अर्घाखाँचीको छाँया पोलिक्लिनिक सिल

जेठ ५, अर्घाखाँची – अर्घाखाँचीको छाँया पोलिक्लिनिकलाई सिल गरिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका गुल्मीका पुरुषले सन्धिखर्क नगरपालिका १ मा रहेको छाँया पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि पोलिक्लिनिक सिल गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो ।

गुल्मीको मदाने गाउँपालिका २ पुर्कोट घर भएका उनी गएकाे वैशाख ३१ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि सन्धिखर्कको छाँया पोलिक्लिनिकमा जाँच गराएकाे र थप उपचार सम्भव नभएपछि बुटबलको क्रिमसन अस्पतालमा गएर भर्ना भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिनुभयो ।

छाँया पोलिक्लिनक सिल गरेर त्यहाँ रहेका डाक्टर, स्वास्थ्यकर्मी र उपचारका लागि आएका सबै बिरामी र उनीहरुकाे सम्पर्कमा आएका सबैलाई खोजेर कोरोना जाँच गरिने सहायक प्रजिअ थापाले बताउनुभयो ।

काेराेना पुष्टि भएपछि रुपन्देहीको क्रिमसन अस्पताल सिल

जेठ ५,  रुपन्देही – गुल्मीमा साेमबार पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । मदाने गाँउपालिका वडा नम्बर २ का पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । गएकाे जेठ १ गते उपचारको लागि रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा ल्याइएका ४१ वर्षीय ती पुरुषको आईसीयूमा राखेर उपचार भइरहेको छ । उनी श्वासप्रश्वासका बिरामी हुन ।

भैरहवामा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको थियो । उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि क्रिमसन अस्पताल सिल गरिएको छ । उनको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्नका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । source:ujyaaloonline

प्रदेश पाँचको कोभिड विशेष कृषि कार्यक्रममा समानता छैन : कृषि वस्तु उत्पादन तथा प्रशोधन संघ

जेठ ५, नेपालगन्ज : प्रदेश पाँच सरकारको कोभिड विशेष कृषि कार्यक्रममा समानता नभएको कृषि वस्तु उत्पादन तथा प्रशोधन संघ बाँकेले जनाएको छ । कोरोना भाइरस महामारी पछिको खाद्य संकट समाधान गर्न पाँच नम्बर प्रदेश सरकारको यही जेष्ठ १ गते कोभिड विशेष कार्यक्रम ल्याएको हो । प्रदेश पाँचको मन्त्रीपरिषदको बैठकले ल्याएका उक्त कोभिड बिशेष कार्यक्रममा समेटिएका बिषयहरु असमानता भएको भन्दै संघले सच्चाउन माग गरेकोछ ।

प्रदेश नम्बर ५ अन्तरगत पर्ने तराईका जिल्लाहरुमा कुनै प्रकारको संभाब्य कृषि उत्पादनको क्षेत्र नदेख्नु र सञ्चालनमा रहेका कृषि व्यवसायीहरुको समस्यालाई नबुझनु त्रुटि पुर्ण भएको संघका अध्यक्ष विष्णु प्रसाद खनालद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।

संघको विज्ञप्तीमा भनिएकोछ –‘जोखिम तथा नोक्सानीको हिसाबले प्रदेशका सबै जिल्लाका कृषकहरुको समस्या एकै प्रकारको नहुन पनि सक्छ, तर, कृषिका सबै प्रकृति र बिषयहरु हेर्दा सबै कृषकहरुलाई कुनै न कुनै प्रकारका प्रभाव परिरहेको सन्दर्भमा प्रदेश सरकारले ल्याएको कोभिड बिशेष कार्यक्रममा समानता नदेखिएकोले हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’

तराईका जिल्लाहरु बाँके बर्दिया, कपिलबस्तु लगाएतका जिल्लाहरुबाट अत्यधिक उत्पादनका साथै नजिकको सीमा नाकाबाट तरकारी लगाएतका कृषि बस्तुको कानूनी तथा गैर कानूनी तबरबाट आयात हुँदा सीमा क्षेत्रका जिल्लामा रहेका किसानले भोग्नु परेको समस्या समाधान गर्न समेत विज्ञप्तीमार्फत माग गरिएकोछ ।

सेतोखरीसंग कुरा गर्दै संघका अध्यक्ष खनालले–‘हाल कृषिमा संलग्न रहेका सबै व्यवसायीको साझा समस्याका बारेमा संघ, प्रदेश र स्थानीय सरकारले विशेष ध्यान नदिएकाले कृषि व्यवसायीहरु पलाएनको अबस्था आउन सक्ने बताए ।’

‘कृषिमा कार्यरत कृषक तथा कृषि ब्यवसायीहरुलाई प्रोत्साहन र हौसला भएन भने कृषिमा जति सुकै राम्रो नीति तथा योजना तय गरे पनि सरकारले अंगिकार गरेको दश वर्षमा कृषिमा दोब्बर उत्पादनको लक्ष्य हाँसिल गर्न असम्भव छ’–उनले बताए ।

कृषि व्यवसायीको हितको लागि समानुपातिक जोखिम तथा नोक्सानीको प्रक्षेपण सहित कोभिड १९ कृषि कार्यक्रममा छुटेका क्षेत्र र जिल्लाहरुलाई अविलम्व समेट्नका लागि संघले प्रदेश सरकार सहित सम्बन्धित निकायसंग आग्रह गरेकोछ ।

यस्तो छ कोभिड विशेष कृषि कार्यक्रम

पाँच नम्बर प्रदेशको मन्त्रिपरिषद् बैठकले जेठ १ गते गरेका निर्णयहरु
१.कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएकोछ । यो कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैंया साउन मसान्त सम्म खर्चहुनेछ ।

कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन हुने क्षेत्र

क.कृषि एम्बुलेन्स परिचालनका लागि ३४ लाखरुपैंया

ख. बेमौसमी आलु उत्पादन कार्यक्रम गुल्मी, प्युठान, रुकुम र रोल्पामा सञ्चाल नगर्ने । त्यसका लागि १ करोड २० लाख रुपैंया खर्च गर्ने । ५ सय किसान लाभान्वित हुने । कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेको हुनुपर्ने । प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान दिने ।

ग. व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम—दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पार रुकुम सात जिल्लामा सञ्चालन हुने । ७ हजार लाभान्वित हुने । कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने । मल र बीउका लागि प्रतिरोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिने । योकार्यक्रमका लागि १४ करोड रुपैंया खर्च हुने ।

घ. कोभिड—१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम यो कार्यक्रमका लागि २१ करोड ८० लाख खर्च गर्ने १ सय ९ वटै पालिकामा गर्ने । व्यवसायिक खेतीका लागि मल विषादी, स—साना औजार, प्लाष्टिकघर, च्याउघर, खोर निर्माण गर्न सहयोग गर्ने । प्रति किसान २० हजारका दरले सहयोग गर्ने । १० हजार ९ सय लाभान्वित हुने ।

ङ . ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड २ हजार किसानलाई ३५ हजार रुपैंयाका दरले अनुदान दिने । ६ हजार लाभान्वित हुने ।

च. दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्याङक हेरी लकडाउनको ४० दिनको प्रतिलिटर १० रुपैंयाका दरले अनुदान दिने ।

छ. बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैया । सबै जिल्लामा सञ्चालन गर्ने । २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने । प्रतिबिघा २० हजार रुपैंयाका दरले दिने । यी सबै कार्यक्रमबाट ४१ हजार ४ सय प्रत्यक्ष लाभान्वित हुने ।

२ प्रदेश स्वास्थ्य नीति—२०७७ स्विकृत

३. स्वास्थ्य नियमावली स्विकृत

४.रोल्पामा वम विष्फोटमा मारिएका चार बालबालिकाका परिवारलाई १ लाख रुपैंयाका दरले राहत दिने ।

५.केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७७ प्रदेश सभा समक्ष पेश गर्न स्वकृति दिने

६.जेठ ९ गते प्रदेश सभा आव्हानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय ।

७. नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेमा क्वारेन्टाइनमा बस्ने विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्देशिका तयार गरी कार्यान्वय नगर्ने ।

८. कोरोना विशेष अस्पतालको क्षमता बढाउने । बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने । बुटवलमा २ सय बेड थप्ने भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्ने ।

बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डी स्थित कोरोना अस्पतालमा विरामी पठाउने । विरामीको चापलाई ख्याल गर्दै तौलिहवा स्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने । त्यसको स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने । source:सेतोखरी.com