जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

जेठ ४, काठमाडौं । सरकारले आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले थप १५ दिन अर्थात जेठ २० सम्म लकडाउन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । 

सरकारले यसअघि कायम गरेको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिन लागेको अवस्थामा कोरोना संक्रमणको जोखिम थप बढ्दै गएको निष्कर्षका साथ लकडाउन लम्ब्याउने निर्णय भएको हो।  

नेपालमा कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै गत चैत ११ गतेदेखि निरन्तर लकडाउन रहेको छ । तर, यो बीचमा २९५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने कोरोनाकै कारण २ जनाको मृत्यु भइसकेको छ । source:ratopati.com

Advertisement

थप तीन जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २ सय ९५ पुग्याे

जेठ ४, २०७७ काठमाडाैं : नेपालमा कोरोना संक्रमित पुनः थपिएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट तीन जनामा कोरोना संक्रमण थपिएको हो। धनकुटा निवासी ३४ वर्षीया महिला र विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ। थपिएका तीनै जना संक्रमितको स्वास्थय अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

नेपालमा कोरोनाबाट फेरि अर्का एक जनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

जेठ ४, २०७७ आइतबार -नेपालमा फेरि कोरोनाबाट अर्का एक जनाको मृत्यु भएको छ । बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । बाँकेको नरैनापुर–५ का उनी वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए । 

गएराति उनको स्वास्थ्यमा समस्या देखिएकोमा आज बिहान ६ बजेर ४० मिनेटमा उनको क्वारेन्टाइनमै मृत्यु भएको देवकोटाले बताए । ‘गएराति स्वास्थ्यमा समस्या भयो । ज्वरो झाडापखालालगायत समस्याहरु उनमा देखिएको र आज बिहान ६ बजेर ४० मिनेटमा उहाँको निधन भएको छ’, प्रवक्ता देवकोटाले भने । 

कोरोना परीक्षणका लागि उनको स्वाब लिइएकोमा नतिजा पोजेटिभ आएको देवकोटाले बताए । योसँगै देशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु भएको थियो । 

नेपालमा थप १० जनामा कोरोना पुष्टि : सङ्क्रमित २ सय ९१ पुगे

 जेठ ४, २०७७ आइतबार काठमाण्डाै – नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा-९ का ७ जना तथा रौतहटकै इशनाथ नगरपालिका वडा नम्बर ३ का तीन जना पुरुष गरी थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमितको संख्या २ सय ९१ पुगेको छ । ३६ जना निको भएका छन् भने एक जनाको ज्यान गएको छ ।