नेपालमा कोरोना : ३५ जना निको, ८१ हजारभन्दा धेरैको परीक्षण

बैशाख ३१, काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ३५ पुगेको छ । बुधबार रुपन्देहीका एक युवक र चितवनमा ६३ वर्षीया एक महिला निको भएर डिस्चार्ज भएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय १९ रहेको छ । देशभरि दुई सय ४५ जना आइसोलेशनमा रहेका छन् भने तीन सय ५४ जना ‘रेड जोन’मा छन् । १४ हजार तीन सय १३ जना क्वरेण्टीनमा रहेका छन् ।

सरकारले परीक्षणको दायरा पनि बढाएको जनाएको छ । अहिलेसम्म २१ हजार तीन सय ४० जनामा पीसीआर विधिमार्फत परीक्षण गरिएको र ६० हजारभन्दा धेरैको आरडीटीमार्फत परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ५७ को पीसीआर र ६ सय ९२ जनाको आरडीटीमार्फत परीक्षण गरिएको हाे । source:ujyaaloonline

Advertisement

थप दुई जनामा कोरोना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २१९ पुग्याे

 बैशाख ३१, २०७७ बुधबार काठमाण्डाै – नेपालमा बुधबार मध्याह्नसम्म थप दुई जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । काठमाण्डाैकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा तथा काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगञ्जका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई सय १९ पुगेको छ । 

एक जिल्लाबाट अर्काे जिल्ला जाने सवारी पास रद्द

बैशाख ३१,काठमाण्डाै – एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका सबै सवारी पास रद्द भएका छन् । कोरोना सङ्क्रमितको सङ्ख्या थपिएसँगै थप कडाइ गर्नुपर्ने भएकोले सबै गाडीका पास रद्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । जेठ १ गतेदेखि लागू हुने गरी सबै पास रद्द गर्ने निर्णय भएको हो ।

काठमाण्डाै उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई कडाइ गरिएको उहाँले बताउनुभयो । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेकोमा अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ । सूचना विभागको परिचयपत्रको आधारमा पत्रकारहरुलाई आवत जावत गर्न दिने निर्णय पनि भएको अधिकारीले बताउनुभयो । 

काठमाण्डौ उपत्यकामा तीनसहित एकैदिन ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि,देशभर संक्रमितको संख्या २१७

बैशाख ३१, काठमाण्डौ – नेपालमा एकैदिन ८३ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलबार बेलुकी काठमाण्डौका एक तथा भक्तपुरका दुई र अन्य २३ गरी २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौमा गरिएको परीक्षणमा पर्साका १२ पुरुष र ६ महिला गरी १८ जना, महोत्तरी, धनुषा र भक्तपुरमा दुई-दुई जना तथा काठमाण्डौ र सर्लाहीमा एक-एक जना गरी २६ जनामा कोरोना पुष्टि भएको हो । यसअघि दिउँसो पर्सामा दुई पत्रकारसहित ३९ जना, रुपन्देहीका ९ जना, कपिलवस्तुका ८ जना र बाराका एक जना गरी ५७ जनामा कोरोना पुष्टि भएको थियो। 

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २१७ पुगेको छ । अहिलेसम्म उपचारपछि ३३ जना निको भएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार मङ्गलबारसम्म पीसीआर विधिबाट १८ हजार ९ सय ६४ र आरडीटी विधिबाट ५९ हजार ६ सय २७ जनाको नमुना परीक्षण गरिएको छ। यस्तै २ सय २८ जनालाई आइसोलेशनमा र १२ हजार सात सय ८५ जनालाई क्वरेण्टीनमा राखिएको छ।