देशभर कोरोना परीक्षणको संख्या ७२ हजार नाघ्यो ,क्‍वारेन्टाइनमा साढे १४ हजार, आइसोलेसनमा १४३ जना

बैशाख २७, २०७७ काठमाडौं : सरकारले हालसम्म देशभर कोरोना परीक्षणको संख्या ७२ हजार नाघेको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ५५ हजार ९ सय ३० वटा र पिसिआर विधिमार्फत १६ हजार ३ सय ९ वटा गरी कुल ७२ हजार २ सय ३९ वटा परीक्षण गरिएको बताएको हो।

मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा मात्र १ हजार ७ सय ४२ वटा परीक्षण गरिएको जानकारी दिएका छन्। उनका अनुसार देशभरका सातै प्रदेशमा आरडिटी विधिद्वारा भएका परीक्षणको रिपोर्टको प्रादेशिक विवरण यस्तो छ।

प्रदेश नम्बर १ मा ७ हजार ५५ वटा  प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९० वटा 

बाग्मती प्रदेशमा ९ हजार १ सय ५ वटा 

गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७ वटा 

प्रदेश नम्बर ५ मा ६ हजार ६ सय ३८ वटा  कर्णाली

प्रदेशमा ६ हजार १ सय ७४ वटा 

सुदूरपश्चिम प्रदेशमा १४ हजार ६ सय ९१ वटा 

आजको अपडेटअनुसार देशभर क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ५ सय ९२ जना रहेको छ। त्यसमध्य सबैभन्दा कम बागमती प्रदेशमा २ सय ५४ जना र गण्डकी प्रदेशमा ४ सय ६३ जना रहेका छन्। त्यसपछि प्रदेश नम्बर २ मा १ हजार ३ सय ५५ जना, प्रदेश नम्बर १ मा १ हजार ४ सय ८६ जना, कर्णाली प्रदेशमा २ हजार ४ सय ५५ जना, प्रदेश नम्बर ५ मा ५ हजार २ सय २८ जना र सुदुरपश्चिम प्रदेशमा ३ हजार ३ सय ५१ जना रहेका छन्। 

आज देशभर सम्भावित संक्रमित र संक्रमित गरी १ सय ४३ जना आइसोलेशनमा रहेका छन्। तीमध्ये काठमाडौंउपत्यकाभित्र २ जना र काठमाडौंबाहिर १ सय ४१ जना रहेका छन्।  source:thahakhabar.com

Advertisement

नेपालमा थपिए कोरोनाका सातजना बिरामी ,देशभर जम्मा संक्रमित १०९ पुगे

बैशाख २७, २०७७ काठमाडौं : उदयपुर, पर्सा र कपिलवस्तुमा सातजना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३/३ जना कोरोना संक्रमित भेटिएका छन्।  त्यसैगरी पर्सामा एकजना कोरोना संक्रमित भेटिएका हुन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अञ्‍चल अस्पताल बिराटनगरको ल्याबमा गरिएको परीक्षणमा नयाँ कोरोना संक्रमित पुष्टि भएका हुन्।  अधिकारीका अनुसार उदपयुरमा भेटिएका नयाँ संक्रमित त्रियुगा नगरपालिका-३ भुल्केकै हुन्। उनीहरु १८, ४५ र ६५ वर्षका महिला हुन्। त्यस्तै पर्साको छपकैयामा नै फेरि ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। 

उता यसअघि दुईजना कोरोना संक्रमित भेटिएको कपिलवस्तुमा थप तीजना संक्रमित भेटिएका छन्। अधिकारीका अनुसार  उनीहरु एकजना १७ वर्षका पुरुष हुन् भने दुईजना १८ वर्षीय पुरुष नै हुन् ।


भारतको साम्राज्यवादी नीतिप्रति सरकारले विरोध नगर्नु आश्चर्यजनक : राष्ट्रिय जनमोर्चा

 बैशाख २७, २०७७ शनिबार काठमाण्डाै – राष्ट्रिय जनमोर्चा पार्टीले लिम्पियाधुरा हुँदै मानसरोवरसम्म भारतले सडक निर्माण गरेकोमा भर्त्सना गरेको छ ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर यसबारेमा आफ्नो स्थिति स्पष्ट गर्न सरकारसँग माग गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘भारतीय साम्राज्यवादी नीतिप्रति हाम्रो पार्टीले लगातार रूपमा विरोध गर्दै आएको छ । तर भारतीय साम्राज्यवादको त्यसप्रकारको नीतिप्रति नेपाल सरकारले कुनै विरोध प्रकट गरेको छैन । सरकारको त्यो नीति भारतपरस्त छ ।’अर्को प्रसङ्गमा राष्ट्रिय जनमोर्चाले एमसीसी पनि इण्डोप्यासिफिक रणनीतिको अङ्ग हो भन्ने कुरा स्पष्ट भइसकेकाले एमसीसी अस्वीकार गर्नुपर्नेमा जोड दिएको छ ।

विज्ञप्तिमा एमसीसी सम्झौतालाई संसदद्वारा पारित गराउन अमेरिकाले नेपाललाई दबाब दिएको दाबी गर्दै त्यसको पनि विरोध गरिएकाे छ । भारतले लिम्पियाधुरा हुँदै मानसराेवरसम्म सडक निर्माण गरेकाेप्रति विभिन्न पार्टीले भर्त्सना गर्दै सरकारसँग तुरुन्त धारणा मागेका छन् ।  

भारतले लिपुलेकमा सडक बनाएपछि नेपालको कडा आपत्ति, परराष्ट्रले भन्यो : भारतले दुई देशको समझदारी तोड्यो

बैशाख २७, २०७७ काठमाडौ : भारत सरकारले नेपाली भूमि प्रयोग गरेर चीनसम्म जोडने सडक उद्घाटन गरेपछि परराष्ट्र मन्त्रालयले कडा आपत्ति जनाएको छ।  शनिबार परराष्ट्र मन्त्रालयले हस्ताक्षरबिनाको विज्ञप्ति जारी गरी नेपाली भूमिमा कूनै पनि गतिविधि नगर्न भारत सरकारलाई सचेत गराएको हो। ‘यो एकपक्षीय कार्य प्रधानमन्त्रीको तहलगायतका दुई देशहरूबीच भएको समझदारी विरूद्ध हो।

जुन सीमा विवादको समाधान वार्ताबाट खोजिने छ। नेपाल सरकार दुई देशबीच घनिष्ट र मैत्री सम्बन्धको भावना राख्दै ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्शाको आधारमा सीमा मुद्दाहरूको कूटनीतिक समाधान खोज्न प्रतिबद्ध छ,’ विज्ञप्तिमा भनिएको छ। भारतले नेपाली भूमाग मिचेर धार्मिक स्थल मानसरोवसम्म जोड्ने सडक निर्माण गरेर उद्घाटनसमेत गरेपछि सरकारको  आधिकारिक प्रतिक्रिया आएको हो।

परराष्ट्रले भारतले निर्माण गरेर उद्घाटन गरेको उक्त ‘लिंक रोड’ नेपाली भूभाग रहेको बताएको छ। ‘नेपालले पहिल्यैदेखि भन्दै आएको छ, भारतले हिजो उद्घाटन गरेको लिपु लेक जोड्ने ‘लिंकरोड’को क्षेत्र नेपाली भूभाग हो,’ जारी विज्ञप्तिमा भनिएको छ। सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपु लेकलगायत काली (महाकाली) नदीको पूर्वक्षेत्रहरू नेपालको हो भनेर सरकारले भारतीय पक्षलाई स्मरण गराएको छ। ‘विगतमा यो नेपाल सरकारले धेरै पटक दोहोर्याएको थियो र पछिल्लो समयमा जारी गरिएको नयाँ राजनीतिक नक्शाको जवाफमा २० नोभेम्बर २०१९ मा भारत सरकारलाई सम्बोधन गरिएको कूटनीतिक नोटमार्फत नेपाल सरकारले यसलाई दोहोर्याएको थियो,’ विज्ञप्तिमा भनिएको छ।

परराष्ट्रले एकपक्षीय कार्य दुई देशहरूबीच भएको समझदारीविरुद्ध रहेको औँल्याउँदै सीमा विवादको समाधान वार्ताबाट खोजिने बताएको छ। सरकार २ देशबीचको घनिष्ठ र मैत्री सम्बन्धको भावना राख्दै ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्शाको आधारमा सीमाका मुद्दाहरूको कूटनीतिक समाधान खोज्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘दुवै सरकारले विद्यमान सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उपाय र संस्थागत रूपरेखा सिफारिस गर्ने जनादेशसहित नेपाल-भारत सम्बन्धमा इमिनेन्ट पर्सन ग्रुप (ईपीजी) गठन गरेको थियो। समूहले आफ्नो कार्य समाप्त गरी सहमति प्रतिवेदन तयार गर्‍यो’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार उक्त प्रतिवेदन प्राप्त गर्न तयार छ र विश्वास गर्दछ कि यी सिफारिसहरू कार्यान्वयन गर्न दुवै देशको हितमा हुनेछ जसले इतिहासले छोडेका उल्लेखनीय मुद्दाहरूलाई सम्बोधन गर्न मद्दत पुर्‍याउनेछ, जसले गर्दा छिमेकी मित्रतापूर्ण सम्बन्धको लागि मार्ग प्रशस्त हुनेछ।’source:thahakhabar.com