सप्तरीका युवकमा काेराेना सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १ सय २१ पुग्याे

बैशाख २९, २०७७ सोमबार काठमाण्डाै – सप्तरीमा १८ वर्षीय युवकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीको डाक्नेश्वारी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्वरेण्टीनमा रहेका युवामा कोरोना पुष्टि भएपछि उनलाई प्रादेशिक अस्पताल वीरगञ्ज लैजाने तयारी गरिएको छ ।

योसँगै नेपालमा एक सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज बिहानमात्रै कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ५ र बुद्धभूमि नगरपालिका वडा नम्बर ७ का २० र ३४ वर्षीका दुई–दुई तथा १८, १९, २४, ३०, ३१ वर्षका र उमेर नखुलेका एक जना गरी १० जनामा कोरोना पुष्टि भएको थियो । उनीहरु पनि क्वरेण्टीनमै रहेकाे र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाे मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोना सङ्क्रमण भएका ३३ जना निको भएर घर फर्किएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित आज थपिएका ११ जनासहित ८९ जना पुरुष र ३२ जना महिला छन् । source:ujyaaloonline

Advertisement

आज देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने

बैशाख २९, काठमाण्डौ – आज देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

अहिले बदली भएको ठाउँको मौसम विस्तारै खुल्ने तर दिउँसोपछि फेरि बदली भई विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका धेरै ठाउँको मौसम बदली भएको हो । यो प्रणाली कमजोर भएकाले मौसम खुल्दै गएको छ ।

तर दिउँसोपछि स्थानीय वायु सक्रिय भएपछि फेरि मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने संभावना रहेको मौसमविद् प्रधानाङगको भनाई छ । आज पहाडका धेरै र तराईका थोरै ठाउँमा पानी पर्ने पनि उहाँले जानकारी दिनुभयो ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले अहिले पनि उच्च वायुमण्डलको तापक्रम, हावाको गति दिशा, चाप, सापेक्षित आद्रताबारे जानकारी लिन बेलुन उडाइरहेको छ । रेडिएसन जडान गरेर उडाइने यो बेलुनले मौसम पुर्वानुमान गर्न सहज हुने मौसमविद्को भनाई छ ।

यसलाई निरन्तरता दिन सके मौसम पूर्वानुमानमा अझै विश्वस्त हुन सकिने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । प्रविधि अभावका कारण नेपालमा नाउकास्ट अर्थात अहिलेको मौसमी अवस्थाबारे जानकारी दिन कठिन रहेको अवस्थामा देशका अरु ठाउँबाट पनि रेडिएसन जडित बेलुन उडाउन सके नाउकास्ट गर्न सहज हुने उहाँको भनाइ छ ।source:ujyaaloonline

नेपालमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

बैशाख २९ काठमाडाै‌ं : नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना देखिएको हो।

कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुषहरु छन् भने अर्का एकजनाको उमेर खुलेको छैन ।सबै जनालाई अस्पताल लैजाने तयारी भएकाे मन्त्रालयले जनाएकाे छ।   संक्रमितमध्ये हालसम्म ३३ जना उपचारपछि डिस्जार्च भएका छन्।  वीरगञ्जमा २७, नेपालगञ्जमा २४, विराटनगरमा १९, रुपन्देहीमा १६ र भरतपुरमा १ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  नेपालमा हालसम्म ७३ हजार ५ सय ५५ जनाको कोरोना परीक्षण भएको छ। १६ हजार ८ सय ९८ जनाको पिसिआर र ५६ हजार ६ सय ५७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा ३ र बाहिर १ सय ६१ गरी कुल १ सय ६४ जना आईसोलेसनमा छन्। मुलुकभर १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

सन्धिखर्क नगरपालिकाको एक फर्ममा चट्याङ परेर आगलागी हुँदा १५ लाख बढीको क्षति

प्रेम नारायण आचार्य बैशाख २८ – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा एक पशुपालन फर्ममा चट्याङ परेर आगलागी हुँदा १५ लाख भन्दा बढीको क्षति भएको छ । बिहान ४ बजेतिर परेको चट्यांङले सन्धिखर्क नगरपालिका १० अर्घाको बेल्टारीमा रहेको त्रिकन्या गौरी कृषि तथा पशुपंक्षी पालन फर्ममा आगलागी भएको फर्मका सञ्चालक बाबुराम पाण्डेले बताए ।आगलागीमा परी एक जर्सी गाई मरेको छ । ९ वटा गाई आगोले पोलेर घाइते भएको छन् । घाइतेमध्ये चार गाईको अवस्था गम्भीर र पाँच गाइको अवस्था सामान्य रहेको पशु प्राविधिक प्रदिप आचार्यले बताए ।

आगलागीमा जेनेरेटर, कुटानी पिसानी मिल, चापकटलगायतका मेसिनरी सामग्रीसहित दानाको गोदाम, गाई भैंसीलाई खुवाउने पराल, खरलगायत, फर्मका अन्य सामग्री जलेर नष्ट हुँदा १५ लाख भन्दा बढीको क्षति भएको फर्म सञ्चालक पाण्डेको भनाइ छ ।

अर्घाखाँचीमा कोरोना भाइरससंग खेलवाड , राष्ट्रिय जनमोर्चा द्वारा आपती

गोपाल भट्टराई वैशाख २८ अर्घाखाँची – राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीका केही जनप्रतिनिधि र स्थानिय सरकारले कोरोना भाइरससंग खेलवाड गरि गम्भिर गल्ती गरेको आरोप लगाएको छ । जिल्ला स्तरिय कोरोना भाइरस नियन्त्रण तथा बिपद ब्यवस्थापन समितिको निर्णयलाई कुल्चिने र महाबिपत्तिमा समेत उनिहरुले राजनिति गर्नु गम्भिर खेलवाड भएको राजमो अर्घाखाँचीले ठहर गरेको हो ।

सन्धिखर्कमा सम्पन्न राष्ट्रिय जनमोर्चा सचिवालय समितिको बैठकले विश्व नै आक्रान्त बनेको महामारी नियन्त्रण गर्न सरकार तथा विज्ञले दिएका सुझावको सरकारी तहबाटै उलघंन हुनु दुःखद भएको बताएको छ । विश्वभर झन्डै तिन लाख जनताको ज्यान जाने गरि फैलिएको यो भाइरसबाट बँच्न सचेत र सुरक्षित रहन राजमो अर्घाखाँचीले सबै नागरिकले अपिल समेत गरेको छ ।

बैठकले गरेका निर्णय सार्वजनिक गर्न राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.ले एक विज्ञप्ती जारी गरि यस्तो अपिल गर्नुभएको हो । बैशाख १० गते जिल्ला प्रशासनमा बसेको बैठकले गरेका निर्णयको जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु र केही स्थानिय सरकारले नै उलघंन गर्नु र प्रशासनले निर्णय कार्यान्वयन गराउन नसक्नुले कोरोना रोग संग खेलवाड भएको हामीले ठहर गरेका छौं राजमो अर्घाखाँचीले भनेको छ आगामी दिनमा त्यसो हुन नदिन सबै सचेत र जिम्मेवार बन्न जरुरी छ ।

राहत बितरणमा समेत जनप्रतिनिधिले राजनिति गरेको,विपदको बखतमा विदेश तथा सिमामा अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षित गर्न नसक्नु,महाबिपत्तिको मौका छोपेर भारतले नेपाली भुमि मिचेर सडक बिस्तार गर्नु जस्ता गम्भिर समस्यामा सरकारको निरिहता देखिनुपनि खेद जनक भएको उक्त विज्ञप्तीमा उल्लेख छ । यि सबै समस्या समाधानमा सबै नेपाली एक जुट हुनुपर्नेमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको जोड रहेको छ । राष्ट्रिय एकता र उच्च मनोबलका साथ कोरोना भाइरसको सामना गर्न राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सबैमा अपिल गरेको हो ।