नेपालमा कोरोनाबाट पहिलो मृत्यु

जेठ ३, शनिबार काठमाण्डौ –  नेपालमा कोरोना भाइरसका कारण  एक जनाको ज्यान गएको पुष्टि भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार उहाँ १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर सुत्केरी हुनुभएको थियो । २५ गते डिस्चार्ज भएर घर फर्कनुभएको थियो ।

तर उहाँलाई ज्वरो र खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समस्या आयो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको ३ दिनपछि उहाँको निधन भएको हो।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उहाँको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उहाँको रिपोर्ट पोजेटिभ नै आएको छ ।  मन्त्रालयले नेपालमा कोभिड १९ बाट मृत्यु भएको पहिलो घटना भएको पुष्टि भएको जनाएको छ ।

यसैबीच थप दुई जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा २ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । ३६ जना निको भएका छन् ।

Advertisement

कम्युनिस्ट नेता रायमाझीको श्रद्धाञ्जली सभा सम्पन्न

शोभाखर पन्थी जेठ ३ अर्घाखाँची- नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले दिवंगत नेता बुद्धि बहादुर रायमाझीको १३ औं दिनको पुण्ड तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । भगवती माध्यमिक बिद्यालयको प्राङ्गणमा सामाजिक दुरि कायम राखि सम्पन्न गरिएको श्रद्धाञ्जली कार्यक्रममा नेकपाका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले नेता रायमाझीको निधनले पार्टी लाई अपुरणिय क्षति भएको बताए । उनिहरुले स्वर्गीय नेता रायमाझी जुझारु ,ईमान्दार ,साहसी ,त्यागि र बौद्धिक नेता भएको बताउँदै उहाँले गणतन्त्रको स्थापनाको निम्ति खेलेको भुमिका निक्कै महत्व रहेको बताए । बक्ताहरुले पञ्चायती तानाशाहका बिरुद्ध संघर्ष गर्दा १३ बर्ष सम्म कठोर जेल जिबन व्यतीत गर्ने रायमाझी बर्गसंघर्षको बलियो खम्बा र पार्टीको मेरुदण्ड भएको बताए ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले स्वर्गीय रायमाझी सर्वहारा बर्गको प्रिय नेता भएको बताउनुभयो । उहाँले जस्तोसुकै कठिन परिस्थितिमा पनि पार्टीको नीति र बिचार लाई दृढताका साथ पुरागर्ने स्वर्गीय रायमाझी जिल्लाको मात्र नभई राष्ट्रिय स्तरमै प्रभावराख्ने स्वाभिमानी ,जुझारु र बौद्धिक नेता भएको बताउँदै उहाँका अधुरो सपना पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले स्वर्गीय रायमाझी मुलुकको कम्युनिस्ट आन्दोलनको अगुवा नेता भएको बताउँदै उहाँ त्याग ,निष्ठा,स्वाभिमान ,बौद्धिकता,साहस र पराक्रमको संयोजन भएको बताउनुभयो । उहाँले राजनितीक परिबर्तनको निम्ति ठुलो बलिदान गर्ने रायमाझीको बिकास ,समृद्धि र सुखि जनता देख्न अधुरो सपना पुरागर्ने बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सचिव ठाकुर कुमार बि.क.किशोरको संचालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल ,नेकपाका नेता नरेन्द्र कुमार क्षेत्री ,स्वर्गीय रायमाझी सँगै जेलजिबन बिताउनु भएका नेत्रप्रसाद ढुङ्गाना,स्वर्गीय रायमाझीका छोरा डाक्टर बिजय रायमाझी ,छोरी कामना रायमाझी लगायतका बक्ताहरुले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

थप २ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २७८ पुग्याे

जेठ ३, काठमाण्डाै – शुक्रबार थप दुई जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहान ९ जनामा कोरोना भाइसको सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई सय ७८ पुगेको छ । कोरोना सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।अहिलेसम्म सङ्क्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् । 

कपिलवस्तुमा तीनजनालाई कोरोना, संक्रमितको संख्या २७६

जेठ ३, २०७७ काठमाडौं : कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै शनिबार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका, चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन्।  यसअघि शनिबारै बर्दिया नार्खु-११ की २८ वर्षीया महिला, सिराहा, सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।


थप ६ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या २७३ पुग्यो

जेठ ३, २०७७ शनिबार काठमाण्डाै – नेपालमा थप ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बर्दिया नार्खु-११ की २८ वर्षकी महिला, सिराहा सखुवा-१९ का ३० वर्षका पुरुष, वीरगन्ज नगरपालिका-१२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगर-४ का १८ वर्षकी युवती र चितवन गढौली-१ की २५ वर्षकी युवतीमा आज कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।उनीहरु सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीकै निगरानीमा रहेका पनि मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २७३ पुगेको छ ।