेको भन्दै मन्त्रालयले त्यस्ता गतिविधि गर्नेलाई कानूनी दायरामा ल्याउने चेतावनी दिएको छ ।

‘यस कठिन क्षणमा पनि सुरक्षा सतर्कताको नाममा अग्रपंक्तिमा रही अहोरात्र तोकिएका कार्यमा खटिरहेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानुन विपरीतका कार्यहरुगरि निजहरुको मनोबल गिराउने, स्थानीय केही व्यक्तिहरुबाट स्वास्थ्य सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्‍याउने, घरभाडामा बसिरहेका व्यक्तिहरुलाई बिनाकारण निकाल्नेलगायतका अत्यन्त अमानवीय कार्यहरु भैरहेको प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

विश्वव्यापी महामारीका विरुद्ध लड्नको लागि हामी सबैले सामूहिक प्रयास गर्नुपर्नेमा एक आपसमा नै निषेधको बाटो अपनाउनु निश्चय पनि राम्रो होइन ।’ जारी विज्ञप्तिमा भनिएकाे छ

‘संक्रामक रोग ऐन–०२० अनुसार सरकारको निर्णय पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरिएको छ’ मन्त्रालयलको विज्ञप्तिमा भनिएको छ–‘जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउने जुनसुकै ब्यक्तिलाई पनि कानून बमोजिम हदैसम्मको सजाय हुन्छ ।’source:khasokhas.com

अर्घाखाँची जिल्लाका सबै सिमानाका सिल

श्याम घिमिरे जेठ ६ अर्घाखाँची–
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंलबबार बिहान बसेको बैठकले जेठ ६ गतेदेखि अर्को सुचना जारी नभएसम्मकोलागी जिल्लाका सबै सिमानाकाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।


प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले प्रदेश ५ का छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण दैनिक बढ्दै गएकाले अहिलेलाई अर्घाखाँचीसँग जोडिएका सबै सिमानाकाहरु सिल गर्ने निर्णय गरेकोे जानकारी दिनुभयो ।


सोमबार छिमेकी जिल्ला गुल्मीमा एक जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि अर्घाखाँचीमा पनि उच्च सर्तकता अपनाउँदै जिल्लाका सबै सिमा नाका सिल गरिने निर्णय भएको सहायक प्रजिअ बिक्रम थापाले बताउनुभयो ।


कोरोना संक्रमण पुष्टि भएका गुल्मीका विरामी सन्धिखर्कमा रहेको छायाँ पोलिक्लिनिकमा चेक गराएर बुटवल गएको पाइएपछि उक्त पोलिक्लिनिकलाई पनि अर्को व्यवस्था नभए सम्मका लागी सिल गर्ने निर्णय बैठकले गरेको छ । यस्तै बैठकले अर्को व्यवस्था नभएसम्म जिल्लाका सम्पुर्ण वित्तीयसंस्थाहरु समेत बन्द गर्ने निर्णय भएको सहायक प्रजिअ थापाले बताउनुभयो ।


बैठकले तरकारी, किराना खाद्यन्न र मासु पसल विहान ७ देखि १० बजे सम्म र दूधडेरी पसल विहान ६ देखि ९ र बेलुका ५ देखि देखी ७ बजे सम्म मात्र खुलागर्ने निर्णय गरेको छ । बैठकले जिल्लामा लकडाउनलाई थप कडाई गर्ने पनि निर्णय गरेको छ । यस्तै बैठकले अत्यधिक काम परेमा जिल्ला प्रशासन र प्रहरीलाई सम्पर्क गर्नपनि आग्रह गरेको छ । जसकोलागी ९८५७०६४४५०,९८५७०९०३५२ र १०० मा सम्पर्क गर्न अनुरोध गरीएको छ ।

संक्रमित भेटिएपछि गुल्मीको मदाने गाउँपालिका सिल

जेठ ६, २०७७ गुल्मी : गुल्मीका एक जनामा कोरोना संक्रमण भेटिएपछि मदाने गाउँपालिका सिल गरिएको छ। सोमबार साँझ ६ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि सिल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। 

मदाने गाउँपालिका ६ पुर्कोटदहका ४१ वर्षीय पुरुषमा सोमबार कोरोना संक्रमण भेटिएको हो। भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पाइएको हो।  उनको उपचारमा संलग्न गाउँका स्वास्थ्यकर्मी, परिवार र सम्पर्कमा आएका सबैको आरडिटी र पिसिआर परीक्षण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।

यो सँगै गुल्मी अस्पतालको ओपिडी सेवा जेठ ६ र ७ गते बन्द गर्ने निर्णयसमेत भएको छ। तत्काल पिसिआर किट उपलब्ध गराउन प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय पनि भएको छ। बुटवलको क्रिमसन अस्पातलमा उपचार क्रममा रहेका उनलाई अस्पतालको भेन्टिलेटरमा राखिएको छ। 
source:thahakhabar

रौतहटका ८५ जना पत्रकारको कोरोना बिमा

जेठ ६, २०७७ रौतहट : रौतहटका क्रियाशील ८५ जना पत्रकारको कोरोना जीवन बिमा भएको छ। कोरोना भाइरसको महामारीको जोखिमपूर्ण अवस्थामा समाचार संकलन गरिरहेका ८५ जना पत्रकारको कोरोना जीवन बिमा गरिएको हो। नेपाल पत्रकार महासंघ रौतहटका शाखाले आफ्ना सदस्य तथा जिल्लाभित्र रहेर क्रियाशील पत्रकारिता गर्दै आएका पत्रकारहरुको बिमा गराएको हो। माधव नारायण नगरपालिकाको आर्थिक सहयोगमा ८५ जना पत्रकारका ८५ लाख रुपैयाँको बिमा गरिएको नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठले जानकारी दिए।

माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्रराय यादवले बिमाको लागी लाग्ने शुल्क बराबरको चेक सोमबार पत्रकार महासंघ रौतहटका सचिव श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। पछिल्लो समय रौतहटमा संक्रमितको संख्या बढ्न थालेपछि जोखिम बढेको भन्दै विपत्तका समयमा खटिरहेका पत्रकारहरुको मनोवल उच्च बनाउन र सुरक्षा समेत प्रदान गर्ने उद्देश्यले बिमा शुल्क रकम सहयोग गरेको नगर प्रमुख यादबले बताए।

नेपाल पत्रकार महासंघसँग आवद्ध नभएका तर जिल्लामा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई पनि बिमा कार्यक्रममा समेटेको महासंघका कोषाध्यक्ष रमेश तिमलसिनाले जानकारी दिए। प्रति व्यक्ति ६०० रुपैयाँका दरले बिमा शुल्क कुल ५१ हजार माधवनारायण नगरपालिकाले सहयोग गरेको कोषाध्यक्ष तिमलसिनाले जानकारी दिए।
source:thahakhabar.com